७ वैशाख २०८१ शुक्रबार
अन्य

जस्तो कपाल त्यस्तै स्टाइल

लक्ष्मी ठाकुर, हेयर स्टाइलिस्ट, लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियो
कपालको प्रकृति, व्यक्तिको अनुहार, स्ट्रक्चरअनुसारको कपालको स्टाइल बनाउँदा सुहाउँछ। कपालको स्टाइलले व्यक्तिको सुन्दरतामा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। हेयर स्टाइलमा ध्यान दिने पुरुषको संख्या पनि नेपालमा कम छैन। 

सिल्कि कपालको स्टाइल
सिल्कि कपाल भएका पुरुषको निधार ठूलो छ भने कपालले निधारको अलिकति भाग ढाकेकै राम्रो। कपालले निधारको भाग अलिकति ढाक्दा सुहाउँछ। चटक्क देखिन्छ। निधार ठूलो हुने व्यक्तिले कपालले निधारको आधाभाग नढाक्दा निधार ठूलो देखिन्छ। सुहाउँदैन। कपाल छोटो बनाएर निधार नढाक्दा निधार झन् ठूलो जस्तो देखिन्छ र सुहाउँदैन। 

निधार सानो हुने पुरुषले भने केही छोट्याएर कपाल काट्नु उपयुक्त हुन्छ। सानो निधार हुने व्यक्तिले निधार ढाकिने गरी कपाल छोड्यो भने बच्चाको जस्तो अनुहार देखिन्छ। सुहाउँदैन। निधार सानो हुने पुरुषले निधार नछोप्नेगरी कपाल काट्दा उपयुक्त हुन्छ। निधार नछोपेकै राम्रो। खुल्ला गरेकै राम्रो। निधार खुला गर्दा निधार सानो हुने व्यक्तिलाई सुहाउँछ। चटक्क देखिन्छ। 

सिल्कि कपाल हुने पुरुषले दायाँ छोटो पट्टीको भागको कपाल छोटो बनाएर एक साइडमा कोर्नु उपयुक्त हुन्छ। निधार लाम्चो किसिमको हुने पुरुषले भने कपाल निधारको केही तल छोड्न सकिन्छ। निधार लाम्चो नहुनेले कपाल छोटो बनाउनु उपयुक्त हुन्छ। पछाडि पट्टी कपाल लाँदा पनि राम्रै हुन्छ। 

व्यक्ति (पुरुष) अग्लो तर कपाल भने सिल्कि किसिमको छ भने टाउकाको एक साइडबाट मिलाएर कपाललाई स्टाइलिस्ट बनाउन सकिन्छ। तर व्यक्ति होचो र कपाल सिल्कि छ भने तालु अर्थात् टाउकाको माथिल्लो भागमा अलि बढी कपाल राखेर पछाडि भने छोटो बनाउँदा सुहाउँछ। 

गोरो अनुहार भएका व्यक्तिको कपाल भने सिल्कि छ भने पनि छोटै कपाल काटेर स्टिाइलिस्ट बनाउन सकिन्छ। कालो वर्णको व्यक्ति छ भने निधारअनुसारको कपालको स्टाइल बनाउनु पर्छ। कालो वर्णको अनुहार भएका व्यक्तिले निधार नछोप्नेगरी कपाल काट्दा सुहाउँछ। 

हल्का घुम्रेको कपाल
हल्का घुम्रिएको कपाल आफूले चाहेअनुसारको स्टाइलमा बनाउन सकिन्छ। हल्का घुम्रेको कपाल भएका पुरुषले टाउकाको दायाँ–बायाँ साइडमा आधा इन्च राखेर काट्दा राम्रो। तालुमा भने २÷३ इन्च कपाल राख्दा सुहाउँछ।

होचो व्यक्तिको हल्का घुम्रिएको कपाल छ भने टाउकाको दायाँ–बायाँ साइडमा छोटो काटेर तालुमाथि हल्का उठाएर कपाल राख्दा सुहाउँछ। अग्लो व्यक्ति (पुरुष) को हल्का घुम्रेको कपाल भए तालुमाथि छोटो बनाएर टाउकाको दायाँ–बायाँ भागमा भने  केही लामो राखेर काट्नु स्टाइलिस्ट र सुहाउँदिलो हुन्छ। 

व्यक्ति गोरो तर कपाल हल्का घुम्रेको छ भने छोटै बनाएर कपाल काटेको सुहाउँछ। गोरो व्यक्तिलाई हल्का घुम्रेको छोटो कपालमा स्मार्ट देखिन्छ। लुक्स राम्रो हुन्छ। व्यक्ति कालो तर कपाल भने घुम्रिएको छ भने पनि कपाल छोटै बनाउँदा सुहाउँछ। स्मार्ट देखिन्छ। 

पूरै घुम्रेको कपाल
पूरै घुम्रिएको कपाल भएका पुरुषले उमेर समूहअनुसार कपालको स्टाइल बनाउँदा सुहाउँछ।  सामान्यतयाः १५ देखि २५ वर्ष उमेर समूहका व्यक्तिले पूरै घुम्रिएको कपाल छ भने पछाडिको कपाल गर्धनको भागसम्म छोड्दा सुहाउँछ। टाउकाको दायाँ–बायाँ भने कान छोपिने गरी राख्दा राम्रो। अगाडिको कपाल भने निधार ढाक्नेगरी नाकसम्म राख्दा लुक्स स्टाइलिस्ट र सुहाउँदिलो देखिन्छ। 

२५ वर्ष नाघेका पुरुषको पूरै घुम्रिएको कपाल छ भने सामान्यतया जस्तो स्टाइलको कपाल काट्दा पनि सुहाउँछ। तर आफ्नो पेशाको प्रकृति अनुसारको हेयर स्टाइल बनाउँदा उपयुक्त हुन्छ। सेलिब्रेटीले पनि आफ्नो पेशाअनुसारको स्टाइल बनाउन सकिन्छ। जागिरे वा अफिसर तहमा काम गर्ने व्यक्तिले सिम्पल देखिने किसिमको स्टाइलमा कपाल काट्नु उपयुक्त हुन्छ। कुनै पनि व्यापारी विजनेश म्यानको पूरै घुम्रेको कपाल छ भने पछाडिको साइडमा छोटो र अगाडिको कपाल पनि कोरेर पछाडि लैजाँदा सुहाउँछ। 

पेशाअनुसारको कलर स्टाइल
कपालको कलर पनि पेशाअनुसारै गर्दा उपयुक्त हुन्छ। गोरो व्यक्ति (पुरुष) ले कुनै पनि उज्यालो किसिमको कपालको कलर गर्दा सुहाउँछ। गोरो व्यक्तिका लागि पाकेको गहुँको बालाजस्तो कपालको कलर सुहाउँछ। कालो व्यक्तिका लागि भने पाकेको कोदोको बाला जस्तो देखिने कलर सुहाउँछ। कालो व्यक्तिले हल्का रातो देखिने कलर गर्न सकिन्छ। व्यक्ति अग्लो र गोरो भएको अवस्थामा पनि गहुँको बालाजस्तो कलर सुहाउँछ। भाषण गर्ने व्यक्तिले प्राकृतिक किसिमको कपालको कलर गर्दा सुहाउँछ। 
प्रस्तुतिः उपेन्द्र खड्का

प्रकाशित: २१ फाल्गुन २०७५ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App