कमला(सिरहा) - धनुषा र सिरहाको साझा नदी कमला नदीमा पछिल्लो समय जोतेर ढुंगा निकाल्ने क्रम बढेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकामा पर्ने कमला पुलदेखि उत्तर नदीभरि ट्याक्टरको कारेसोले जोतेर ढुंगा निकाल्ने गरिएको हो। यसरी निकालिने बोल्डर साइजका ढुंगा विभिन्न क्रसर उद्योगमा पु¥याउने गरिएको छ।
तर यसबारे नियमनकारी निकाय मौन बसेको कमला सिँचाइ नहरका एक चौकीदार बताउँछन्। उनले भने, ‘नदी जोतेर ढुंगा निकालेको निकाल्यै छन्। तर न प्रहरीले रोक्छ न स्थानीय सरकारले।’ स्थानीयका अनुसार कमला नदीको निकै तलसम्म बगर जोतिएको छ। ट्याक्टरको कारेसोले जोतेर निकालिने ढुंगा मजदुरले अर्को ट्याक्टरको टेलरमा लोड गरी कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न क्रसर उद्योगमा पु¥याउने गरेको स्थानीय बताउँछन्।
दुई जिल्लाको साझा नदी भएकाले कमला नदीका गिटी, बालुवा, ढुंगा सिरहाको कर्जन्हा र धनुषाको गणेशमान चारनाथ नगरपालिकाले संयुक्त रूपमा ठेक्का लगाएका छन्। मिर्चैयास्थित विकास निर्माण सेवाले चालु आर्थिक वर्ष (०७५÷७६) का लागि ६० लाख रुपैयाँमा ठेक्का लिएको गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबाबु यादवले जानकारी दिए।
‘नदी जोतेर ढुंगा निकालिरहेका छन्। न प्रहरीले रोक्छ न स्थानीय सरकारले।’
कमला नदीमा अहिले बाहिर देखिनेगरी ढुंगा नै छैनन्। यसैकारण ढुंगा व्यवसायीहरूले ढुंगा निकाल्नका लागि नदी जोत्नाका साथै उत्तरपूर्वमा पर्ने संरक्षित चुरे क्षेत्रसमेत उत्खनन गरिरहेका छन्। दैनिक सयभन्दा बढी ट्याक्ट ढुंगा कर्जन्हा नगरपालिका–३ मा रहेको क्रसर उद्योगमा पु¥याउने गरिएको एक ट्याक्टर चालकले बताए। ढुंगा निकासीबापत नगरपालिकाले लिने कर काट्ने रसिद आफूलाई ठेक्केदार कम्पनी विकास निर्माण सेवाले दिएको कर संकलक हरिलाल माझीले बताए। उनले भने, ‘म त अह्राएको काम गर्ने कामदार हुँ, कहाँबाट ढुंगा आउँछ, कहाँ जान्छ मैले भन्न मिल्दैन।’
कमला नदी जोतेर तथा र चुरे उत्खनन गरेर निकालिने ढुंगा यस भेगका क्रसर उद्योगमा आपूर्ति हुने गरेको स्थानीय बताउँछन्। स्थानीय तहको पुर्जीका आडमा ढुंगा व्यवसायीले मनपरी ढंगले ढुंगा निकालेर व्यापार गर्ने गरेको स्थानीयको आरोप छ। जनगुनासो बढेपछि गणेशमान चारनाथ नगरपालिकाका पदाधिकारीहरूले केवल औपचारिकता पूरा गर्न अनुगमन गर्ने गरेका छन्। नगरपालिका प्रमुख रामबाबु यादव पनि स्थानीय तहको पुर्जी बनाएर ठेक्केदारले चुरेको ढुंगा उत्खनन गरी व्यापार गर्ने गरेको स्वीकार गर्छन्। अनुगमनका क्रममा फेला परे ट्याक्टरको टेलरमा लोड गरिएको ढुंगा झार्न लगाउने गरिएको उनको भनाइ छ।
ढुंगा व्यवसायीले प्रहरी, प्रशासन र स्थानीय तहसँग ‘सेटिङ’ मिलाएर अवैध तरिकाबाट ढुंगा उत्खनन तथा ओसारपसार गरिरहेको स्थानीय बासिन्दाको आरोप छ। एक स्थानीय भन्छन्, ‘नदी जोतेर, चुरे खोस्रेर ढुंगाको धन्दा तीव्र भइरहँदा पनि तैं चुप मै चुपको अवस्थाले यो पुष्टि गर्छ।’
उत्तरबाट ल्याइने ढुंगा बन्दीपुर चोक हुँदै पूर्व र दक्षिण क्षेत्रमा निकासी हुने गरेका छन्। बन्दीपुर चोकमै ट्राफिक प्रहरी पोस्ट र प्रहरी चौकी छन्। तर त्यही बाटो भएर ट्याक्टरको टेलरमा ओभरलोड गरेर खुल्लमखुला ढुंगा ओसारपसार भइरहन्छ।
कर्जन्हा–१ का वडाध्यक्ष मोहन केसी आफ्नो एक्लो प्रयासले मात्र नदी तथा चुरे दोहन रोक्न सम्भव नहुने बताउँछन्। ‘जबसम्म नियमन र नियन्त्रणकारी निकायहरूले चासो देखाउँदैनन् तब सम्म यो विनाशलीला रोकिनेवाला छैन।’
प्रकाशित: २३ फाल्गुन २०७५ ०२:१७ बिहीबार