coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विराटनगरमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता, रंगशाला महिला मैत्री नहुँदा समस्या

मोरङ - नेपालको फुटबल इतिहासमा पूर्व क्षेत्रको महत्वपूर्ण योगदान   छ । नेपालबाट आधिकारिक रूपमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्न जाने अधिकांश खेलाडी पूर्वकै थिए । त्यसमा पनि विराटनगरले अग्रणी भूमिका निर्वाह गरेको थियो । पहिलो टोलीका कप्तानदेखि अधिकतर खेलाडी विराटनगरकै थिए । नेपाली फुटबलको इतिहास बोकेको विराटनगरले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने मौका पाएको छ । 

विराटनगरमा हुने साफ महिला फुटबलमा बंगलादेश, नेपाल, भुटान, भारत, श्रीलंका र माल्दिभ्सको सहभागिता रहनेछ । पाकिस्तानले अन्तिम समयमा आएर नखेल्ने बताएपछि आयोजकले पाकिस्तानलाई तालिकाबाट हटाएको छ ।

विराटनगरस्थित सहिद रंगशालामा पाँचौं साफ महिला फुटबल च्याम्पियनसिप फागुन २८ गतेदेखि हुँदै छ । विराटनगर हरेक क्षेत्रबाट चर्चित मात्र होइन यसले सबै क्षेत्रको इतिहास बोक्दै अघि बढेको ठाउँ हो । राजनीतिक क्रान्तिको सुरुआत विराटनगर देशकै पहिलो उद्योग, सञ्चारको ऐतिहासिक थलोसमेत हो । सबै क्षेत्रको इतिहास बोकेको विराटनगरले जुन गतिमा विकास हुनुपर्ने हो, त्यो गति भने शून्य छ । विराटनगरले देशको सबैभन्दा बढी प्रधानमन्त्री र मन्त्री पाए पनि खेलकुदलगायत  अन्य क्षेत्रमा पनि अपेक्षित विकास भएन ।

पूर्व अर्थात् झापा, मोरङ र सुनसरी सबै खेलको अहिलेसम्मकै उर्वर क्षेत्र हो । यस क्षेत्रमा कुनै खेलको पूर्ण रूपको भौतिक संरचना, पर्याप्त प्रशिक्षक र खेलाडीलाई प्रोत्साहनका कुनै पूर्णकालीन ठोस योजना नहुँदा पछिल्लो समय खेलाडीको खडेरी पर्न थालेको छ।

अहिलेसम्म सबै खेलको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी खेलाडी पूर्वकै रहेको पाइन्छ । पछिल्लो समय यस क्षेत्रमा कुनै ठूलो प्रतियोगिता र पर्याप्त प्रशिक्षक नहुँदा नयाँ खेलाडी आउने क्रम घटेको छ । सरकार र खेलको विकास गर्ने जिम्मा लिँदै खुलेका संघसंस्थाले खेलको विकास राजधानीभित्र सीमित पारे । उनीहरूले देश र खेलाडी उत्पादन हुने थलो उपत्यका मात्रै ठानेर त्यहाँ मात्र सबै कुराको चाँजोपाँजो मिलाउँदै अघि बढे । 

नेपालको फुटबल इतिहासमा पहिलो पटक काठमाडौंबाहिर विराटनगरको सहिद रंगशालामा फागुन २८ देखि चैत ८ गतेसम्म अन्तर्राष्ट्रिय स्तरको पाँचौं साफ महिला फुटबल प्रतियोगिता हुँदै छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एन्फासँग विराटनगरमा कुनै पनि अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गर्न आग्रह गर्दै आयोजना गर्न दबाब दिएका थिए । प्रदेश १ को सरकारले पनि विराटनगरमा ठूला खेलको आयोजना गर्न खेलसम्बद्ध संघसंस्थालाई भन्दै आएको थियो । १ नम्बर प्रदेश सरकार र विराटनगर महानगरपालिकाका पदाधिकारीबीच छलफलपछि यहाँ तत्कालै एउटा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल आयोजना गर्ने सहमति भयो । 

महानगरपालिका प्रमुखले एन्फालाई लिखित पत्र पठाउँदै नेपालमा हुन लागेको महिला साफ खेल विराटनगरमै गर्ने चाहना महानगरपालिका र प्रदेश सरकारको रहेकाले हामी दुवै तहबाट सहयोग गर्छौं भनेका थिए । ‘महानगरले एन्फालाई पत्र पठाउँदै, हामी महिला साफ प्रतियोगिता गर्न तयार रहेको जानकारी गराएको थियो’, विराटनगर महानगरका प्रमुख पराजुलीले भने, ‘त्यसका लागि केके गर्नुपर्छ सम्पूर्ण सहयोग गर्न महानगर तयार छ, एन्फाले यहाँ प्रतियोगिताको स्थान तोक्नुपर्यो भन्यो ।’

