८ वैशाख २०८१ शनिबार
समाज

हुम्लामा मोटर सरर...

लाप्चा नाकाबाट लिमी फर्कंदै ट्रक ।

हुम्ला–हिमाली जिल्ला हुम्ला पुग्न कि त हवाइ जहाज चढ्नु पर्छ कि पदयात्रा गर्नुपर्छ । मुलुकका अन्य भूभाग हुँदै त्यहाँसम्म मोटर बाटो जोडिएको छैन । तर, यही जिल्लाभित्र सरर मोटर गुड्छन्, ट्रक, जिप र ट्रयाक्टर । तिनले मान्छे, खाद्यान्न र अरु सामान ओर्साछन् । कतिसम्म भने हिमालतिर गोठ सार्ने बेलामा सामान बोक्न र गाउँमा दाउरा ओर्सान पनि ट्रक नै सहयोगी बनेका छन् ।  

तिब्बतसँग सीमा जोडिएका हिल्सा, लाप्चा र लिमी क्षेत्रमा ट्रक गुड्छन् भने सिमकोट बजारमा जिप र ट्रयाक्टर । सदरमुकाम सिमकोटको एउटा जीप र चार ट्रयाक्टरका नम्बर प्लेट छन् । सीमावर्ती क्षेत्रमा चल्ने ट्रकले न नम्बर प्लेट झुण्डाएका छन् न कतै दर्ता भएका । सिधै सीमा पारीबाट २० लाख रुपैयाँ तिरेर भिœयाइएका ट्रक गुरुजीले हुइँक्याउँछन् । ११ टन क्षमताका चिनियाँ टिपरले यताको बाटोमा ६ टन सामान बोक्छन् ।

हुम्लामा गाडी चल्न थालेको केही वर्ष भयो । तर, त्यहाँ कुनै ट्राफिक प्रहरी छैनन् । यातायात हेर्ने कार्यालय छैन । गाडी धनीले आ–आफ्नै ढंगले भाडा तोकेर गुडाइरहेका छन् । भर्खरका तन्नेरी ड्राइभर छन् । साथमा चालक अनुमतीपत्र भएको उनीहरु बताउँछन् । तर, त्यसको परिक्षण गर्ने कसले ? व्यवहारिक पक्ष के छ भने ट्रक गुड्न थालेपछि गाउँलेलाई सामान ढुवानी गर्न सजिलो भएको छ । उनीहरु सीमाबाटै आउने डिजल प्रयोग गर्छन । ‘यी ट्रकले खाद्यान्न ढुवानी नगरे त हामी भोकै पर्छौं’, सीमा चौकी हिल्साका एक प्रहरीले भने, ‘अहिलेसम्म कुनै दूर्घटना पनि भएको छैन ।’

ट्रक वर्षका ६ महिना चल्छन्, वैशाखदेखि कात्तिकसम्म । बाँकी समय हिउँ पर्ने भएकाले उपल्लो हुम्लाका बासिन्दा औल (तराई) झर्छन । ट्रकका गुरुजी भने स्थानीय होइनन्, बाहिरी जिल्लाका छन् । धादिङ, मकवानपुर र सुर्खेतका । ‘हिल्सादेखि तुम्कोटसम्म खाद्यान्न ओर्साछौं’, ट्रक चालक गगन थापा भन्छन्, ‘ट्रिपर सामान्य बिग्रे आफैं मर्मत गर्छौं । हामीले बनाउन नसके तिब्बतको ताक्लाकोटबाट मिस्त्रि ल्याउँछौं ।’   

अबैधानिक रुपमा ट्रक र ट्रयाक्टर गुड्दै आए पनि स्थानीयलाई फाइदा पुगेको भन्दै प्रशासनले आँखा चिम्लिएको छ । ‘ट्रक चलाउन रोकिदिउँ भने लोकल बासिन्दालाई मर्का पर्छ । हिल्सा सिमकोट सडक निर्माणमा पनि उनीहरुको योगदान छ’, हुम्लाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे भन्छन्, ‘सदरमुकाम सिमकोटसँग सडक सञ्जाल जोडिएपछि त्यसलाई व्यवस्थित गर्नेछौं ।’

हुम्लामा २७ गाविस छन् । स्थानीयस्तरमा तिनले आ–आफ्ना गाउँमा सडक खन्दै आएका छन् । स्थानीय विकास अधिकारी वलदेवप्रसाद जोशीका अनुसार कर्नाली रोजगार कार्यक्रमबाट प्रत्यक गाविसमा ५०० देखि १५ सय मिटरसम्म सडक ट्रयाक खोलिएको छ । ‘हुम्लामा करिब दुई सय किमि सडक खनिसकिएको छ’, उनले भने ।  
पचासको दशकदेखि खन्न सुरु भएको हिल्सा–सिमकोट (९५ किमि) सडक मध्य ७४ किमि ट्रयाक खुलिसकेको छ । हिल्सादेखि तुम्कोटसम्म ३६ किमिमा एक दर्जन ट्रक कुद्छन् । हिल्सा–सिमकोट सडक आयोजनाका इन्जिनियर वीरेन्द्र शाहीका अनुसार ट्रयाक खुलिसकेका ठाउँका तुम्कोट, सल्लीसल्ला, ताक्रुखोला, हयाक्पा खोला र याङगार खोलामा पुल बनाउन बाँकी छ ।

लाप्चा नाकाबाट न्यालु भञ्ज्याङ हुँदै सिमकोट जोड्ने १०५ किमि अर्को सडक पनि निर्माणाधिन छ । दुबै सडक च्याङछहरा पुगेर जोडिन्छन् । त्यहाँबाट सिमकोट पुग्छ । च्याङछहराको चट्टाने पहरो ब्लास्टिङ गर्ने सडक आयोजनाको तयारी छ । केही वर्ष लाग्ने छ सिमकोट जोडिन ।    

सदरमुकाम सिमकोटसँग बाहिरी जिल्लालाई जोड्ने कर्नाली कोरिडरको कालीकोट खण्डमा नेपाली सेनाले काम गर्दैछ । स्थानीय विकास मन्त्रालय अन्तगर्तको ग्रामिण पहुँच कार्यक्रम (¥याप)ले मुगुदेखि हुम्लासम्म ७९ किमि सडक खन्दैछ । ¥यापका टिम लिडर बखतबहादुर शाहीका अनुसार पहिलो चरणमा हुम्लाको सल्ली सल्लादेखि दारमासम्म १५ किमिमा काम भैरहेको छ । बीचमा ९ वटा पुल बनाउनु पर्ने छ । सन् २०२१ भित्र सडक पुरा गरिने लक्ष्य भएको उनले बताए । सल्लीदेखि सिमकोट जोड्न थप ५५ किमि खन्नु पर्नेछ ।  

 

प्रकाशित: २४ आश्विन २०७३ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App