राजनीति : प्रयोग र विचारमा क्षति

बुधबार, २२ फागुन २०७५, ०७ : ४२ पुरुषोत्तम दाहाल

101


किन राजनीति गर्नेहरूको मात्र सम्मान र सम्झना गर्छन् राज्य र राजनीतिक दलहरू ? यो प्रश्न गर्नु सुखद नहोला । तर सोध्नैपर्ने भएको छ समाजलाई, सरकारलाई, सत्तालाई।

यसपटक नेपालले एकै हप्तामा निकै ठूलो राजनीतिको क्षेत्रमा, विचार र कर्मको क्षेत्रमा विशिष्ठ योगदान दिनेहरूलाई गुमाउन पुग्यो । निश्चय पनि यो गुमाइ वर्तमानकालागि ठूलो क्षति हो । नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता भरतमोहन अधिकारी, नयाँ पुस्ताका जागरुक प्रतिभा रवीन्द्र अधिकारी र मार्क्सवादी साहित्य र दर्शनका विशिष्ठ लेखक कृष्णदास श्रेष्ठको निधनले वैचारिक र नेतृत्वदायी स्थानलाई क्षति पुगेको छ । यस्तो क्षति अपुरणीय हुन्छ । कुनै पनि मानिसको निधन आफैँमा अपूरणीय किन हुन्छ भने दिवंगतको स्थान यथावत् कसैले पनि परिपूरण गर्नसक्दैन । यसै हप्ता नेपाली खोज, अनुसनधान, साहित्य कला र भाषाका मर्मज्ञ विद्वान्हरू प्राध्यापक डा. बालकृष्ण पोख्रेल र लेखक, सर्जक समीक्षक शिव रेग्मीको पार्थिव अवशान भयो ।

प्रधानमन्त्री ओलीले रवीन्द्र वाइडबडीमा दोषी छैनन् भन्नुभयो । सरकारले नै बनाएको समितिले रिपोर्ट बुझाएको छैन, संसदीय समितिमा विवादको प्रतिवेदन तयार भएको छ । रवीन्द्रको निधन हुनुपहिले अर्थात् उहाँ जीवित हुँदै किन प्रधानमन्त्रीले केही भन्नुभएन ?

पाथीभरा महादेवीको दर्शन गर्न पुगेका मन्त्री रवीन्द्र अधिकारीसँग अरु छजना थिए । अत्यन्त तल्लो आर्थिक वर्गबाट आफ्नै श्रम, सिप र लगनले राष्ट्रको विशेष परिचय हासिल गर्न सफल आङछिरिङ शेर्पाको निधन कर्मक्षेत्रको अपूरणीय क्षति हो । राजनीति गर्नेहरूको परीक्षण संकटका समयमा हुन्छ, कष्ट, यातना, जीवन र मृत्युको दोसाँधमा परीक्षण हुन्छ । तर यो परीक्षाको कालखण्ड पार गरिसकेपछि राजनीतिको परीक्षण कर्ममा हुन्छ । कर्म कस्तो भएको त्यसका आधारमा राजनीतिकर्मीको मूल्यांकन हुन्छ । शासनमा नपुगेका महात्मा गान्धीको परीक्षण विचारमा मात्र भयो, शासन कर्ममा उनको परीक्षण हुन पाएन । नेपालमा पछिल्लो चरणमा जनआन्दोलनका कमान्डर गणेशमान सिंहको शासकीय परीक्षण भएन । शहीदहरूको शासकीय परीक्षण हँुदैन । भएको छैन । तर जसको परीक्षण भएको छ तिनमा धेरैजना अग्निपरीक्षामा असफल भएका अनुहार छन् । विवादका अनेक घेरामा तिनीहरूको गति मूल्यांकन भइरहेको छ । बौद्धिकहरूका वरिपरि कुनै त्यस्तो विवादको घेरा बनेको हुँदेैन । सर्जकहरूको, विचारकहरूको फरक धार हुन्छ । विचित्र छ, शासकीय घेरामा बस्नेहरूलाई मात्र राज्यले महत्व दिने गर्छ ।

