६ वैशाख २०८१ बिहीबार
राजनीति

शान्ति सम्झौताको मर्ममै रहेर मेलमिलाप आयोगको काम सक्छौं : परराष्ट्रमन्त्री ज्ञवाली

तस्बिर : रासस

नागरिक – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको काम आफ्नै मौलिक हिसाबमा सम्पन्न गर्ने बताएका छन्।

सरकार र तत्कालीन विद्रोही माओवादी पक्षबीच भएको बृहत् शान्ति सम्झौताको मर्ममै रहेर नेपालले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी आयोगको काम सम्पन्न गर्ने मन्त्री ज्ञवालीले बताएका छन्।

नेपालले सत्य निरुपण तथा मेलमिलाप आयोगको काम मुख्यतः पाँच आधारमा गर्ने पनि मन्त्री ज्ञवालीेले बताएका छन्। नेपालको बृहत शान्ति सम्झौता, नेपालले प्रतिवद्धता जनाएका अन्तर्राष्ट्रिय कानुन, पीडित पक्षका गुनासा, सर्वोच्च अदालतका निर्देशन र नेपालको सन्दर्भका आधारमा मेलमिलाप तथा वेपत्ता आयोगको काम सम्पन्न गर्ने मन्त्री ज्ञवालीले बताए।

‘यो विषयमा नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सद्भाव आवश्यक छ’, मन्त्री ज्ञवालीले भने, ‘तर यो कुनै प्रोजेक्टका रूपमा अघि बढ्नु हुँदैन।’ नेपालले अरू देशका पनि सत्य निरुपण तथा मेलमिलाप आयोगका काम नजिकबाट हेरेको बताउँदै मन्त्री ज्ञवालीले नेपालले यो विषयमा अन्तर्राष्ट्रिय समुदायको प्राविधिक तथा भौतिक सहयोगको अपेक्षा गरेको जानकारी दिए। नेपालको द्वन्द्वकालीन विषयका मुद्दा समाधानमा नेपाल सक्षम रहेको दोहो-याएका हुन्। 

जनवरी २५ देखि सुरु संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगका ४० औं विशेष सत्रलाई सम्बोधन गरी केही दिनअघि मन्त्री ज्ञवाली नेपाल फर्किएका थिए। उक्त सत्रमा मृत्युदण्डका विषयमा नेपालले विगत र वर्तमानमा अवलम्बन गरेको नीतिका विषयमा आफ्ना धारणा राखेका थिए। मृत्युदण्डजस्तो विषयमा नेपाल उदार बन्न नसक्ने नेपालको पुरानै धारणा मन्त्री ज्ञवालीले उक्त सत्रमा राखेका थिए। 

यस्तै परराष्ट्रमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनलामा ज्ञवालीले यही मार्च १० देखि राष्ट्रपति विद्यादेवी भण्डारीको अमेरिका भ्रमणका विषयमा पनि जानकारी दिएका थिए। राष्ट्रसंघको महिला सशक्तीकरणका विषयमा हुने सत्रमा राष्ट्रपति भण्डारीले मार्च १२ मा हुने ‘महिला नेतृत्वले विश्वलाई कसरी परिर्वतन गर्न सक्छन्’ भन्ने विषयमा सम्बोधन गर्ने जनाइएको छ।

राष्ट्रपति भण्डारी मार्च १५ मा स्वदेश फिर्ति हुने पत्रकार सम्मेलनमा उनले जानकारी दिएका छन्। राष्ट्रपति भण्डारीसँग महिला तथा बालबालिका मन्त्री थममाया थापा, परराष्ट्रसचिव शंकरदास वैरागीलगायत रहनेछन्। आगामी अप्रिल अन्त्यतिर राष्ट्रपति भण्डारीले चीन भ्रमण गर्ने भन्नेबारे भने कार्यक्रममा जानकारी दिइएन।

राष्ट्रपति भण्डारी चीनमा आयोजना हुने बेल्ट एन्ड रोड इनिसिएटिभको दोस्रो सम्मेलनमा सहभागी हुने बताइएको छ। अप्रिल २५ देखि सुरु हुने कार्यक्रममा उनी नेपालको प्रतिनिधित्व गर्दैछिन्। सन् २०१७ मा आयोजना भएको पहिलो बीआरआई सम्मेलनमा भने नेपालको प्रतिनिधित्व तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले गरेका थिए।

 

प्रकाशित: २१ फाल्गुन २०७५ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App