coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपालमा लगानीकाे वातावरण बनेको छः अमेरिकी राजदूत

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले शिष्टाचार भेट गरेका छन्। बुधबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भएको भेटमा उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ रहेको बताए। उनले दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ठ बनाउनुपर्नेमा जोड दिए।

नेपाल राजनीतिक स्थिरता हासिल गरेर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै उपराष्ट्रपति पुनले भने, ‘अबको हाम्रो प्राथमिकता लोकतन्त्रको सुदृढीकरण, आर्थिक सामाजिक रुपान्तरण सहितको विकास र समृद्धि हो, नेपालको समृद्धिको यात्रामा अमेरिकाको साथ सहयोग रहनेमा विश्वस्त छौं।’

उनले नेपालले विश्वलाई शान्तिको सन्देश दिइरहेको बताए। ‘हामीले नेपालको शान्ति प्रक्रियालाई आफ्नो मौलिकतामा निष्कर्षमा पु-यायौं। नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न सक्छ,’ उनले भने, ‘यो गौतम बुद्धको देशको सन्देश पनि हो।’

उपराष्ट्रपतिले यसै महिनामा आयोजना हुने लगानी सम्मेलन र भ्रमण वर्ष २०२० लाई सफल पार्न अमेरिकाको सहयोग रहने विश्वास व्यक्त गरे। ‘नेपालमा लगानीमैत्री वातावरण बनेको छ। राजनीतिक स्थायित्वसँगै कानून र नियमहरु लगानीमैत्री बनेका छन्,’ उनले भने, ‘लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताहरु आउन्, लगानी गरुन भन्ने हाम्रो आग्रह छ।’

नेपाल र अमेरिकाको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय भ्रमणको आवश्यक रहेको औल्याउँदै उनले मिलिनियम च्यालेन्ज कोपरेशन (एमसीसी) सम्झौताबाट नेपालले धेरै लाभ लिनेमा विश्वास व्यक्त गरे।

अमेरिकी राजदूत बेरीले अमेरिका र नेपालको सम्बन्ध चासो, मुल्य र मान्यतामा आधारित रहेको बताए। नेपालको सुरक्षा चासो र प्राथमिकता नै अमेरिकाको चासो र प्राथमिकता रहेको बताउँदै उनले नेपालले सार्वभौम र स्वतन्त्र रुपमा आफ्नो र विश्वको बारेमा निर्णय लिन सकोस भन्ने अमेरिकाको धारणा रहेको स्पष्ट पारे। 

‘अमेरिका नेपालको लोकतन्त्र सुदृढ् भएको, जनताको आकांक्षाहरु पूरा भएको, राजनीतिक स्थायित्व हासिल भएको देख्न चाहन्छ,’ उनले भने, ‘नेपालले सार्वभौम रुपमा आफ्नो निर्णय गर्न सकोस्, स्वतन्त्र रुपमा विश्वमै आफ्नो निर्णय लिन सकोस्।’

अमेरिकी राजदूत बेरीले नेपालमा लगानी गर्ने वातावरण बनेको बताए। ‘नेपालमा लगानी गर्ने वातावरण प्रभावकारी रुपमा बनेको छ,’ उनले भने, ‘यसको मिलिनियम च्यालेन्ज कोअपरेशन (एमसीसी) सम्झौता हुनु यसको प्रमाण हो।’

राजदूत बेरीले नेपालको लगानी सम्मेलन र भ्रमण वर्ष २०२० सफल पार्न आफू र अमेरिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। उनले दुई देशबीचको उच्चस्तरीय भ्रमणको खाँचो रहेको बताउँदै त्यसलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। ‘दुई देशबीच उच्चस्तरीय भ्रमण हुनुपर्दछ। दुई शीर्ष नेताको भेटले निर्णय लिन र कार्यान्वयन गर्न सहज हुन्छ,’ उनले भने, ‘धेरै वर्षपछि नेपालको तर्फबाट परराष्ट्रमन्त्रीले अमेरिकाको भ्रमण गर्नुभयो। म आशा गर्छु, त्यो अन्तिम नहोस्।’

प्रकाशित: २२ फाल्गुन २०७५ १५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App