coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

डिम्याटको प्रक्रिया र झन्झट

सरोज भट्टराई, डाइरेक्टर तथा प्रशिक्षक, सेक्युरिटिज रिसर्च सेन्टर एण्ड सर्भिस प्रालि

डिम्याटलाइजेशन शब्दको छोटोरुप हो डिम्याट। बैँकमा पैसा जम्मा गर्न वा निकाल्न खोलिने खाता जस्तै सेयरको कारोबार गर्न खोलिने खाता हो, डिम्याट। आफ्नो सेयर जम्मा गर्न खोलिने खातालाई डिम्याट खाता भनिन्छ। डिम्याट खाता खोलिसकेपछि प्राइमरी तथा सेकेण्डरी बजारमा खरिद गरेका सेयर डिम्याट खातामा जम्मा हुन्छ। चेक साट्दा आफ्नो बैंक खाताको पैसा घटेजस्तै आफूले सेयर बिक्री गर्दा डिम्याट खाताबाट सेयर घट्छ। जति सेयर बिक्री गरेको हो त्यति सेयर घट्छ भने किनेको सेयर खातामा जम्मा हुन्छ। 

सेयर बजारको कारोबारलाई छिटो—छरितो तथा प्रभावकारी बनाउनका लागि डिम्याट खाता खोल्नुपर्ने नियम ल्याइयो । धेरै हदसम्म व्यवस्थित देखिए पनि सोचेअनुरुप अझै व्यवस्थित हुन सकेको छैन। सेयरमा लगानी गर्नुपूर्व डिम्याटको बारेमा जानकारी लिन आवश्यक छ। भौतिकरुपमा भएका सेयरका प्रमाणपत्रलाई अभौतिकीकरण गर्ने प्रकिया डिम्याट हो। 

कम्पनीको सेयरको स्वामित्व हुनेलाई सेयर धनी भनिन्छ। कम्पनीमा सेयरको स्वामित्व पुष्टि गर्ने प्रमाणलाई सेयर प्रमाणपत्र भनिन्छ।  कम्पनीमा लगानी छ भन्ने प्रमाण देखिने कागज सेयरको प्रमाणपत्र हो। 

अनिवार्य डिम्याट

प्राइमरी र सेकेण्डरी मार्केटमा सेयर कारोबार गर्न डिम्याट खाता अनिवार्य हुन्छ। विशेषगरी प्राइमरी मार्केटमा सेयर भर्नका लागि र सेकेण्डरी मार्केटमा खरिद बिक्री गर्नका लागि डिम्याट खाता अनिवार्य छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को एकल स्वामित्वमा रहेको सीडिएस एण्ड क्लेरिङ लिमिटेडले डिम्याट अनिवार्य गरेको हो। सेयरलाई व्यवस्थित गर्न सि डिएस एण्ड क्लेरिङको जन्म भएको हो। तर प्रभावकारी रुपमा अहिले पनि सेयर बजारको कारोबार व्यवस्थित हुन सकिरहेको देखिँदैन। अभौतिक सेयरको अन्तिम अभिलेख राख्ने काम सिडिएसले गर्छ। देशैभरिका सूचीकृत कम्पनीका सेयरको अभिलेख राख्छ सिडिएसले।

कहाँ खोल्ने खाता ?

सेन्ट्रल डिपोजिटरी सिस्टम (सिडिएस) लाई केन्द्रीय निक्षेप प्रणाली भनिन्छ। यो सेयरको बैंक हो। सिडिएसले डिम्याट सम्बन्धी नियमन तथा निगरानी गर्छ। सिडिएसले आफैँले भने खाता खोल्दैन। सिडिएसले अनुमति दिएका निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सकिन्छ। निक्षेप सदस्य भन्नाले सिडिएसबाट डिम्याट खाता खोल्न अनुमतिप्राप्त संस्था हुन्। बैंक, मर्चेन्ट बैंक, ब्रोकर कम्पनीजस्ता निक्षेप सदस्य संस्था हुन्। यी संस्थामार्फत डिम्याट खाता खोल्न सकिन्छ। 

