८ वैशाख २०८१ शनिबार
राजनीति

सुनवाइ समितिमा अन्सारीलाई सुझाव : 'स्वेच्छाले पछि हट'

काठमाडौं - नागरिकतामा फरक जन्ममितिका कारण संवैधानिक परिषद्बाट मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएपछि विवादित बनेका समिम मियाँ अन्सारीलाई सत्तापक्षका सांसदहरूले प्रश्न माथि प्रश्न गरेका छन् । संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकले अन्सारीको सुनुवाइ गर्ने क्रममा समितिमा उनीमाथि दर्जनौं प्रश्न उठे । नागरिकता र शैक्षिक योग्यतामा प्रश्न उठाउँदै उजुरी परेपछि समितिले यसबारे अनुसन्धान गरेको थियो । अनुसन्धानबाट उनको नागरिकता र शैक्षिक योग्यतामा सन्तुष्ट हुने आधार नदेखेपछि समितिले सुनुवाइ सुरु गरेको हो । समितिका सदस्यले सोधेका प्रश्नको उनले स्पष्ट जवाफ दिएनन् ।

समितिका सदस्य योगेश भट्टराईले ‘दुई वटा सरकारी अभिलेखमा फरक फरक जन्म मिति छ, जारी गर्ने सिडिओको नाम छैन नागरिकता दिने सिडिओ को हो ?’ भन्ने प्रश्न गरे । उनले पहिला नागरिकता पर्साबाट लिएको रहेछ फेरि काठमाडौंबाट लिनुभयो भन्दै अब बाबुको नागरिकता समितिमा पेस गर्न आग्रह गरे । उनले नेकपा पार्टी कार्यालयबाट र सिडिओ कार्यालयबाट चिठी लेख्न लगाएर राजनीतिक प्रभाव पार्न खोज्नु गलत भएको बताए । ‘तपाई स्वेच्छाले पछि हट्नुस्, कानुनी रूपले यहाँबाट बाहिर जानुपर्यो भने भविष्यमा सबै बाटा बन्द हुन्छन्,’ भट्टराईले भने ।

भट्टराईकै शैलीमा समिति सदस्य सुरेन्द्र पाण्डेले पनि ‘समितिले संवैधानिक परिषद् मात्र चिन्छ, कुनै पार्टीलाई चिन्दैन, किन दलको चिठी समितिमा ल्याउनुभयो भन्दै मर्यादित आयोगमा जाने मान्छेले किन यस्तो काम गरेको भन्ने प्रश्न गरे । सिफारिस भएको एक महिनापछि पनि निर्वाचन आयोगमा दलको सदस्य रहेको प्रमाण समितिसमक्ष रहेको उनले बताए । अन्सारीले सिफारिस हुनुअघि नै दल त्यागको निवेदन दिएको चिठीसमेत समितिमा ल्याएका थिए । समिति सदस्य पूर्णकुमारी सुवेदीले भनिन्, ‘कहिँकतैबाट पनि तपाईंको चित्तबुझ्दो कागजपत्र देखिएन, आफ्नो भविष्यबारे बेलैमा सोच्नुहोस् ।’ समिति सदस्य शिवकुमार मण्डलले पनि सुविधा सम्पन्न सहर काठमाडौंमा हुँदाहुँदै किन सबै कक्षा भारतमा पढेको भन्दै जन्म मिति २०३० कि २०३७ साल हो भन्दै प्रश्न गरे ।

अन्सारीले ‘दलको सदस्य नियुक्ति हुँदाका बखत मात्र नहुने भनेको छ, म सिफारिस मात्र भएको हुँ, नियुक्त भएको छैन’ भन्ने जवाफ दिएका थिए । उनले आफूविरुद्ध परेका चार उजुरी फर्जी भएको बताए । उनले भने, ‘म कुनै हालतमा फर्जी छैन, उजुरी मात्र फर्जी हो ।’ उनले उजुरीमाथि कुनै आधार नभएको बताए । आफूलाई बदनाम गराउने किसिमले उजुरी आएको उनले बताए । उनले भने, ‘६ गते सिफारिस भयो ७ गते कागजपत्र मागियो त्यसपछि बुझाएको हो ।’ उनले सिडिओले आफ्नो नागरिकताको कागजपत्रमा कुनै कमजोरी नभएको बताएको जानकारी दिए । आफूले मात्र नभई २५ प्रतिशतले भारतमा पढ्न जाने उनको भनाइ थियो । यसबाहेक समितिका सदस्यले सोधेका सबै प्रश्नको उत्तर उनले दिएनन् । उनको समितिले थप अध्ययन गर्ने भन्दै उनको नाम अनुमोदन गरेन ।

बिहान १० बजेबाट समितिले तीनजना सिफारिस अध्यक्षसँग सुनुवाइ गरेको थियो । त्यसमा थारू आयोगमा सिफारिस भएका विष्णुप्रसाद चौधरी, मधेसी आयोगमा सिफारिस भएका डा.विजयकुमार दत्त रहेका छन् । यसअघि फागुन ७ गते वित्त आयोगमा सिफारिस भएका बालानन्द पौडेल र समावेशी आयोगमा सिफारिस भएका शान्तराज सुवेदको सुनुवाइ गरेको थियो । समितिले अन्सारीबाहेक चारजनाको अनुमोदन गरेको छ । संवैधानिक आयोगका अध्यक्षको सिफारिस विधिसम्वत् नभएको भन्दै कांग्रेसले सुनुवाइ समितिको बैठक बैठक बहिष्कार गर्दै आएको छ भने संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ पनि अनुपस्थित हुँदै आएका छन् ।

प्रकाशित: २२ फाल्गुन २०७५ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App