coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद्ले रोकेन, अदालतले रोक्यो

धनगढी - कारगारबाट झिकाएर प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराइएका रेशम चौधरीलाई अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ । साढे तीन वर्षपहिले टीकापुरमा एक नाबालक र एसएसपीसहित ८ प्रहरीको हत्यामा संलग्न भएको ठहर गर्दै कैलाली जिल्ला अदालतले चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

‘अदालतको फैसलाबाट हामी सन्तुष्ट भएका छौं’, टीकापुर घटनामा मारिएका डेढ वर्षीय बालक टेकबहादुर साउदका ६६ वर्षीय हजुरबा जंगबहादुर साउदले भने, ‘फैसलाले न्याय पाएको महसुस भएको छ ।’

कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले टीकापुर घटनामा संलग्नलाई फरकफरक सजाय ठहर गर्दै बुधबार फैसला सुनाएको हो । पीडितका आफन्त मानबहादुर बोहरालगायतले ५८ जनाविरुद्ध मुद्दा दर्ता गरेकोमा २७ जना पुर्पक्षका लागी थुनामा थिए । उक्त मुद्दाका ३१ जना आरापित फरार छन् । अदालतले फरार रहेकाको कारबाही मुल्तबीमा राखेको छ ।

पुर्पक्षका लागि थुनामा रहेका २७ जनामध्ये ११ जनालाई हत्यामा संलग्न भएको ठहर गर्दै जन्मकैद सुनाएको छ । घटनाको नेतृत्व रेशम चौधरीले गरेको भन्दै उनलाई जन्मकैद सुनाइएको छ । यसैगरी जन्मकैद सुनाइनेमा हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी र गंगाराम डगौरा चौधरी छन् । श्रवण चौधरीलाई भने १६ वर्षमुनिको बालक देखिएकाले आधा सजाय ९१० वर्ष कैद० हुने फैसलामा उल्लेख छ ।

‘प्रतिवादीहरू लक्ष्मण थारु (चौधरी) र लाहुराम चौधरीको मत सल्लाहमा रेशमलाल चौधरीसमेतले नेतृत्व गरी टीकापुरस्थित सरकारी कार्यालयमा थरुहट लेख्ने योजना बनाई सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई मारी आन्दोलनलाई हिंस्रक बनाउने योजनाका साथ गाउँका भलवन्सा चौकिदारलाई गाउँगाउँका खटाई गाउँगाउँबाट हतियारसहित व्यक्तिहरूलाई जम्मा गराएको’ फैसलामा उल्लेख छ । ‘टीकापुर–९ स्थित पशुहाटबजारमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई भाग्न र उम्कन समेत नपाउनेगरी ‘सी’ आकारको घेरा हाली बोकेर ल्याएको घरेलु हतियार भाला, लाठा, खुँडा, बन्चरा, तरबारलगायतले निर्ममतापूर्वक प्रहार गरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसमेतका ८ सुरक्षाकर्मी र एकजना बालकलाई कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले मुलकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बरबमोजिम जन्मकैदको सजाय हुने ठहर्छ’, फैसलामा उल्लेख गरिएको छ । 

कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले टीकापुर घटनामा संलग्नलाई फरकफरक सजाय ठहर गर्दै बुधबार फैसला सुनाएको हो । पीडितका आफन्त मानबहादुर बोहरालगायतले ५८ जनाविरुद्ध मुद्दा दर्ता गरेकोमा २७ जना पुर्पक्षका लागी थुनामा थिए ।

यसैगरी लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, रन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्कीराम चौधरी, रामप्रसाद चौधरीसमेत १२ जनालाई ३ वर्ष कैद सुनाइएको छ । यीमध्ये चुन्नीराम यही फागुन ३० गते थुनामुक्त हुनेछन् भने अन्य ११ जनाको कैद अवधी भुक्तानी भएकाले बुधबार नै थुनामुक्त भएका छन् । करन चौधरीलाई बालबालिका ऐनबमोजिम ६ महिना कैद सुनाइएको छ । उनी पनि बुधबार नै थुनामुक्त भएका छन् । उनीहरूले अदालतले तोकेबमोजिमको कैद भुक्तान गरिसकेका कारण थुनामुक्त भएका हुन् ।

