४ वैशाख २०८१ मंगलबार
विचार

अपराजित नागरिक

नागरिक अपराजित हुन्छन्। नागरिक हुनुभन्दा ठूलो गौरव अरु हुन सक्दैन तर नागरिक बन्न सजिलो छैन। नागरिकताको प्रमाणपत्रले औपचारिकरूपमा नागरिकमा सामेल हुन सकिन्छ तर औपचारिकताभन्दा माथि उठेर साँचो अर्थमा नागरिकको भूमिका निर्वाह गर्न सकेको खण्डमा मात्रै नागरिक हुनुको गर्व र मर्यादा कायम गर्न सकिन्छ। त्यही गर्व र मर्यादाले मात्रै नागरिकलाई अपराजित बनाउँछ।

जब जोन एफ केंनेडीले अमेरिकी राष्ट्रपतिको चुनाव जिते र राष्ट्रपति बने उनले सन् १९६१ को जनवरी २० का दिन पहिलो समुद्घाटन समारोहमा बोल्दै उनको जीत कुनै दलको नभएर नागरिक स्वतन्त्रताको हो भनेर उद्घोष गरे। निर्वाचनबाट दलका प्रतिनिधि संसद्मा पुग्छन् र सरकार पनि बनाउँछन् तर सरकार भने दलीय घेराभन्दा माथि उठ्छ र सबै नागरिकले आफ्नो हो भन्ने अनुभूति गर्न सक्ने वातावरण सिर्जना गर्छ। केनेडी, मन्डेलालगायत दुनियाँका धेरै ठूलाठूला नेता र राजनीतिज्ञले आफ्नो जीवनकालमा यही काम गरेर देखाए। परिणामतः मुलुकको निर्माण र समृद्धिमा अतुलनीय योगदान र छाप छाडे।

अपवादबाहेक नेपालको राजनीतिमा भने नेताहरूले दलीय स्वार्थका लागि राज्य र यसका संयन्त्र नै कब्जा गर्ने काम गरे र सोही संस्कृतिलाई गाढा बनाउने काम गरे।दल, गुट र राज्यका निकायबीच भिन्नता नहुने र अति राजनीतीकरण हुने अवस्था नेपालका राजनीतिज्ञले सिर्जना गरे। सत्तामा नपुगेसम्म शक्ति र पैसा नहुने। त्यसैले जे÷जसरी पनि सत्तामा पुग्नुपर्ने। सत्तामा पुग्न दलमा हैसियत हुनुपर्ने। दलमा हैसियत र हैकम कायम राख्न गुट र उपगुट टिकाउनुपर्ने र सोका लागि सत्ता र राज्यस्रोतको दुरुपयोग गर्नुपर्ने। यसका लागि राज्यको सबै निकाय र संस्थामा आफ्नै गुट, उपगुट र दलका मानिस चाहिने। यही कारण वर्तमान परिप्रेक्ष्यमा मुलुक नागरिकको स्वामित्वबाट गुट र उपगुटको नियन्त्रणमा पुगेको छ। अर्थात दल एवं दलका गुट÷उपगुटको बीचमा राज्य, सत्ता र सरकार कब्जा गर्ने होड चलेको छ। जसको नामनै आज राजनीति बनेको छ। राजनीतिलाई आज जे÷जसरी दुर्गन्धित र दिशाबिहीन बनाइएको छ, त्यो अक्षम्य छ। त्यसैले राजनीतिलाई शुद्धीकरण गर्नुपर्ने चुनौती नागरिकसमक्ष थप भएको छ। जसरी बेथिति आज मुलुकमा संंस्थागत भएको छ, त्यो नै भ्रष्टाचारको एक ठूलो जड बन्न पुगेको छ। यो जडलाई नष्ट गर्नु आज प्रत्येक नागरिकको अहम् दायित्व हो।

