८ वैशाख २०८१ शनिबार
खेल

१३औं साग आगामी मंसिरमा

काठमाडौं – नेपालले आयोजनाको जिम्मेवारी पाएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को सञ्चालनका लागि तेस्रो पटक मिति तय भएको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आगामी डिसेम्बर महिनामा १३औं साग आयोजना हुने जानकारी दिएको हो।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्षसमेत रहेको जीवनराम श्रेष्ठले ओलम्पिक काउन्सिल अफ एसियाको साधारसभाको अवसरमा भएको १३औं सागको बैठकमार्फत तेस्रो पटक समय तय गरिएको उल्लेख गरेका छन्।

यसअघि दुई पटक आयोजनाको मिति सरेको १३औं साग आगामी डिसेम्बर १ देखि १० तारिखसम्म अर्थात मंसिर १५ देखि २४ गतेका लागि तय भएको छ। सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औं सागको समापन समारोहमा नेपालले सन् २०१८ मार्चभित्र १३औं साग गर्ने लक्ष्यसहित झन्डा लिएको थियो।

तर, पछि २०१६ को डिसेम्बरमा काठमाडौंमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमार्फत नेपालले पुनः सन् २०१९ को मार्चका लागि नयाँ मिति मागेको थियो। भूकम्पले भत्किएका संरचना निर्माणमा ढिलाइ हुने भन्दै नेपालले सन् २०१९ को मार्च ९ देखि १८ तारिखमा १३औं साग गर्ने प्रस्ताव काउन्सिलको बैठकमा राखेपछि पारित भएको थियो। 

उक्त प्रस्तावमा सबै राष्ट्रको सहमति भएपछि दोस्रो पटक पनि अवसर पाएको नेपालले भौतिक पूर्वाधारकै कारण देखाउँदै तेस्रो पटक दक्षिण एसियाली ओलम्पिक काउन्सिलसँग नयाँ मिति मागेको थियो। युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारको अध्यक्षतामा भएको तयारी समितिले आगामी डिसेम्बरमा आयोजना गर्न आफूहरुलाई सक्षम रहेकाले एनओसीमार्फत दक्षिण एसियाली ओलम्पिक काउन्सिलमा प्रस्ताव गरेको थियो।

मार्च १ मा थाइल्यान्डमा बसेको काउन्सिल बैठकले नेपालले गरेको नयाँ प्रस्ताव स्वीकृत गरेपछि डिसेम्बरका लागि तेस्रो पटक मिति तय भएको हो। मंगलबार भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सागका लागि पूर्वाधार निर्माण र सहभागी राष्ट्रहरूको परिस्थितिलाई ध्यानमा राखेर नयाँ मिति तय गरिएकाले यस पटक तोकिएको समयमै हुने विश्वास व्यक्त गरे। 

‘हाम्रो आयोजनाको उद्घाटन हुने मुख्य स्थल दशरथ रंगशालामा पनि दोस्रो चरणको निर्माणका लागि चीनलाई हस्तान्तरण गरिसकेका छौं,’ खेलकुद मन्त्रालयका सचिव देवकोटाले भने,‘विभिन्न प्रदेशमा भएका निर्माणका चरण पनि अध्ययन गरेर मिति प्रस्ताव गरिएकाले डिसेम्बरभित्र हुनेमा शंका नगर्न अनुरोध गर्दछु।’

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का उपाध्यक्ष पीताम्बर तिम्सिनाले राष्ट्रको प्रतिष्ठासँग जोडिएको साग आयोजना भएकाले यस पटक जसरी पनि तोकिएकै समयमा सम्पन्न गर्न युद्धस्तरमा काम भइरहेको दाबी गरे। ‘१३औं सागका लागि केही उपसमिति गठन भइसकेका छन्,’ उपाध्यक्ष तिम्सिनाले भने, ‘हामीलाई आवश्यक केही समिति पनि छिट्टै बनाउनेछौं। १३औं सागलाई भव्यरूपले सम्पन्न गर्न अहोरात्र खटिनेछौं।’ राखेपका उपाध्यक्ष तिम्सिनाले १३औं सागमा समावेश खेल संघका अध्यक्ष, महासचिव र प्रमुख प्रशिक्षकसँग छिट्टै छलफल गरिनेसमेत बताए। 

 

प्रकाशित: २२ फाल्गुन २०७५ ००:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App