८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रपति किन सधैं विवादमा ?

काठमाडौं - सेना दिवसका अवसरका नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो समय सडक अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक निर्देशन अवज्ञा गरेर गाडी चलाए। शितलनिवासदेखि सेनाले आयोजना गरेको रात्रिभोज स्थलसम्म आइपुग्न बढीमा १५ मिनेट लाग्ने भए पनि राष्ट्रपतिको सवारीका नाममा सर्वसाधारणलाई एक घन्टाभन्दा बढी सडकमा गाडी चलाउन रोक लगाइयो। यसै कारण सर्वसाधारण आक्रोशित भएर सडकमा लगाइएको निषेधको अवज्ञा गरेका हुन्।

राष्ट्रपतिको सवारीप्रति सर्वसाधारणको गुनासो भइरहँदा पनि सम्बोधन गर्ने प्रयास कतैबाट भएको छैन । भिभिआइपीको सुरक्षा जिम्मा लिएको नेपाली सेनाले राष्ट्रपतिको सवारी रूट निर्धारण र त्यसको जानकारी नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई गराएपछि प्रहरीले सडक सुरक्षा प्रबन्ध र ट्राफिक प्रहरीले निर्धारित सवारी रूटमा अन्य सवारीसाधन सञ्चालनमा रोक लगाउँछ । यसो गर्दा सबैभन्दा बढी सर्वसाधारणले सास्ती पाउने गरेका छन्।

सडकमा गाडीको चाप कम हुने बेलामा भिभिआइपीको सवारी चलाउन सक्ने सम्भावनालाई पनि राष्ट्रपति कार्यालय प्रशासन र सुरक्षामा खटिने निकायले ध्यान दिनुपर्छ ।

मंगलबार पनि सर्वसाधारण घर फर्किने बेला लाजिम्पाटमा राष्ट्रपतिको सवारीका कारण लामो समय रोकिनुप¥यो । ट्राफिक प्रहरीले साढे ६ बजे ‘अबको केही समयमा विशेष कारणवश शितलनिवास, पानीपोखरी, लैनचौर, केशरमहल, महेन्द्र सालिक, भद्रकाली हुँदै चल्ने सवारीसाधनहरु एकतर्फीरूपमै प्रभावित हुने कारण सो रूट भएर चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिन्छ,’ भन्दै फेसबुकमार्फत जानकारी गराएको थियो । तर कति समय भन्ने जानकारी गराइएको थिएन । समय निर्धारण नहुँदा पनि सर्वसाधारणले सास्ती पाए । धेरैबेर सडकमा बस्नुपरेपछि सर्वसाधारणले ड्युटीमा रहेका ट्राफिक प्रहरीको आदेश उल्लंघन गर्दै आफ्ना सवारी अघि बढाएका थिए ।

केही समययता प्रहरी तालिम केन्द्र हटाएर राष्ट्रपति निवास बढाउने खोजेको, विलासी गाडी र हेलिकोप्टर किन्न लगाएको भन्दै राष्ट्रपतिको आलोचना हुँदै आएको छ । त्यतिमात्र होइन गत दसंैमा राष्ट्रपति निवासमा टीकाजमरा लगाउने कार्यक्रमस्थलमा टीका थाप्नेलाई कुर्सीसमेतको व्यवस्था नगरेको भन्दै उनको आलोचना भएको थियो ।

राष्ट्रपति कार्यालय प्रशासन र उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले यो विषयमा राष्ट्रपतिलाई भने जानकारी नै नदिएको स्रोतले जनाएको छ । ‘कतिपय कुरा सञ्चारमाध्यममा आएपछि मात्रै राष्ट्रपतिले थाहा पाउने गर्नुभएको छ। यसो नहोस् भनेर सधैं बाहिरको अवस्था के छ भनेर सोध्ने पनि गर्नुभएको छ तर आलोचना भइरहेको छ । यो विषयमा उहाँ आफैं चितिन्त हुनुहुन्छ,’ राष्ट्रपति निकट स्रोतले भन्यो। सुरक्षा जिम्मा लिएको सुरक्षा संगठनले बाहिरको अवस्थाबारे राष्ट्रपतिलाई कुनै जानकारी नगराउने पनि स्रोतले जनायो । स्रोतले केन्द्रीय सुरक्षा समितिले यस्तो सवारी सञ्चालनबारे अहिलेसम्म राष्ट्रपति कार्यालयलाई जानकारी नगराएको दाबी गरेको छ । ‘राष्ट्रपतिको सवारी चलाउन केन्द्रीय सुरक्षा समितिले सुरक्षा थ्रेट विश्लेषण गर्नुपर्ने हुन्छ । तर अनौपचारिक कार्यक्रममा भने राष्ट्रपति कार्यालय र राष्ट्रपतिको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हचुवाकै भरमा सवारी सञ्चालन गर्ने हुँदा प्रहरीलाई पनि सुरक्षा दबाब पर्ने स्रोतले बतायो।

