८ वैशाख २०८१ शनिबार
कला

किन टुट्यो आदर्श जोडी ?

हलिउड वृत्तमा सबैभन्दा चर्चित र स्थिर मानिन्थ्यो, अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको जोडी । मैनमूर्तिको संग्रहालय म्याडम तुसादले उनीहरूको स्थिर सम्बन्धको कदर गर्दै दुवैको संयुक्त मैनमूर्ति बनाएर त्यसलाई ‘ब्रान्जेलिना’ नाम दिएको थियो । तर, हालसालै जोलीले ब्राडसँग सम्बन्ध विच्छेद गरिपाऊँ भन्दै अदालतमा निवेदन हालेपछि म्याडम तुसादले ब्रान्जेलिनालाई छुटाएर ब्राड र जोलीको मैनमूर्तिलाई अलग गरिदिएको छ । यसबाट उनीहरूका फ्यान दुःखी त भएकै छन्, के कारणले ब्राड र एन्जेलिनाको वैवाहिक जीवन अन्त्य हुन पुग्यो भन्ने कौतूहल पनि उनीहरूमा छ ।

सन् २००४ मा फिल्म ‘मिस्टर एन्ड मिस स्मिथ’मा सँगै काम गर्दा उनीहरू एकअर्कासँग नजिकिएका थिए । त्यतिबेला ब्राड अभिनेत्री जेनिफर अनिस्टनका पति थिए । एन्जेलिना चाहिँ पति बिल्ली बब थर्नटनसँग सम्बन्ध विच्छेद  गरेर एकल जीवन बिताइरहेकी थिइन् । ‘मिस्टर एन्ड मिस स्मिथ’ बक्स अफिसमा ब्लकबस्टर साबित भयो । ब्राड र एन्जेलिनाको जीवनमा पनि यसले नयाँ उत्साह थपिदियो । दुवैले एकअर्कालाई प्रेमी–प्रेमिकाका रूपमा स्वीकार गरे । त्यत्तिकैमा ब्राडसँग जेनिफरले छोडपत्र गरिन् ।
त्यसयता उनीहरू १२ वर्ष सँगै रहे । सँगै बसे पनि उनीहरूले १० वर्षसम्म बिहे गरेका थिएनन् । दुई वर्षअघि मात्रै उनीहरूले औपचारिक रूपमै बिहे गरेका थिए । गत अगस्टको अन्त्यतिर उनीहरूले बिहेको दोस्रो वर्षगाँठ मनाएका थिए । बिहे भएको दुई वर्ष पूरा भएको केही साता पनि नबित्दै एन्जेलिनाले अदालतमा सम्बन्ध विच्छेदका निम्ति निवेदन दिइन् ।

निवेदनमा उनले ‘पुनः मिल्नै नसक्नेगरी आफूहरूबीच दूरी उत्पन्न भएको’ भन्दै सम्बन्ध विच्छेदका निम्ति आवश्यक प्रक्रिया अविलम्ब अघि बढाइपाऊँ भनेकी छिन् । आफ्ना सन्तानप्रति ब्राडको रवैया उपयुक्त नभएको महसुस आफूलाई भएपछि सम्बन्ध पुनः सुधारिने तहभन्दा निकै खराब भइसकेको निष्कर्ष आफूले निकालेको उनले उल्लेख गरेकी छिन् ।

उनका छजना सन्तान छन् । ती सबैलाई उनले ‘एडप्ट’ गरेकी हुन् । ‘सन्तानको लालनपालनका निम्ति ब्राडले जे गरे, त्यसले मलाई दुःखी बनायो । मैले उनीबाट अलग हुने निधो गरेँ । परिवारमा अमनचैन कायम गर्न यसो गर्न नितान्त आवश्यक थियो,’ निवेदनमा भनिएको छ । यद्यपि, उनको मन दुख्नेगरी ब्राडले आफ्ना धर्मसन्तानलाई के गरे भन्ने चाहिँ उनले खुलाएकी छैनन् ।

ब्राड पनि एन्जेलिनाका धर्मसन्तानलाई आफ्नै सन्तानसरह माया गर्थे । उनले पनि छोराछोरीलाई घुमाउन लैजाने गरेका थिए । एन्जेलिना धर्मसन्तान भनेपछि हुरुक्क हुने भइहालिन् । ब्राडलाई चाहिँ छोराछोरीलाई भन्दा पनि बढी आफूलाई एन्जेलिनाले ‘केयर’ गरिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । एउटा अन्तर्वार्तामा ब्राडले भनेका थिए, ‘कुनै दिन फुर्सद भयो भने एन्जेलिनाले छोराछोरीलाई बाहिर घुमाउने योजना बनाइहाल्थिन् । सन्तानलाई उनी सबैभन्दा बढी प्राथमिकता दिन्छिन् ।’

छोराछोरीले घरमा होहल्ला, झगडा गर्दा ब्राड कहिलेकाहीँ झनक्क रिसाउने गर्थे । सन्तानलाई कसरी हुर्काइरहनुभएको छ भनी एउटा अवसरमा प्रश्न गर्दा उनले भनेका थिए, ‘छोरीहरू स्वभावैले अनुशासित हुन्छन्, उनीहरूलाई केही गर्नैपर्दैन । छोराहरूलाई चाहिँ मैले कडा भएर अनुशासन सिकाउनुपर्छ ।’

अनुशासन सिकाउने नाममा ब्राड बेलाबेलामा धर्मपुत्रप्रति कडा हुन्थे । कुनै पनि बहानामा आफ्ना छोरासँग ब्राडले रुखो बोलेको, हप्कीदप्की गरेको एन्जेलिनालाई चित्त बुझ्दैनथ्यो । तर, ब्राडले उनकोे यो संवेदनशीलतालाई बुझेनन् र बेलामौकामा धर्मपुत्रप्रति कडा रवैया अपनाउने क्रमलाई जारी राखे । आफ्ना सन्तानप्रति ब्राडको रवैया नसुध्रिएको भन्दै उनले ‘छोराछोरीलाई हुर्काउने ब्राडको शैली’प्रति असन्तुष्टि व्यक्त गर्दै सम्बन्ध विच्छेदका निम्ति निवेदन दर्ता गरिन् ।

यो नै उनीहरू अलग हुने मुख्य कारण हो । अहिले उनीहरूले छोडपत्रपछि सम्पत्तिको बाँडफाँड गर्न आ–आफ्ना कानुन व्यवसायीलाई परिचालन गरेका छन् । ब्राडले पनि छोडपत्रको कुराले आफूलाई चिन्तित बनाए पनि त्योभन्दा बढ्ता चिन्ता आफूलाई छोराछोरीको भविष्यको भएको भन्दै आगामी जीवनका निम्ति आफूलाई मानसिक रूपमा तयार बनाइसकेका छन् ।

शुक्रबारबाट

प्रकाशित: २४ आश्विन २०७३ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App