coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नियमनकारीलाई थाहै नदिई प्याराग्लाइडिङ प्रतियोगिता

पोखराको आकाशमा प्याराग्लाइडिङ गरिँदै। यहाँ अनुमति नलिई प्याराग्लाइडिङ प्रतियोगिता चलेको छ।    तस्बिरः उमेश पुन/नागरिक

पोखरा – पोखराको आकाशमा यति बेला प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गरिएको छ। तर प्रतियोगिताबारे न त आयोजक खुलेको छ, न नियमनकारी निकायलाई नै जानकारी छ। दिनुहँजसो प्याराग्लाइडिङ दुर्घटना भएपछि बल्ल प्रतियोगिताबारे चासो जागेको हो। 

सराङकोटको आकाशमा आयोजना गरिएको यो प्रतियोगिताबारे नियमनकारी निकायलाई नै पत्तो छैन। प्रतियोगिताका लागि कतैबाट अनुमति पनि लिइएको छैन। हिमालयन ओपन कप नाम दिइएको यो प्रतियोगिता गत बुधबारदेखि एक साता चल्ने वेभसाइटमा उल्लेख छ। एफएआई–२ क्याटागोरी भनिएको यो प्रतियोगिता रसियाबाट पोखराको उडानका लागि आउने पाइलटको समूहले आयोजना गरिएको भन्ने उल्लेख भए पनि नियमनकारी निकायबाट अनुमति लिइएको छैन। सराङकोटको आकाशमा प्रतियोगिता हुने मात्र उल्लेख गरिएको छ। स्थानीय स्तरमा सहयोगी संस्था पनि खुलाइएको छैन।

पोखराको आकाशमा प्याराग्लाइडिङको कुनै पनि प्रतियोगिता गर्दा यहाँस्थित हवाई खेलकुद संस्था (एनएए), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अनुमति लिनुपर्ने हुन्छ। तर यो प्रतियोगिताका सहभागीले व्यक्तिगत उडानका लागि प्राधिकरणबाट अनुमति लिए पनि प्रतियोगिताबारे जानकारी दिएका छैनन्। पाइटलको व्यक्तिगत उडान अनुमति भने प्राधिकरणबाट लिइएको छ।

‘सोलो उडानको अनुमति लिएका छन्। अनि आफैंले प्रतियोगिता आयोजना गरेका छन्। यसबारे कसैलाई पत्तो दिइएको छैन। स्थानीय आयोजक पनि खुलाइएको छैन।’

‘सराङकोटको आकाशमा प्रतियोगिता चलेको सुनेका छाैं। तर, यसको आधिकारिक जानकारी हामीलाई नै छैन,’ प्राधिकरणका पोखरा प्रमुख भोलाप्रसाद गुरागाईंले भने, ‘यति बेला धेरै पाइलटले यहाँबाट उडान अनुमति लिएका छन्। तर, उनीहरूको उडान ‘फनफ्लाई’ मा मात्र सीमित छ। कुनै प्रतियोगिता भनिएको छैन। हामीसँग अनुमति लिँदा पनि प्रतियोगिताका लागि भनिएको छैन।’ प्याराग्लाइडिङलाई अहिले नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नियमन गर्दै आएको छ। प्राधिकरणले भिसा, लाइसेन्सलगायतका प्रावधान हेरेर पोखराको आकाशमा उडान अनुमति दिन्छ। प्रतियोगिताका पाइलटले पनि यिनै कागजात पेस गरेर अनुमति लिएका हुन्।

पोखरामा अहिले ५ दर्जन बढी प्याराग्लाइडिङ कम्पनी छन्। पोखरा आएर उड्न चाहने विदेशी पाइलटलाई कुनै एक नेपाली कम्पनीको सिफारिसमा प्राधिकरणले एक पटकमा बढीमा १५ दिनका लागि उडान अनुमति दिन्छ। यसरी अनुमति दिँदा विदेशी पाइलटले ५६०० रुपैयाँ तिर्नुपर्छ। प्राधिकरणका अनुसार पुस ३० देखि फागुन २० गतेसम्म पोखराको आकाशमा उड्नका लागि ५ सय जना सोलो पाइलटले अनुमति लिएका छन्। प्राधिकरणको अनुमति १५ दिनका लागि हुन्छ। पछिल्लो दश दिन (फागुन १० देखि २० गते) भित्र २ सय १६ जना सोलो पाइलटले अनुमति लिएका छन्। तीनैमध्येका पाइलटले स्थानीय आयोजकलाई नै पत्तो नदिई प्रतियोगितामा सहभागिता जनाएको हुन सक्ने गुरागाईंले बताए। ‘प्रतियोगिता आयोजना गर्दा हवाई रुट नै क्लियर गर्नुपर्ने गरी सूचना जारी गर्नुपर्छ। तर, यहाँ त्यस्तो अनुमति लिइएको छैन। सोलो उडानका पाइलटले अनुमति लिएका छन्,’ उनले भने। 