राष्ट्रपति आइतबार अमेरिका जाँदै छिन् । त्यसदिन दुईतर्फी सडक खाली गराउनुपर्ने हुन्छ। संयुक्त राष्ट्रसंघीय आयोग (सिएसडब्ल्यु) को ६३औं बैठकमा भाग लिन जाने कार्यक्रम औपचारिक भएकाले शितलनिवासदेखि एयरपोर्टसम्म सडक खाली गराउनुपर्छ । तर सुरक्षा निकायले सवारी रुट निर्धारण भने गरेको छैन ।

सुरक्षाविज्ञ एवं पूर्वएआइजी नवराज ढकालले भिभिआइपीको सुरक्षामा प्रहरीले कुनै पनि सम्झौता गर्न नसक्ने बताउँछन् । ‘सडकमा कति समयका लागि सवारीसाधनलाई रोक्न सकिन्छ र सवारीस्थलदेखि कार्यक्रमस्थलसम्म पुग्न कति समय लाग्छ । यो विषयमा सुरक्षा संयन्त्रहरुबीच समन्वय गरी समय निर्धारण गर्न सकिन्छ । समय घटाउन सुरक्षा निकायले नै पहल गर्नुपर्छ । यसमा भिभिआइपीको कुनै दोष हुँदैन’, ढकालले भने । उनका अनुसार सडकमा गाडीको चाप कम हुने बेलामा भिभिआइपीको सवारी चलाउन सक्ने सम्भावनालाई पनि राष्ट्रपति कार्यालय प्रशासन र सुरक्षामा खटिने निकायले ध्यान दिनुपर्छ ।

नेपाज्ञली सेनाका पूर्वउपरथि डा. प्रेमसिह बस्न्यात भिभिआइपीको सुरक्षा र सवारी रुट निर्धारण विषयमा नेपाली सेना र प्रहरीले पुनर्मूल्यांकन गर्नुपर्ने बताउँछन् । ‘आफ्नो जागिर बचाउन एक घन्टाअघि सडक खाली गराउने, सुरक्षा थ्रेट भएको महसुस गराउने र राष्ट्रपति, प्रधनमन्त्रीप्रति जनातको वितृष्ण पैदा गराउने काम यस्तै कारणबाट हुने गरेको छ । यो विषयमा तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागले पुनर्मूल्यांकन गर्नु आवश्यक छ’, बस्न्यातले भने, ‘भिभिआइपीलाई यो विषयमा कहिल्यैं जानकारी दिइँदैन । राजाको समयमा पनि यस्तै अनावश्यक चाकडी हुन्थ्यो, अहिले पनि त्यस्तै छ ।’ उनका अनुसार सुरक्षा थ्रेट निर्धारण नभई हचुवाको भरमा भिभिआइपी सवारी सञ्चालन गर्दा सर्वसधारण मारमा पर्छन् ।

नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीले भिभिआइपीको सुरक्षामा कुनै सम्झौता नहुने भएकाले जस्तोसुकै अवस्थामा पनि प्रहरीले निर्धारण गरेको समयसम्म सर्वसाधारणले सवारी रुटमा प्रवेश पाउँदैनन् । ‘भिभिआइपी सुरक्षासँग जोडिएर प्रहरीले गर्नुपर्ने दायित्व निर्वाह गरेको हुन्छ । यसमा कुनै सम्झौता हुँदैन’, प्रवक्ता सुवेदीले भने ।

प्रहरी प्रशिक्षण प्रतिष्ठान सारेर राष्ट्रपति कार्यालय विस्तार गर्ने निर्णयको विरोध भएपछि सरकारले नै प्रतिरक्षा गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा प्रतिष्ठान सार्ने सरकारी निर्णय भएकाले यो नरोकिने बताएका थिए । उनले संसद्मा समेत राष्ट्रपतिलाई विवादमा तान्नु भनेको गणतन्त्रमाथिको खतरा भएको दाबी गरेका थिए ।

त्यसैगरी हेलिकोप्टर खरिद गर्ने विषयमा पनि सरकारले प्रतिरक्षा गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सेनाले खरिद गरेको हेलिकोप्टरले राष्ट्रपति मात्रै बोक्ने होइन, त्यो दुर्गममा सुत्केरी हुन नसकेका महिलाको उद्धारमा समेत प्रयोग हुन्छ भन्दै प्रतिरक्षा गरेका थिए । दसंैमा टीका थाप्न जानेलाई बस्ने कुर्सीको व्यवस्था नभएकोमा भने राष्ट्रपति कार्यालयले कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित: २३ फाल्गुन २०७५ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App