coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘साइनो’को ‘जात्रैमा भेटियो’ सार्वजनिक

काठमाडौं - नयाँवर्ष २०७६ को जेठ १० गते रिलिज मिति तोकेको फिल्म ‘साइनो’को पहिलो लोक फ्लेभरको गीत ‘मायालुलाई जात्रैमा भेटियो’ सार्वजनिक भएको छ । गीतमा फिल्मका प्रमुख कलाकार राजकुमार र मिरुना मगर फिचर्ड छन् । चेतन कार्कीको शब्द रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर तथा बसन्त सापकोटाको संगीत छ । गीतमा रामजी लामिछानको कोरियोग्राफी छ ।

नेपालकी प्रथम नायिका भुवन चन्द थापाले निर्माण गरेको फिल्ममा रमेश थापाको निर्देशन छ । निर्मात्री भुवनले फिल्म बनाउन आफ्ना लागि बाध्यता र इच्छा दुवै भएको बताइन् । ‘फिल्म लाइनमा मेरो बचपन, जवानी बित्यो । त्यसकारण जीवनको अन्तिम क्षणसम्म पनि फिल्म लाइनमै हुनेछु’, भुवनले भनिन्, ‘त्यसकारण म फिल्म बनाइरहन्छु र बनिरहन्छ । 

नायिका मिरुनाले आफू युकेमा बसे पनि नेपाल फर्किएर फिल्म क्षेत्रमा सक्रिय हुन पाउनु पुराना अभिनेत्रीहरूको प्रेरणा रहेको बताइन् । उनले आफु भाग्यमा विश्वास गर्ने भए पनि भाग्य छ भनेर चुपचाप बस्न नसकिने खुलाइन् । निर्देशक थापाले फिल्म त्रिकोणात्मक प्रेमकथामा बनेकाले प्रेमकथा मनपराउने दर्शकका लागि फिल्म रुचीकर हुने बताए ।

शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा राज र मिरुनासँगै नीता ढुंगाना, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, बसुकला मैनालीलगायतको अभिनय छ । फिल्ममा अभिमन्यू ’निरवी’ को कथा, रामेश्वर कार्कीको छायांकन, बनिष शाहको सम्पादन र रोशनविक्रम भट्टराईको द्वन्द्व छ ।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App