प्राध्यापक बालकृष्ण पोख्रेलको पार्थिव अवशान भाषा, साहित्य, संसकृति र शोध क्षेत्रमा अपूरणीय हो । उहांँको योगदान नेपालको परिचयलाई अमर तुल्याउनमा केन्द्रित छ, नेपाली जाति, भाषा र संस्कृतिको अस्मितालाई खोजी गर्नु अभिलेखबद्ध गर्नु, सार्वजनिक गर्नुमा छ । जीवनभर निर्लुव्ध साधक हुनुभयो प्रा. पोख्रेल । शिव रेग्मी बेग्लै प्रकारका साधक । उहाँले साहित्यका अनेक विस्मृत हुन लागेका सामग्री संञ्चित गर्नुभयो । केही माग्नुभएन, खोज्नुभएन । कृष्णदास श्रेष्ठ विचारक लेखक हुनुहुन्थ्यो । उहाँमा सत्ताको भोक जागेन । आफूले परिभाषित गर्दै रहेको  विचारले दीक्षितहरू सत्तामा रहँदा पनि कृष्णदास कुनै दिन कसैको बलेसीमा पुगेको सुनिएन । तर यी साधकहरूको चर्चा सामान्य जानकारीमा सीमित भयो । सरकार र सत्ताको आँखा पुगेन त्यहाँ । केहीले फूल समर्पण गरे होलान्, समवेदनाका केही शब्द प्रकट भए होलान् तर सञ्चार, सत्ता र समाजमाकतै चासो भएन ।

सत्ताको साँचोमा खुल्ने र बन्द हुने अवसर पाएकाहरूको फरक सम्मान दिन्छ राज्य । के राज्यको निर्माण खाली कुनै राजनीतिको नेता, मन्त्री वा कुनै बहालवालाले मात्र दिएका हुन्छन् ? भरतमोहन अधिकारी वा रवीन्द्र अधिकारीको निधन दुःखद छ । दुःखको सागरमा उहाँहरूका परिवार हुनुहुन्छ । उहाँहरूप्रति समवेदना सबैको रहन्छ । दिवंगतप्रति श्रद्धासुमन सबैले दिन्छन्, दिनुपर्छ । जीवन रहेसम्म मात्र प्रतिस्पर्धा, पक्ष÷विपक्ष हो । शत्रुता पनि सासको अन्त्यसँगै अन्त्य हुन्छ, हुनुपर्छ । विचारका हिसावले अधिकारीद्वय साम्यवादी विचारका यात्री हुनुहुन्थ्यो । कृष्णदास त स्वयं भाष्यकार नै हुनुहुन्थ्यो । उहाँहरू सबैको निधन त्यस क्षेत्रका लागि अपूरणीय हो भने बाँकी सबै नागरिककालागि पनि दुःखद हो । त्यसमा पनि परिपक्व पुस्ताका नेता र नयाँ पुस्ताका जागरक नेताको पार्थिव अवशान आफैँमा दुःखदायी हो ।

यस्तै दुखको अनुभूति ती साहित्यकार, लेखक विद्वान्प्रति पनि हुनुपर्छ । किनकि यो देशको उन्नति गर्ने र समाज बदल्नेहरु राजनीतिका हिस्सेदार मात्र होइनन् । अनेक पाटा/पक्षले राष्ट्रको उत्थान, विकास, समाजको उन्नयन र परिवर्तनमा योगदान दिइरहेका हुन्छन् । उनीहरूको पनि सम्मान हुनुपर्छ ।राजकीय सम्मानको मानक के हो ? त्यसलाई स्पष्ट गर्नुपर्छ । किन राजनीति गर्नेहरूको मात्र सम्मान र सम्झना गर्छन् राज्य र राजनीतिक दलहरू ? यो प्रश्न गर्नु सुखद नहोला । तर सोध्नैपर्ने भएको छ समाजलाई, सरकारलाई, सत्तालाई ।