‘लक्ष्मण थारु, लाहुराम चौधरी घटनास्थलमा नरही अन्यत्र रहेको देखिएको, घटनाको जिम्मेवारी लिई वक्तव्यबाजी गरेको र समर्थनमा फेसबुकमा स्टाटससमेत लेखेको हुँदार देहायका प्रतिवादीले वारदातमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत सल्लाहमा पसी सहयोग गरी, अपराध गर्न मतलबीको भूमिका अदाह (निर्वाह) गरेको देखिँदा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (३) अनुसार जनही तीन वर्ष कैद सजाय हुने ठहर्छ’, फैसलामा उल्लेख छ ।

तीनजनालाई सफाइ
नुरुल अलि जागा, ताहवर अलि जागा, विसराम चौधरी (कुस्मी) र रामनरेश चौधरीले सफाइ पाएका छन् । सफाइ पाएका यिनीहरू बुधबार थुनामुक्त भएका छन् । सबैजनालाई कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र डाकाचोरीगरीतीनवटा मुद्दा दर्ता गरिएको थियो । डाकाचोरीतर्फ सबैले सफाइ पाएको अदालतका स्रेस्तेदार इन्द्र कठायतले बताएका छन् । वादीको पक्षको मुख्य न्यायाधिवक्ता कृष्णप्रसाद पौडेलसहित दुईजना र पतिवादीको पक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेसहित १२ जनाले बहस गरेका थिए ।

१५ जना थुनामुक्त
धनगढी कारागारमा रहेका लाहुराम चौधरीसहित १३ जना अदालतको फैसलापछि बुधबार थुनामुक्त भएका छन । काठमाडौंस्थित कारागारमा रहेका लक्ष्मण थारु र पोखरा सुधार गृहमा रहेका करन चौधरीपनि मुक्त भएका छन् ।

फैसला सकारात्मक
टीकापुर घटनाको फैसलापछि प्रतिवादीको पक्षमा बहस गर्ने कानुन व्यवसायीले पनि अदालतले गरेको फैसला स्वागत योग्य भएको प्रतिक्रिया दिएका छन् । ‘अदालतले गरेको फैसलालाई स्वागतयोग्य रहेको मान्नुपर्छ’, अधिवक्ता गंगाप्रसाद पाध्याले भने, ‘पक्षले चित्त नबुझे उच्च अदालतमा जाने बाटो खुला छ ।’ प्रतिवादीकै पक्षमा बहस गरेका कानुन व्यवसायी गम्भीर ऐरले फैसलाले जाम भएको विषयको निकास दिएकाले सकारात्मक मानिएको बताए । ‘यसले एउटा निकास दिएको छ, यो सकरात्मक हो, चित्त नबुझेकालाई पुनरावेदन जाने बाटो खोलेको छ ।’

रापपाकी सुदूरपश्चिम प्रदेशसभा सदस्य मालमती रानाले अनिर्णयको बन्दीजस्तो रहेको मुद्दाको फैसला गरेर निकास दिएको कुरा सकारात्मक रहेको टिप्पणी गरेकी छन् । ‘तर एउटै मुद्दामा दुईथरीसजाय भएको ठीक भएन’, उनले भनिन्, ‘सर्वोच्व अदालत जाने बाटो खुला छ ।’ थुनामुक्त भएका लाहुराम चौधरीले अदालतको फैसला सकारात्मक भएको प्रतिक्रिया दिए । ‘चित्त नबुझेका साथीहरू उच्च अदालत जान्छन्’, उनले भने, ‘यो फैसला सकारात्मक छ ।’ थरुहट सयुक्त संघर्ष समितिलगायतका संघसंस्थाले रेशम चौधरीसहित ११ जना निर्दोष भएका दाबी गर्दै रिहा गर्न माग राखी विज्ञप्ति निकालेका छन् ।