नागरिक स्वतन्त्रता राज्यको अनुकम्पा नभएर नागरिकको नैसर्गिक अधिकार हो जसलाई संरक्षण गर्ने काम राजनीतिले गर्न सक्नुपर्छ। राजनीतिले प्राप्त गर्ने सबैभन्दा ठूलो र युगान्तकारी उपलब्धि भनेकै नागरिक स्वतन्त्रताको संरक्षण हो।अर्थात् राजनीतिले नागरिकलाई अपराजित बनाउन सक्नुपर्छ। जब स्वतन्त्र समाजको प्रतिनिधित्व गर्ने सरकारले नागरिकको हित गर्न सक्दैन तब त्यस्तो समाजले लामो समयसम्म मुठ्ठीभर धनाढ्यहरूको बुइ चढेका सत्तासीनहरूको संरक्षणगर्न सक्दैन। जब सरकार शक्ति, स्वार्थ र दलीय घेरामाफस्छ तब मुलुक र नागरिकका लागि उचित र अनुचित एवं ठीक र बेठीकका वस्तुगत आधारमा कानुनको दायरामा बसेर सरकारले काम गर्न सक्दैन। यस्तो अवस्थामा केनेडीले भनेजस्तै स्वतन्त्रताले जित्न सक्दैन। अन्ततः स्वतन्त्रताको पराजय सँगसँंगै अपराजित नागरिकहरूपनि क्षणिकरूपमा पराजित बन्न पुग्छन्। जहाँ नागरिक पराजित हुन्छन् त्यहाँ राष्ट्र पनि पराजित बन्छ। आज भ्रष्टाचार, बेथिति र लुटतन्त्रले नागरिक र राष्ट्रसमेतलाई पराजयको संघारमा धकेलिरहेको छ। जसको नेतृत्व विगत २९ वर्षदेखि सत्तामा बस्नेहरूले लिइरहेका छन्।

वाइडबडी घोटाला, सुन काण्ड, निर्मला पन्त काण्ड, एनसेल लाभकर काण्ड, सांसदहरूको घरभाडा र स्वकीय सचिव काण्ड, भौतिक पूर्वाधारका ठेक्का प्रकरण काण्ड, राष्ट्रिय गौरवका आयोजनाका नाममा भएको राजनीतिक भ्रष्टाचार र कालो धन लुकाउने काण्ड, डा. गोविन्द केसीमाथि भएको धोखाधडी, मेडिकल कलेजमा भएको फि काण्ड र सार्वजनिक सरकारी जग्गा निजीकरण गरी राज्यलाई दोहन गर्ने काण्डलगायत काण्डै काण्डको नायक र संरक्षकको काम गर्ने जिम्मा सरकार र यसका पदासीनले लिने आजको अवस्था मुलुकका लागि दुर्भाग्यपूर्ण बनेको छ। यस दुर्भाग्यबाट मुलुकलाई बचाउन सक्ने व्यक्तिले मात्रै साँचो अर्थमा नागरिक दायित्व पूरा गर्न सक्छ। यो दायित्व पूरा गरेरमात्रै नागरिक अपराजित भएको प्रमाणित हुन सक्छ।  

बेथिति र भ्रष्टाचारका विभिन्न काण्डमा संलग्न दोषी पत्ता लगाइ कानुनको दायरामा ल्याइ कारबाही गर्न नसक्ने सत्ता र सरकारसँग अपेक्षा गर्ने र यस्तो सरकारलाई विश्वास गर्ने हो भने हामीले आफैँमाथि अविश्वासमात्रै गर्ने छैनौँं कि ऐतिहासिक भूल पनि गर्ने छौँ। त्यसैले अब हामी कुनै पनि दल, आस्था, विचार, भ्रम, स्वार्थ र असहयोगको दायराबाट माथि उठी, मुक्त भई एकपटक केवल नेपाली नागरिक भएर मुलुकको हितमा सोचौंँ, बोलौँं र सहकार्य गरौंँ। मुलुकको इज्जत नभए हाम्रो पनि इज्जत हुँदैन। त्यसैले अब भ्रम र स्वार्थभन्दा माथि उठी नागरिक भएर नेपालका लागि काम गर्ने बेला भइसकेको छ। भ्रष्टाचारीबाट मुलुकलाई जोगाउनुपर्ने बेला भइसकेको छ। भ्रष्टाचारीलाई अब पनि दण्डित नगर्ने हो भने भ्रष्टाचारीले नागरिक र राष्ट्रिय मर्यादामा नै धावा बोल्ने अवस्थाले विकराल रूप लिनेछ।