सिडिएसको वेबसाइटमा गएर पनि अनुमतिपत्र लिएका संस्था कति छन् भन्ने जानकारी लिन सकिन्छ। हाल सिडिएसबाट अनुमति प्राप्त ६९ वटा निक्षेप सदस्यबाट डिम्याट खाता खोल्न सकिन्छ। अहिलेसम्म नेपालमा १४ लाख ४३ हजार भन्दा धेरै डिम्याट खाता खोलिएको छ। चार अर्ब चार करोड ८४ लाख ९३ हजारभन्दा धेरै कित्ता सेयर डिम्याट भैसकेका छन्। अझै केही सेयर प्रमाणपत्र डिम्याट हुन बाँकी नै छन्। डिम्याटको झन्झट र डिम्याटको प्रक्रिया तथा ज्ञानको अभावमा कयौंका सेयर प्रमाणपत्र घरमै थन्किएका छन्। कसरी डिम्याट गर्ने भन्ने थाहा नभएकाले पनि सेयर प्रमाण पत्र डिम्याट हुन नसकेको हो।

डिम्याट गर्ने तरिका

डिम्याट खाता खोल्नका लागि बैंक खाता भने आवश्यक हुन्छ। कम्पनीले दिने लाभांश बैंक खातामा जाने लगायतका कारण डिम्याट गुर्नपूर्व बैंक खाता आवश्यक हुन्छ। 

सेयरको कागजी प्रमाणपत्र छन् भने ती प्रमाण पत्र कागजीरुपमा निक्षेप गर्न सकिँदैन। अहिले कागजी प्रमाण पत्रका आधारमा सेयरको खरिद–बिक्री गर्न सकिँदैन। सेयरको खरिद–बिक्री गर्नका लागि डिम्याट खाता अनिवार्य छ। त्यसैले भौतिक रुपमा भएका सेयर प्रमाणपत्रलाई डिम्याट वा अभौतिकीकरण गर्नुपर्छ। सेयरको अभौतिकीकरण वा डिम्याट गर्नका लागि सिडिएसबाट अनुमति प्राप्त कुनै पनि निक्षेप सदस्य (बैंक, मर्चेन्ट वा ब्रोकर कम्पनी) मार्फत खाता खोल्नुपर्छ। 

डिम्याट खाता खोल्नका लागि एक प्रतिफोटो, नागरिकताको फोटोकपी आवश्यक पर्छ। नाबालकको डिम्याट खाता खोल्दा जन्मदर्ताको प्रमाण पत्र संरक्षकको नागरिकताको फोटोकपी चाहिन्छ। 

नयाँ डिम्याट खाता खोल्न ५० रुपैयाँ शुल्क लाग्छ। वार्षिक नवीकरण शुल्कसमेत एक सय रुपैयाँ तिर्नुपर्ने भएकाले सुरुमा डिम्याट खाता खोल्दा एक सय ५० रुपैयाँ शुल्क तिर्नुपर्छ। डिम्याट खाता खोलिसकेपछि बैंक खाता नं. जस्तै खाता नम्बर दिइन्छ। खाता नं. १६ अंकको हुन्छ, जसलाई बिनिफिसियल ओनर आइडी भनिन्छ। छोटकरीमा बिओआइडी पनि भनिन्छ। 

खाता खोलिसकेपछि आफ्नो खाता खोलिएको संस्थामा गएर फारम भरेर आफूसँग कागजीरुपमा भएका सेयर प्रमाणपत्र सम्बन्धित ठाउँमा (जहाँ आफ्नो डिम्याट खाता छ त्यहीँ) बुझाउनु पर्छ। त्यसपछि आफ्नो खातामा सेयर जम्मा हुन्छ। फारम भर्दा कम्पनीमा भएका विवरण मिल्नु पर्छ। नमिलेको खण्डमा पुनः झण्झट हुन्छ। पुनः सच्याउन सकिन्छ। सच्याउँदा शूल्क नलागे पनि समय र प िक्रयाले झण्झटिलो हुन सक्छ। 