कर्मका एक अथक यात्री आङछिरिङ शेर्पासमेत दुर्घटनामा पर्नुभयो । उहाँको जीवन करुणापूर्ण विगतबाट उचाइमा पुगेको सुनिन्छ । सगरमाथाको चुचुरोमाअरु कसैको भारी बोक्दै र बिसाउँदै आफ्नो यात्रा आरम्भ गर्नुभएका शेर्पाले आफूलाई व्यवसायको सगरमाथामा उभ्याउनुभयो । परिश्रमले, लगन र व्यवसायप्रतिको निष्ठाले उहाँको उचाइ बढेको हो । राष्ट्रमा समृद्धिको सपनासँग उहाँको विकास योगदान समानरूपमा छ । के आङछिरिङ शेर्पाको राष्ट्र निर्माणको अर्को अंग आर्थिक, व्यावसायिक योगदान कुनै मन्त्री वा राजनीति गर्नेहरूभन्दा कम छ र ? त्यसो भए पक्षपात किन ? हेलिकप्टर दुर्घटनामा जीवन गुमाएका सैनिक अर्जुन घिमिरेको चर्चा किन हुँदैन ? उहाँका परिवारका सदस्यहरू अहिले के सोचिरहेका होलान् ? सरकार त्यहाँ पुग्नुपर्छ कि पर्दैन ? सञ्चारको जालो त्यस झोपडीको संघारमा पुग्नुपर्ने हो कि होइन ?

तीनजना योग्य राष्ट्र सेवकहरूको इहलीला समाप्त भयो मन्त्रीसँगै । ती तीनजना हुनुहुन्छ– युवराज दाहाल, वीरेन्द्र श्रेष्ठ र ध्रुव भोछिभय। हवाई क्षेत्रको होनहार पाइलट नयाँ पुस्ताको जोशिलो, आँटिलो युवा प्रभाकर केसीको पनि दुर्घटनामा निधन भयो । तर उहाँहरूबारे राज्यले किन कुनै सम्मानका लागि चासो दिएन ? हेलिकप्टर दुर्घटनाको समाचारको चर्चा नसेलाउँदै पश्चिम दार्चुलामा गाडी दुर्घटनामा एघारजनाको निधन हुनपुग्यो । उहाँहरूको खास खोजीनीति कतै भएको सुनिएन । के ती नागरिकको कुनै भूमिका थिएन राष्ट्र निर्माणको महायज्ञमा ? बहालवाला मन्त्रीको निधन हुँदा राष्ट्रले शोक मनायो, ठीकै होला । तर राजकीय सम्मानको अर्थ कसरी लगाउने ? राजकीय सम्मान राजनीतिका खेलाडीहरूले अथवा सत्ताका निकटहरूले मात्र पाउने कि ?

केही दिनअघि पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भयो । उहाँ लोकतान्त्रिक आन्दोलनका अविस्मरणीय योद्धा र बौद्धिक नेता भनेर परिचित हुनुहुन्थ्यो । सशस्त्र आन्दोलनका समयमा होस् कि सत्ता सञ्चालनका समयमा होस् अथवा हिंसाको अन्त्यकालागि, उपायहरूको खोजी गर्ने सन्दर्भमा होस्, चक्रको योगदान महत्वपूर्ण थियो । बास्तोलाले कुनै राजकीय सम्मान पाएनन् । पूर्वमन्त्रीहरूभरतमोहन र पद्मरत्न तुलाधरलाई राजकीय सम्मान प्रदान गर्दा चक्र किन छुट्नुपर्यो ? केही वर्षपहिले ताप्लेजुङकै घुन्सामा निधन भएका मन्त्री गोपाल राईसहित २४ जनालाई राजकीय संम्मान मिलेन न राष्ट्रिय शोकको बिदा नै हुन पायो ।  तत्कालमा मन्त्री पदमानै आसीन शेष इद्रिषको देहावसानमा पनि राजकीय सम्मान भएको थिएन । के अबका दिनमा सबै भूतपूर्व मन्त्रीहरूलाई राजकीय सम्मान दिन सरकार तयार छ ? कि सत्तारुढ दलका नेता वा मन्त्रीहरूका लागिमात्र यस्तो सम्मान उपलव्ध हुनुपर्ने हो ? कठोर तर विचारणीय पक्ष हो यो ।

