८ वैशाख २०८१ शनिबार
खेल

रियल मड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं – साविक विजेता रियल मड्रिड युरोपिएन च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ। युरोपको सर्वाधिक १३ पटकको विजेता रियल मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा नेदरल्याण्ड्सको क्लब आयाक्सँग ४–१ को हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो।

आयाक्सले समग्रमा रियललाई ५–३ गोलले स्तब्ध पार्दै अघिल्लो चरणमा स्थान बनायो। पहिलो लेगमा २–१ ले विजयी भए पनि दोस्रो लेगको हारले रियलको उपाधि यात्रा टुंगिएको हो। दोस्रो लेगमा २–१ को अग्रतासहित मैदान उत्रिए पनि डच टोलीले शानदार पुनरागमन गर्दै रियललाई उसकै मैदानमा पराजित गर्यो।

खेल सुरु भएको ७ औं मिनेटमा हाकिम जेइचको गोलमार्फत आयाक्सले अग्रता लिएको थियो। १८ औं मिनेटमा डेबिड नेरेसले गोल गर्दै अग्रता दोब्बर पारे। पहिलो हाफमा २–० को अग्रता लिएको आयाक्सका लागि ६२ औं मिनेटमा डुसान टाडीकले गोल गर्दै अग्रतालाई अझ फराकिलो बनायो। ७० औं मिनेटमा मार्को एसेन्सीयोले गोल गर्दै लगातार तीन पटकको च्याम्पियन रियललाई खेलमा फर्काउने संकेत गरे पनि त्यसको २ मिनेटपछि लासी स्कोनले गोल गर्दै आयाक्सलाई ४–१ को शानदार जित दिलाए।

आयाक्स २२ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो। इन्ज्युरी समयमा नाचो रातो कार्ड पाउदै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा सीमित भएको थियो। रियलले घरेलु मैदानमा पछिल्लो दुई साताको अन्तरमा व्यहोरेको यो तेस्रो हार हो। यो हारसँगै रियलको जारी सिजन उपाधि जित्ने सम्भावना सकिएको छ।

रियल कोपा डेल डेबाट बाहिरिसकेको छ भने ला लिगाामा शीर्ष स्थानको बार्सिलोनाभन्दा १० अंकले पछि छ। रियल घरेलु मैदानमा यसरी हारेको २००४ पछि पहिलो पटक हो भने २०१० पछि नकआउट चरणमा पुग्न असफल भएको हो । 

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App