खरिद–बिक्री पक्रिया

खाता खोलेपछि चेकबुक र खातानम्बर पाइन्छ। 

सेयर खरिद—बिक्री गर्दा बैंकमा चेकबाट पैसाको कारोबार गरेजस्तै चेकबाट सेयरको कारोबार गर्न सकिन्छ। सेयर बिक्री गर्दा बिक्रेताले चेक दिन्छ। खरिदकर्ताको खातामा सेयर ट्रान्सफर हुन्छ। ब्रोकरमार्फत कारोबार गरिन्छ। 

ब्रोकरकहाँ निवेदन दिनुपर्छ, सेयर खरिद गर्नका लागि। कति कित्ता, कुन कम्पनीकोे सेयर खरिद गर्ने हो अर्डर दिँदा खुलाउनु पर्छ। ब्रोकरलाई विक्रेताले पनि बेच्ने सेयरको बारेमा जानकारी दिएको हुन्छ। किन्ने र बेच्नेबीचको अनुकूलता मिलेपछि सेयरको खरिदबिक्री गर्न सकिन्छ। किन्ने–बेच्ने दुवै पक्षको डिम्याट खाता हुन्छ। किनिसकेपछि किन्नेको खातामा सेयर जम्मा हुन्छ भने बिक्री गर्नेको खातामा रकम जम्मा हुन्छ। सेयर बिक्री गर्नेले खाताबाट सेयर बिक्री गरेको रकम भुक्तानी गर्न सकिन्छ। 

सेकेण्डरी मार्केटमा कारोबार गर्ने तरिका

प्राइमरी मार्केटमा सेयर भर्दा प्रत्येक व्यक्तिको छुट्टै डिम्याट खाता हुनुपर्छ। एक व्यक्तिको खाताबाट अन्य व्यक्तिको नाममा सेयर भर्न सकिँदैन।

प्राइमरी मार्केटमा प्रवेश नगरी सिधँै दोस्रो बजारमा सेयरको कारोबार गर्न चाहने व्यक्ति वा संस्थालाई पनि डिम्याट खाता अनिवार्य छ। 

निक्षेप सदस्यकहाँ जम्मा भएको आफ्नो सेयर बेच्नुपरेमा सर्वप्रथम निक्षेप सदस्य वा डिम्याट खाता खोलेको संस्थामा गएर विक्रेताले डेबिट इन्ट्रक्सन स्लिप अर्थात् हस्तान्तरण निर्देशन पूर्जी भर्नुपर्छ। बिक्री गर्न चाहेको कम्पनीको नाम, सेयरको कित्ता र हस्ताक्षर गरेर निक्षप सदस्यले रुजु गर्नुपर्छ। रुजु भएपछि निक्षप सदस्यले लगानी कर्ताको आदेशबमोजिम ब्रोकर कम्पनीको बिक्री खातामा सेयर सारिदिन्छ र खरिद भएपछि ब्रोकरले सेयर खरिद गर्ने व्यक्तिका डिम्याट खातामा सेयर सारिदिन्छ।  अनलाइनमार्फत आफैँ पनि बिक्री भएको सेयर ट्रान्सफर गर्न सकिए पनि सो प्रभावकारी भने छैन। सबै ठाउँमा प्रविधिको अभाव, ज्ञानको अभावलगायतका कारणले प्रभावकारी नदेखिएको हो। 