महानगरपालिको आग्रहअनुसार एन्फाका प्रतिनिधि र एसियन फुटबल कन्फेडेरेसन (एएफसी) का प्रतिनिधिले स्थलगत अवलोकन गरे । उनीहरूले यहाँको भौतिक संरचना, सुरक्षालगायत अन्य सम्पूर्ण प्राविधिक कुराको अवलोकनपश्चात् विराटनगरमा साफ आयोजना गर्न अनुमति दिएको हो । त्यसअघिदेखि नै महानगरपालिकाले फुटबलको विकासका लागि सहिद रंगशाला मर्मत र त्यहाँ अति आवश्यक परिरहेको खेलाडी चेन्जिङ रुम बनाउँदै आएको थियो । विराटनगरमा महिला साफ आयोजना गर्ने निश्चित भएपछि महानगरपालिकाले नगरसभाबाट १ करोड रुपैयाँ बजेट पास भएको छ । पराजुलीले भने, ‘हामीले छुट्याएको बजेटबाट त्यहाँ आवश्यक परेका भौतिक संरचना बनाउनका लागि खर्च गर्नेछौं ।’ त्यसो त प्रदेश सरकारले पनि खेल विकासका लागि बजेट विनियोजन गरेको बताएको छ । प्रदेश सरकारले एन्फासँगको सहकार्यमा विराटनगरमा दुई ठूला फुटबल प्रतियोगिता आयोजना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । 

विराटनगरमा हुने साफ महिला फुटबलमा बंगलादेश, नेपाल, भुटान, भारत, श्रीलंका र माल्दिभ्सको सहभागिता रहनेछ । पाकिस्तानले अन्तिम समयमा आएर नखेल्ने बताएपछि आयोजकले पाकिस्तानलाई तालिकाबाट हटाएको छ । २०१६ मा भारतमा प्रतियोगिता हुँदा समेत पाकिस्तान फुटबल एसोसिएसनभित्र आन्तरिक कलहले गर्दा पाकिस्तानले प्रतियोगितामा भाग लिएको थिएन । प्रतियोगिताको समूह ‘क’ मा बंगलादेश, भुटान र नेपाल तथा समूह ‘ख’ मा भारत, श्रीलंका र  माल्दिभ्स छन् ।

साफ प्रतियोगिता हुन एक हप्ता पनि बाँकी नरहँदा  प्रदेश १ मा कुनै रौनक देखिएको छैन । महानगरपालिकाको आर्थिक सहयोगमा मैदान, खेलाडीको चेन्जिङ रुम, प्लेयर बक्स धमाधम बनिरहेको छ । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवराज कटवालले भने, ‘रंगशालाभित्र खेलाडीका लागि बनेको नयाँ चेन्जिङ रुम १÷२ दिनभित्र बनिसक्छ । रंगशालाबाहिर रहेको सडक बन्ने क्रम तीव्र  छ । सडकको काम पनि अन्तिम चरणमै रहेकाले केही दिनभित्र कालो पत्र भइसक्छ होला ।’ प्रतियोगिता हुन एक साता पनि बाँकी नहुँदा तयारी पूर्ण भएको छैन । खेलाडी आवतजावतका लागि पिच सडक, चेन्जिङ रुमलगायतको भौतिक संरचना बनिरहेको छ । 

महिला साफ प्रतियोगिता आयोजना हुने भए पनि रंगशाला पूर्ण रूपमा महिलामैत्री छैन । महिलाको प्रतियोगित हेर्न महिला दर्शक आउने भए पनि उनीहरूका लागि पर्याप्त शौचालय छैन । रंगशाला उत्तरपट्टि रहेको २ कोठे शौचालयमा कसरी पूरै रंगशालाका दर्शकले शौच गर्लान् । पुरुष दर्शकका लागि दक्षिणपूर्वको कुनामा शौच गर्ने ठाउँ रहेको छ । महानगरपालिका र एन्फाबीच पुस १५ गते महिला साफ प्रतियोगिताका लागि आवश्यक भौतिक संरचना तयार पार्ने सम्झौता भएको थियो । उनीहरूबीच प्रतियोगिता हुनु १५ दिनअगाडि सम्पूर्ण भौतिक संरचना तयार पारिसक्ने सम्झौता भए पनि अहिलेसम्म संरचनाले पूर्ण गति पाउन सकेको छैन । 

‘डेढ महिनाअघि मात्रै मैदान व्यवस्थापनको जिम्मेवारी पाएका हामीलाई मैदानका बारेमा अनुभव पनि कम थियो,’ प्रतियोगिता हुने मैदान बनाइरहेका फिफा असिस्टेन्ट रेफ्री मधुसूदन खनालले भने, ‘समय र अनुभव कम हुँदाहुँदै धेरै मिहिनेत गरेर मैदान तयार गर्न सकियो । जथाभावी प्रयोगले बिग्रिएको मैदानलाई खेल्न योग्य बनायौं ।’ पुस दोस्रो साताबाट मैदान व्यवस्थापनको काम सम्हालेको बताउँदै खनालले अहिलेसम्म साफका प्रतिनिधि कोही पनि मैदान निरीक्षण  गर्न नआएको बताए । 

‘महिला खेलाडीका लागि  विराटनगर पूर्ण सुरक्षित छ,’ राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य किरण गिरीले भने, ‘मैदानवरिपरि स्थायी तारबार गरेर दर्शक सहजै मैदानमा प्रवेश गर्न पाउँदैनन् । बाहिर पनि आयोजकले सुरक्षाको प्रबन्ध मिलाएका छन् ।’ साफ महिला फुटबल तयारी समितिका संयोजक पंकज नेम्बाङले भने, ‘प्रतियोगिता तयारीको अन्तिम चरणमा छौं । सबै काम धमाधम भइरहेको छ । हामी २५ गतेभित्र सम्पूर्ण काम सम्पन्न गर्छौं ।’ महिला र पुरुष दर्शकका लागि अलगअलग स्थानमा शौचालय हुन्छ । मैदानको उत्तरीपट्टि रहेको शौचालय महिला र दक्षिणपट्टि रहेको पुरुषले प्रयोग गर्न सक्छन् ।’

प्रकाशित: २३ फाल्गुन २०७५ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App