शपथ खाएको दुई महिनामै जन्मकैदको फैसला
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई गत पुस १९ गते पद तथा गोपनीयताको शपथ खुवाइएको थियो । भदौ ७ गते टीकापुर घटनापछि फरार रहेका चौधरीले मन्जुरीनामाबाट मनोनयन दर्ता गराएर निर्वाचन लडेका थिए । सुरुमा कसैको दाबी विरोध पनि नपरेको र निर्वाचन अधिकृतले पनि ध्यान नदिँदा फरार अभियुक्तले मन्जुरीनामा दिन नपाउने कानुनी प्रावधानविपरित उनको मनोनयन दर्ता भएको थियो । 

राजपाबाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि वारेसनामामार्फत चौधरीले प्रमाणपत्र लिन खोज्दा निर्वाचन आयोगले दिएन । निर्वाचन आयोगले उनको प्रमाणपत्र संघीय संसद् सचिवालयमा बुझायो । वारेसनामामार्फत प्रमाणपत्र पाउनुपर्ने भन्दै उनले सर्वोच्च अदालतमा रिट हाले । फरार रहेको व्यक्ति अदालतमा आफैं उपस्थित हुनुपर्ने र वारेसनामा राख्न नपाउने भन्दै उनको निवेदन सर्वोच्चका रजिस्ट्रारले दरपिट गरिदिए ।

घटनाको दिनदेखि प्रहरीको फरार सूचीमा रहेका चौधरीगत फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए ।त्यसै दिन अदालतमा न्यायाधीश पर्शुराम भट्टराईको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । २०७२ साउन अन्तिम साता सुरु भएको आन्दोलनका क्रममा भदौ ७ गते थरुहट पक्षधरले टीकापुर सरकारीकार्यालय थरुहट स्वायत्त प्रदेश सरकार लेखेका साइनबोर्ड झुन्ड्याउने कार्यक्रमसहित गाउँगाउँबाट दसौं हजारको र्याली ल्याए । उनीहरू टीकापुर प्रवेश गर्ने क्रममा पश्चिमतर्फ हाटबजारनजिक एसएसपी न्यौपाने, दुई प्रहरीइन्सपेक्टरसहित ८ प्रहरीर एक नाबालकको हत्या गरिएको थियो । घटनापछि प्रशासनले धनगढी, टीकापुर लगायतका ठाउँमा ३१ दिनसम्म कर्फ्यु लगाएको थियो ।

पीडितलाई राहत महसुस
कैलाली जिल्ला अदालतको फैसलापछि घटनामा मारिएका आफन्तले फैसलाबाट सन्तुष्ट भएको बताएका छन् । ‘अदालतको फैसलाबाट हामी सन्तुष्ट भएका छौं’, टीकापुर घटनामा मारिएका डेढ वर्षीय बालक टेकबहादुर साउदका ६६ वर्षीय हजुरबा जंगबहादुर साउदले भने, ‘फैसलाले न्याय पाएको महसुस भएको छ ।’

मृतक बालककी आमा यशोदा साउदले पनि फैसलाबाट सन्तुष्ट भएको बताइन् । यसैगरीटीकापुर घटनामा मारिएका प्रहरीनिरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहराले अदालतको फैसलाबाट केही राहात महसुस भएको प्रतिक्रिया दिएकी छन् । ‘मुख्य योजनाकार रेशम चौधरीसमेतलाई जन्मकैद सुनाएकाले फैसलाले हामी पीडितलाई केही भए पनि राहात मिलेको छ’, उनले भनिन्, ‘फैसला कार्यान्वयन हुनुपर्छ ।’ फैसला हुने कार्यान्वयन नहुने पनि उदाहरण भएकाले त्यसो नहोस् भन्ने उनको भनाइ छ ।
 

प्रकाशित: २३ फाल्गुन २०७५ ००:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App