यही प्रतियोगितामा सहभागी हुन आएका पाइलट नै दुर्घटनामा परेको प्याराग्लाइडिङ क्षेत्रका व्यक्तिहरूले बताएका छन्। नेपाल ह्याङग्लाइडिङ तथा प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले स्थानीय रूपमा कसैलाई थाहै नदिई प्रतियोगिता आयोजना गरिएको बताए। ‘हामीले प्रतियोगिताबारे थाहा पाएका छाैं। तर, कतै अनुमति लिएको जानकारी छैन,’ उनले भने, ‘नियमनकारी निकायले नै यसबारेमा चासो देखाउनुपर्ने हो। यसमा नियमनकारी निकाय नै चुकेको छ।’ उनका अनुसार प्रतियोगिताको बारेमा स्थानीय स्तरमा कतै जानकारी दिएका छैनन्। ‘सोलो उडानको अनुमति लिएका छन्। अनि आफैंले प्रतियोगिता आयोजना गरेका छन्,’ उनले भने, ‘यसबारे कसैलाई पत्तो दिइएको छैन। स्थानीय आयोजक पनि खुलाइएको छैन।’ 

हवाई खेलकुद संस्था (एनएए)का अध्यक्ष योगेश भट्टराई पनि प्रतियोगिताबारे आफूहरूसँग संयोजन नभएको बताए। ‘यति बेला एकै पटक धेरै विदेशी सोलो पाइलटले अनुमति लिएका छन्। तर, प्रतियोगिताका लागि कतै जानकारी छैन। हामीले पनि आन्तरिक रूपमा प्रतियोगिता चलेको सुनेका छाैं,’ उनले भने, ‘कम्तीमा स्थानीय सरोकारवालालाई त जानकारी दिनुपर्ने हो।’ संस्थाले यसअघि प्रतियोगिता गर्दा सम्बन्धित निकायबाट अनुमति लिएर गर्दै आएको उनले बताए। ‘हामीले पनि यसबारेमा थाहा पाएका छौं। तर, सरोकारवाला निकाय नै चुप रहेको छ,’ उनले भने, ‘छानबिन गर्ने निकाय नै चुप बसेपछि हामीले केही गर्न सक्दैनौं।’

वेभसाइटका अनुसार १२ महिला र १२० जना पुरुष पाइलटले प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए। तीमध्ये १२ महिला र ६०  पुरुष मात्र छनोटमा परेको उल्लेख छ। छनोटमा परेर नेपाली पाइलटले पनि प्रतियोगितामा भाग लिएको उल्लेख गरिएको छ। सहभागी भनिएका नेपाली पाइलट विजय गौतमले प्रतियोगिता आयोजना भए पनि स्थानीय स्तरमा संयोजन नभएपछि रद्द भएको बताए। 

उनले खुला रूपमा आह्वान गरेपछि सहभागिताका लागि तीन महिनाअघि नै आवेदन दिएको बताए। ‘तीन महिनाअघि नै आवेदन दिएको हुँ। प्रतियोगिता आयोजना पनि हुने भनिएको हो,’ उनले भने, ‘तर अन्तिम समयमा रद्द भएको हो।’ अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा भएकाले सहभागिताका लागि आवेदन दिएको उनले बताए। नेपाली पाइलटले प्रतियोगिता रद्द गरिएको दाबी गरे पनि वेभसाइटमा टास्क पूरा गरेको उल्लेख छ।

प्रकाशित: २२ फाल्गुन २०७५ ००:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App