coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टाइब्रेकरमा थ्री स्टार भाग्यमानी

दमक - गोलरक्षक एलन न्यौपानेले दुई पेनाल्टी रोकेपछि थ्री स्टार क्लब विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै झापा गोल्डकपको सेमिफाइलमा प्रवेश गरेको छ । थ्री स्टार टाइब्रेकरमा ३–० ले भाग्यमानी साबित हुँदा मगमग झापा गोल्डकपको सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा थ्री स्टारले आयोजक मगमग झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा थ्री स्टारका विजय धिमाल, बुद्ध चेम्जोङ र रूपेश केसीले गोल गरेका थिए भने विक्रम लामाको प्रहार पुलिसका गोलकिपर शत्रुघ्न चौधरीले बचाए ।पुलिसका अजित भण्डारी र भरत शाहको प्रहार थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले बचाए । रवि पासवानको प्रहार अकासिएको थियो । पुलिसको तर्फबाट प्रहार भएका कुनै गोलले जाली नचुमेपछि थ्री स्टार विजयी भएको हो ।  प्रतियोगितामा पहिलो पटक निर्णय टाइब्रेकरमा गएको थियो । 

खेलको म्यान अफ दी म्याच पुलिसका गोलरक्षक एलेन न्यौपाने भए । उनले नगद १५ हजार रुपैंयाँ पाए । बिहीबारको खेल दाउफिन्स फुटबल क्लब क्यामरुन र लाली रूपन्देही ११ बीच हुने आयोजकले जनाएको छ ।

खेलपछि विजेता टोली थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्ना चार महत्वपूर्ण खेलाडीको अनुपस्थितिमा सोचेअनुसारको प्रदर्शन गर्न नसकिएको बताए । थ्री स्टारका चार खेलाडी उमेरसमूहको राष्ट्रिय प्रतियोगिताका लागि क्लोज क्याम्पमा छन् । केसीले थपे, ‘फरक रणनीतिका साथ झापासँग मैदानमा उत्रनेछौं  ।’  

पुलिसका प्रशिक्षक अनन्तराज थापाले पेनाल्टीमा युवा टोलीको अनुभव कम रहेको स्वीकार गरे । उनले पहिलो हाफमा पाएका अवसरको सदुपयोग गर्न नसक्दा हार बेहोरेकोे बताए । पुलिसले पहिलो हाफमा गोल गर्ने सुन्दर मुभहरू बनाएको थियो ।  

प्रतियोगितामा बुधबार टिकट काटेर खेल हेर्न आएका गरामनीका दीपक पौडेल भाग्यमानी बने । उनले  २० इन्चको एलइडी टेलिभिजन पाए । कार्यक्रममा क्यान्सर रोगबाट पीडित झापा जिल्ला फुटबल संघका पूर्वसचिव तिलक गुरुङलाई आयोजकका तर्फबाट २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । गोल्डकपको विजेताले १२ लाख ५५ हजार रुपियाँ पाउनेछ । प्रतियोगिताको फाइनल फागुन २७ गते हुनेछ । 

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App