coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'एक एचआइभी संक्रमित संक्रमण मुक्त’

लन्डन -  बेलायतका एक एचआइभी संक्रमित बिरामीलाई स्टेम सेल (बोन म्यारो) प्रत्यारोपण विधिबाट उपचार गरेर पूर्ण रूपमा एचआइभी संक्रमणबाट मुक्त पारिएको चिकित्सकहरुले जारी गरेको प्रतिवेदन उल्लेख गर्दै बिबिसीले जनाएको छ । एड्स रोगको विश्वव्यापी महामारीपछि कुनै पनि संक्रिमतलाई संक्रमण मुक्त बनाइएको यो दोस्रो घटना हो ।

संक्रमितबारे विस्तृत जानकारी भने दिइएको छैन । लन्डन बिरामी मात्रै भनेर चिनाइएका ती पुरुष क्यान्सर रोगसँग लडिरहेका ती पुरुषले एचआइभीसम्बन्धी औषधी नलिएको भए पनि १८ महिनादेखि उनमा एचआइभी भाइरसको कुनै संक्रमण नदेखिएको बताइएको छ । यद्यपि अनुसन्धानदार्ताहरुले भने ती बिरामी एचआइभीबाट पूर्ण मुक्त वा निको भएको भनेर भने भनिहाल्न नमिल्ने बताएका छन् । यो उपचार प्रक्रियामा संलग्न एकजना अग्रणी चिकित्सकका अनुसार ती बिरामी व्यावहारिक रूपमा त निको भएका जस्तो देखिएका छन् । तर यो घटनापछि कुनै दिन एचआइभीको पूर्ण उपचार गर्न सकिने छ भन्ने कुरामा थप बल मिलेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

लन्डनका ती पुरुष बिरामीलाई सन् २००३ मा एचआइभी संक्रमण भएको थियो र सन् २०१२ मा उनमा ‘हजकिन्स लिम्फोमा’ नामको क्यान्सर देखा परेको थियो । हजकिन्स क्यान्सरको उपचारका लागि उनले किमोथेरापी गराएका थिए । साथै उनमा एचआइभी भाइरसलाई प्रतिरोध गर्ने क्षमता भएको एकजना दाताको स्टेम सेल पनि प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनको दुवै रोग क्यान्सर र एचआइभी निको हुने चरणमा पुगेको देखिएको अनुसन्धानकर्ताहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । 

विश्वविद्यालय कलेज लन्डन, इम्पेरियल कलेज लन्डन, क्याम्ब्रिज र अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरु यस अनुसन्धानमा संलग्न रहेको बताइएको छ । ‘यो एउटा चाखलाग्दो र निकै उल्लेखनीय प्रतिवेदन हो,’ कार्डिफ विश्वविद्यालयका एकजना संक्रामक रोग विशेषज्ञ डाक्टर एन्ड्रुयु फ्रिडमनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । यद्यपि बिरामीमा पछिल्लो चरणमा एचआइभी भाइरस फेरि सक्रिय हुन नसकोस् भनेर यकिन गर्न अझै केही लामो समय निगरानी गर्न आवश्यक हुनसक्ने उनले बताए।

स्टेम सेल प्रत्यारोपण विधिबाट उपचार गरिएका बिरामीमा एचआइभी संक्रमण मुक्त देखिएको यो दोस्रो घटना हो । झण्डै १० वर्षअघि जर्मनीको बर्लिनका एक एचआइभी पोजिटिभ पुरुष बिरामीले पनि भाइरससँग लड्न सक्ने क्षमता भएका एक व्यक्तिबाट बोन म्यारो ट्रान्सप्लान्ट गरेका थिए । उनले क्यान्सर उपचारका लागि बोनम्यारो प्रत्यारोपण गराएका थिए र त्यसयता उनी एचआइभी संक्रमणबाट मुक्त रहँदै आएका छन् । एचआइभी/एड्सलाई परास्त गर्न सफल भनिएका ती पहिलो व्यक्ति टिमोथी ब्राउन दुई पटक ट्रान्सप्लान्ट गरिएको थियो । टिमोथी ब्राउन नामका ती व्यक्ति एचआइभी एड्सलाई जित्ने पहिलो बिरामी हुन्।

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App