लोकतन्त्रमा राजनीतिक दलको अग्रणी भूमिका र महŒव हुन्छ। अर्थात स्वस्थ र स्वच्छ निर्वाचनबाट चुनिने र कानुनको दायरा र शासनभित्र आफूलाई समर्पित गरी कानुन कार्यान्वयन गर्ने, विधिशास्त्रीय मान्यता र प्रक्रियाभित्र बसेर कानुन एवं नीति निर्माण गर्ने एवं राज्य र नागरिकका लागि सबै नागरिकलाई समान ठानी कार्य गर्ने पुनित कार्यको नाम नै राजनीति हो। तर हाम्रोमा राजनीति आज यसको पुनित उद्देश्य बिर्सेर ठीक उल्टो बाटोमा हिँड्ने एवं लुटतन्त्र र भ्रष्टाचारको संरक्षक बन्ने उत्कर्षमा उन्माद भएको छ। के नेपाली नागरिकले यही बेथितिका लागि मत दिएका हुन् ? के हामी राजनीतिक शुद्धीकरण गर्न नचाहने वा नसक्ने भएका छौँं ? के हामीले नेपालीपन, आस्था र विश्वास नै गुमाइसकेको हो ?

शान्तिपूर्णरूपमा अहिंसाका आधारमा सत्य र निष्ठाको जगमा उभिएर भ्रष्टाचारविरुद्ध नागरिक अभियान उठाउन नसक्ने हो भने मुलुकले हामीलाई दिएको नागरिकको सम्मानमा प्रश्न उठ्ने छ। त्यसैले हामी प्रत्येकले आ–आफ्नो ठाउँबाट यस अभियानको नेतृत्व गरौँं र भ्रष्टाचार विरोधी अभियानमा उभिन र सहभागी हुन तयार सम्पूर्ण व्यक्ति ऐक्यबद्ध बनौँं। नागरिकनै अबका विकल्प हुन्।नागरिकबाहेक अन्य कोही पनि विकल्प हुन सक्दैनन्। अब दलीय आस्था, सांगठनिक बन्धन र निजी स्वार्थभन्दा माथि उठी नागरिकको हैसियत र क्षमतामा मुलुक बनाउनुपर्ने जिम्मेवारी प्रत्येक नेपाली नागरिकले बोध गरी मुलुकका लागि एक ठाउँमा उभिन सक्नुपर्छ। यही नै अबको निकास हो। यसरी मात्रै लोकतन्त्रको दिगो विकास गर्न सकिन्छ र दलीय प्रणालीलाई सुशासन र मुलुकको हितमा क्रियाशील गराउन सकिन्छ।

मुलुकप्रतिको हाम्रो अगाध माया, मुलुकका लागि केही गरौँं भन्ने जोश र प्रतिज्ञा एवं आफू र मुलुकप्रतिको विश्वासलाई एकत्रित गर्ने बेला यही हो। हामीले हाम्रो शक्ति चिन्न सकेको खण्डमाहामीबीचका मतभेद चिरी आफ्ना अडानलाई मुलुकको हितमा समर्पित गरी सहकार्यका लागि तयार भई नागरिक अपराजय छन् भन्ने प्रमाणित गर्न सकिनेछ। अन्ततः भ्रष्टाचारीलाई पराजित गर्न सकिनेछ। भ्रष्टाचारीको पराजयमा मात्रै हाम्रो मुलुकको भविष्य सुरक्षित हुनेछ।

जब जब मुलुकलाई माया गर्ने नागरिकहरू निडर र निस्वार्थ भावमा स्वतःस्फूर्तरूपमा एकै ठाउँमा उभिन थाल्छन् तब तब मात्रै युगान्तकारी परिवर्तन र रूपान्तरणहरू सम्भव हुन्छन्। विगतमा मुलुकलाई बाह्य आक्रमणबाट जोगाउनुपथ्र्याे भने अब मुलुक र सत्तालाई भ्रष्टाचार, बेथिति र लुटतन्त्रबाट बचाउनुपर्ने अवस्था सिर्जना भएको छ। शासनसत्तालाई भ्रष्टाचार, बेथिति र लुटतन्त्रको दलदलबाट मुक्त गर्ने चुनौती र दायित्व सम्पन्न गर्न सक्दा नै अब मुलुकमा युगान्तकारी रूपान्तरण हुन सक्छ। यसका लागि केवल हामी प्रत्येकले आफूभित्रको अदम्य विश्वास जगाउनुपर्छ। वरिष्ठ अधिवक्ता

प्रकाशित: २३ फाल्गुन २०७५ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App