कम छैनन् झन्झट 

सामान्य व्यक्तिलाई सेयरको डिम्याट गर्नु कम झण्झट छैन। डिम्याट गर्ने प्रक्रिया सबैका लागि सहज हुन्छ नै भन्ने छैन। समयको खर्च त्यतिकै हुन्छ भने डिम्याट गरेपछि के हुन्छ भन्ने ज्ञानको समेत अभावका कारण कयौँका सेयर प्रमाणपत्र घरमै थन्किएका छन्। डिम्याट खाता खोल्दा के फाइदा हुन्छ भन्ने अझै पनि कयौँलाई ज्ञानै छैन।  निक्षेप सदस्यकहाँ पुग्न नभ्याउने समस्या त छँदै छ वार्षिक नवीकरण गर्न पनि निक्षेप सदस्यकहाँ पुग्नुपर्ने भएकाले डिम्याट झण्झटिलो देखिएको छ। पुराना डाटाबेस भएका कारण पनि नयाँ–नयाँ प्रविधिको अभाव देखिन्छ। 

सबै ठाउँबाट डिम्याट गर्न सम्भव पनि छैन। अनलाइनमार्फत घरमै बसेर सजिलै डिम्याट खाता खोल्न पाउने सुविधा छैन। त्यसैले निक्षपकर्ताकहाँ धाउनै पर्ने बाध्यता छ। अनलाइन कारोबार प्रणालीको सुरुवात भए पनि कागजपत्र बोकेर डिम्याट खाता खोल्न बैंक तथा ब्रोकर कम्पनीमा धाउनै पर्छ। 

समाधान

नियामक निकायले डिम्याट खाता सहज तरिकाले खोल्न मिल्ने बनाउन जरुरी छ। प्रविधिको प्रयोग भरपुर गर्न नसकिएकाले प्रविधिको उपयोग गरेर पनि डिम्याट खाता खोल्न सहज बताउन आवश्यक छ। नेपालमा सजिलै डिम्याट खाता खोल्न सकिने व्यवस्था नभएकाले सजिलै डिम्याट खाता खोल्न सक्ने व्यवस्था गर्नु उपयुक्त देखिन्छ। अनलाइनबाट भुक्तानी गरी डिम्याट खाता नवीकरण गर्ने व्यवस्था गर्दा उपयुक्त हुन्छ।

धितोपत्र बजारको नियमन गर्ने निकाय हो, धितोपत्र बोर्ड। धितोपत्र बोर्डले सेयरको विद्युतीय कारोबार गर्नुपर्ने नियम ल्याएको हो। बोर्डको निर्णयसँगै सेयरको भौतिक कारोबार गर्न पाइँदैन। अहिले सेयरको कागजी कारोबार गर्न पाइँदैन न त अनलाइन कारोबार नै प्रभावकारी देखिन्छ। प्रमाणपत्र च्यातिने, हराउने, डढ्नेजस्ता समस्याबाट त डिम्याट गरेपछि बच्न सकिन्छ। 

तर, डिम्याटका केही झण्झटिला पाटाका कारण सबै डिम्याट गर्ने पहुँचमा पुगि नसकेको अवस्था छ। हुन त सेयरको डिम्याट गरेपछि भौतिकरुपमा कागजी प्रमाणपत्र बोकेर हिँड्न पर्दैन। सेयर किन्दा आफ्नो नाममा आउन महिनौँ लाग्थ्यो। बिस्तारै यस्तो बाध्यता हट्दैछ। अहिले सेयर खरिद गरेको केही दिनमै सेयर खातामा आउँछ। विक्रेताले पैसा पाउँछ। प्राथमिक सेयर भर्न लामो लाइन बस्नु पर्ने बाध्यता हटेको छ। अनलाइन डाटा सुरक्षित गर्नुपर्ने चुनौती आज पनि कम छैनन्। त्यसैले सेयरलाई सम्बन्धित निकायले व्यवस्थित गर्नु आवश्यक छ। 

(भट्टराईले उपेन्द्र खड्कासँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: २१ फाल्गुन २०७५ ०६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App