coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

खोला पुज्दै माझीले मनाए कोशी पर्व

कोशी(लदी) पर्वको अवसरमा पूर्वी मकवानपुरको बकैया गाउँपालिका ६ जुइनामा आयोजित सांस्कृतिक कार्यक्रममा सामूहिक नृत्य प्रस्तुत गर्दै माझी युवतीहरू।    तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – खोलालाई भगवानको रूपमा सामूहिक पुजा गर्दै माझी समुदायले मंगलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोशी पर्व’ मनाएका छन्। हिन्दु नेपालीहरूको दशैं पर्व झैं पुजासँगै सामूहिक भोज, नाचगान गरेर उनीहरूले भव्य रूपमा यो पर्व मनाएका हुन्।

पूर्वी मकवानपुरको बकैया गाउँपालिका ६ जुइनाका माझीहरूले आफ्नो महान पर्व मनाउन घर, आँगन लिपेर चिटिक्क पारेका थिए। माझी बस्ती जुइना नजिकैको बकैया, सिमात, हर्दिया र जुइना खोलाको दोभानमा मौलिक पोसाकमा भेला भएर उनीहरूले खोलालाई सामूहिक पुजा गरे।

चार खोलाको संगममा उनीहरूले खोलालाई बोका, कुखुरा र परेवाको बलीसमेत दिए। विभिन्न धर्मको प्रभावसँगै आफ्नो मौलिक धर्म मान्न छाडेका नेपालका जातजातिमध्ये अति सीमान्तकृत माझी समुदायले मकवानपुरमा चार वर्षदेखि कोशी पर्व मनाउन थालेका हुन्। 

वर्षौपछि आफ्नो मौलिक पर्व भव्य रूपमा मनाउन पाउँदा वृद्धवृद्धादेखि युवापुस्तासँगै बालबालिका पनि हर्षित थिए। स्थानीय माझी अगुवा कृष्ण माझीले देशमा परिवर्तनसँगै आफ्नो मौलिक परम्परा, संस्कृतिको खोजी गरेर मनाउन थालेको बताए। ‘प्रकृति नै पानीबाट सिर्जना भएको विश्वास हामी माझी समुदायले गर्छौं’, उनले भने, ‘हामीले कुनै समस्या परेमा खोलालाई नै पुकार्छौं। पूजा गर्छौं।’ 

कोशी पर्वलाई केन्द्र सरकारले राष्ट्रिय पर्वको मान्यता दिई सार्वजनिक बिदा दिएर माझी समुदायले गणतन्त्र आएको महशुस गराउनुपर्छ।

नेपाल माझी उत्थान संघ मकवानपुरका सचिव झलकबहादुर माझीले लोप भएको मुख्य पर्वलाई जगेर्ना गर्न थालेपनि मकवानपुरमा भने माझी भाषा लोप भईसकेको बताए। ‘हाम्रो मौलिक पेशा माछा मार्ने क्रमशः लोप हुँदै गएको छ। तर तान्त्रिक धर्मलाई भने संरक्षण गरिरहेका छौं’, उनले भने।

माझी समुदायले लदी पर्वलाई राष्ट्रिय पर्वको मान्यता र सार्वजनिक बिदा दिन माग गर्दै आएका छन्। माझी उत्थान संघ मकवानपुरका अध्यक्ष आषिश माझीले विभिन्न धर्मको प्रभाव र दबाबमा लोप भएको कोशी पर्व पुनः मनाउन पाउँदा निक्कै खुशी लागेको बताए। ‘कोशी पर्वलाई केन्द्र सरकारले राष्ट्रिय पर्वको मान्यता दिई सार्वजनिक बिदा दिएर माझी समुदायले गणतन्त्र आएको महसुस गराउनुपर्छ ’, उनले भने।

स्थानीय लोकेन्द्र माझीका अनुसार तान्त्रिक धर्म मान्दै प्रकृति पुजा गर्ने सिमान्तकृत माझी समुदायलाई सरकारले भिन्न धर्म मान्ने समुहभित्र राखेको छ। लदीको अर्थ नदी मान्ने माझी समुदायले कोशी तीरमा बस्ने माझी पुर्खाहरूले कोशीको पुजा गरेर यो पर्व मनाउन थालिएको विश्वास गर्छन्।

लोप हुँदै गएको कोशी पर्व नेपाल माझी उत्थान संघले वि.सं. २०५५ मा सिन्धुलीको तत्कालिन कोपिलाकोट गाविसस्थित मरिन खोलामा पुजा गरेर पुनः सुरु गरेको हो। २०६८ सालको जनगणना अनुसार नेपालमा माझीहरूको जनसंख्या ८३ हजार सात सय २७ रहेको छ।

कोशी पर्वको अवसरमा पूर्वी मकवानपुरको बकैया र बागमती गाउँपालिकाले मंगलबार सार्वजनिक बिदासमेत दिएको थियो। मकवानपुरमा करिब ११ हजारजना माझी रहेकोमा बकैयामा मात्र करिब छ हजार माझी समुदायको बसोबास छ।

आफ्नो छुट्टै लिपी नभएको माझी समुदायको २०६८ सालको जनगणना अनुसार नेपालका ५८ जिल्लामा बसोबास छ। ओखलढुंगा, काभ्रे, रामेछाप, खोटाङ, दोलखा र सिन्धुपाल्चोकको भैंसे गाउँका माझी समुदायले मात्र मातृभाषा बोल्ने गर्दछन्।

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App