८ वैशाख २०८१ शनिबार
समाज

मदन भण्डारी लोकमार्ग धमाधम कालोपत्र हुँदै

मदन भण्डारी लोकमार्गअन्तरगत गाईघाट–चुहाडे खण्डमा भर्खरै निर्मित कालोपत्रे ।  तस्विरः महेश्वर/नागरिक

उदयपुर – उदयपुरका ८ वटै स्थानीय तह जोडिएको निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा जोड्ने ‘मदन भण्डारी बैकल्पिक लोकमार्ग’को कालोपत्रे काम धमाधम भईरहेको छ। सुरुमा सदरमुकाम गाईघाट आसपासमा थालिएको कालोपत्रे एक महिनामा ७ किलोमिटर सकिएको छ। गाईघाट–चुहाडे खण्डमा बाँकी १ किलोमिटर आउँदो साताभित्र सकेपछि गाईघाटदेखि पूर्वतर्फको खण्डमा कालोपत्रे गर्ने तयारी भईरहेको छ। 

१ महिनामा ७ किलोमिटर, असारभित्र ५० किमि पिच हुने

सुरुवाती चरणमा गाईघाट–चुहाडे खण्डको प्राथमिक आँखा उपचार केन्द्रदेखि त्रियुगा नगरपालिका ९ को राजाबाससम्म र कालीखोलादेखि चुहाडेचोकसम्म गरी २ खण्डमा थालिएको कालोपत्रे राजाबाससम्म सकिएको छ भने बीचको सरस्वति खोला र शाही खोला वरपरको झण्डै १ किलोमिटर दूरीमा गर्न बाँकी छ। दुवै खोलामा पक्की मोटरेबल पुल निर्माणाधिन भएकाले कालोपत्रे हुन रोकिएको लोकमार्ग परियोजना कार्यालय गाईघाटले जनाएको छ। कार्यालयका प्रमुख इन्जिनियर (डिई) ललिजङ खनालका अनुसार गाईघाट–राजाबास खण्ड र कालीखोला–चुहाडे खण्डको काम सकिएलगत्तै गाईघाटभन्दा पूर्वतर्फको खण्डमा कालोपत्रेको काम सुरु गरिने छ। 

‘सुरुमा बजार आसपासलाई कालोपत्रेमा प्राथमिक्ता दिइएकाले पहिले गाईघाट–चुहाडे खण्डमा सक्छौं’ उनले भने ‘त्यसलगत्तै गाईघाट–बेलटार खण्डमा पिच गर्ने काम थाल्नछौं । सरस्वति र शाही खोलामा पुल बनिनसकेकाले १ किलोमिटर हाराहारीमा कालोपत्रे हुन बाँकी रह्यो ।’ शाही खोलामा १ सय २० मिटर लामो ३ स्पाम र सरस्वति खोलामा ८० मिटर लामो २ स्पामको पुल अन्तिम चरणमा पुगेको छ। दुवै पुलको काम ७० प्रतिशत कटिसकेको खनालले बताए । दुवै पुलको झण्डै ८० प्रतिशत हाराहारी काम सकिएकाले फागुनभित्रै सकेर वारिपारि सडक उठाएर कालोपत्रे गरिने खनालले बताए । 

धरानलाई जिरो माईल मानेर चौदण्डीगढी ३ को बसाहासम्म ४४ किलोमिटरसम्म नदाहा–कन्चनपुर खण्डमा एसियाली विकास बैंकको लगानीमा दुईवर्षअघि नै कालोपत्रे भईसकेको छ। धरानदेखि सिन्धुलीको भिमानसम्म १ सय ७७ किलोमिटरमध्ये बसाहादेखि गाईघाटसम्म २९ किमि दूरीको कालोपत्रे यसवर्ष सक्ने गरी काम भईरहेको लोकमार्ग कार्यालयका इन्जिनियर गोविन्द दुमरुले बताए। उनका अनुसार गाईघाट–चुहाडे खण्डको काम फागुनभित्र सकिए चैत सुरुदेखि नै गाईघाट–बसाहा खण्डको कालोपत्रे सुरु गरिहाल्ने योजना छ। 

गाईघाट–बसाहा खण्डमा ठूला पुल दुईवर्षअघि नै निर्माण भईसकेका छन् भने बाँकी ५ वटा स–साना पुल र कल्भर्ट अन्तिम चरणमा पुगेको इन्जिनियर दुमरुले बताए । चैतदेखि सुरु हुने गाईघाट–बसाहा खण्डको कालोपत्रे बसाहासम्म पुग्दा ती पुल र कल्भर्ट पनि बनिसक्ने दुमरुको भनाई छ । 

जेआईइसी/शर्मा/लामा जेवीको ठेक्कामा ६ अर्ब लागतमा निर्माणाधिन धरान–हेटौंडासम्मको १ सय ७७ मध्ये सिन्धुलीको भिमानसम्म १ सय ३४ किलोमिटर लामो लोकमार्ग बनेपछि पूर्वको अगुवा सहर मानिने धरान र माथिल्लो सगरमाथाको प्रवेशद्वार मानिने उदयपुरकै कटारी पुग्न गाईघाटदेखि आधा दूरी छोटिनेछ। यो लोकमार्ग निर्माण नहुँदा सदरमुकामदेखि कटारी जान छिमेकी जिल्लाहरु सिराहा र सप्तरी भएर ९० किलोमिटर पार गर्नुपर्ने अवस्था थियो। त्यस्तै धरान पुग्न सप्तरी, सिराहा र सुनसरी छिचोलेर १ सय ४७ किलोमिटर काट्नुपथ्र्यो। बैकल्पिक लोकमार्ग बनेपछि गाईघाट–धरान ७३ र कटारी पुग्न ५० किलोमिटर पार गरे पुग्नेछ । 

प्रकाशित: २२ फाल्गुन २०७५ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App