सानो तर अत्यन्त चासोको प्रश्न अहिले धेरैको मनमा छ । रवीन्द्र अधिकारी असाध्य ऊर्जाशील युवा र मन्त्री हुनुहुन्थ्यो । पछिल्लो चरणमा  नेपाल वायुसेवा निगमको वाइडबडी खरिदका विषयमा निकै विवादमा आउनुभएको थियो । उहांँलाई श्रद्धाञ्जली दिन पुग्नुभएका प्रधानमन्त्री ओलीले शायद यस विषयमा पहिलो पटक प्रतिक्रिया दिँदै रवीन्द्र वाइडबडीमा दोषी छैनन् भन्नुभयो । बिनाप्रसंंग उहाँको यो सफाइका कारण अनेक अनावश्यक प्रश्न जन्मने क्रममा छन् । सरकारले नै बनाएको समितिले रिपोर्ट बुझाएको छैन, संसदीय समितिमा विवादको प्रतिवेदन तयार भएको छ । रवीन्द्रको निधन हुनुपहिले अर्थात् उहाँ जीवित हँुदै किन प्रधानमन्त्रीले केही भन्नुभएन र श्रद्धाञ्जलीका समयमा यस्तो सफाइ दिनपुग्नुभयो ? शोकपूर्ण घडीमा यस्तो अप्रिय मुद्दामा बोल्नुको कारण के थियो? अघिपछि जति पनि समय थियो नि । रवीन्द्रको कुनै दोष नभएको निश्चित गर्दा प्रधानमन्त्रीलाई दोषी को हो भन्ने जानकारी छ भन्ने बुझिन्छ, त्यसो हो भने समितिको प्रतिवेदन पर्खिनु वा अरु खोजिनीति गर्नुभन्दा खुरुक्क दोषीलाई सार्वजनिक गरी कारबाही थाले भएन र ? प्रधानमन्त्रीले यो जानकारी पहिले नै दिनुभएको भए रवीन्द्रले विवादको भारी बोक्नुपर्ने थिएन । अनावश्यकरूपमा विवादको कटु भारी नबिसाउँदै रवीन्द्रको देहावसान हुनु दुर्भाग्य मान्नुपर्छ ।

राजनीतिक नेताहरूका सन्दर्भमा यहाँनेर कृष्णप्रसाद भट्टराईलाई सम्झनु अनुपयुक्त हुने छैन । उहाँको पार्थिव अवशान भएको आठ वर्ष यही फागुन २० का दिन भयो । नेपालको राजनीतिमा सन्त राजनेता भनेर चिनिनुभएका भट्टराईको सम्झना कतैपनि भएको पाइएन । केही लेखक र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाहेक । नेपालको इतिहासमा पृथ्वीनारायण शाह, बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल,मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र एकहदसम्म मदन भण्डारीलाई राजनीतिको साझा विचार, साझा नेताका रूपमा राज्यले नै किन स्वीकार  गरी  सम्मान नगर्ने ? त्यस्तै लेखक साहित्यकार, सामाजिक अभियन्ता, कलाकारहरूका विषयमा पनि यो प्रस्ताव उपयुक्त हुनेछ । समान प्रकृतिका शहीदहरूलाई पनि राज्यले नै सम्मान किन नगर्ने ? १० लाख मूल्य तोकेर घोषित शहीदहरूका विषयमा फरक धारणा हुनसक्छ । नत्र लीला दाहालसहित नख्खुमा र रामनाथ दाहालसहित सुखानीमा शहादत प्राप्त गर्नेहरू किन सबैका हुँदैनन् ? टिम्बुरबोटको कथा मटिहानीको कथा अनि यदुकोहा र  छिन्ताङको कथा समान छैनन् र ? यस्ता विषयमा पनि राज्यको ध्यान पुगे कति सुखद हुने थियो।







यसमा तपाईको मत


अन्य समाचार

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

DxOMark अनुसार अहिलेको सबैभन्दा अब्बल क्यामरा स्मार्टफोन ! ...

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

तपाईंको फेसबुकसँग भएको सम्पूर्ण जानकारी पूर्ण डाउनलोड गर्नका लागि यस्तो गर्नुहोस् : ...

Ncell Footer Ad