खै पुनर्निर्माणमा मौलिकता ?

मङ्गलबार, २१ फागुन २०७५, ०९ : २८ नागरिक

लक्ष्मीनारायण पराजुली
भूकम्पपछिको पुनर्निर्माण कार्यमा परम्परागत शैलीका बलिया घर बनाएर हाम्रो मौलिकता जोगाउन  सकिन्थ्यो। तर, त्यसो नगरीकन गाउँ–गाउँमा पक्कीघर बनाउने लहर चलेको छ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–८, इर्खुका गोकर्णबहादुर खड्काको ढुंगा–माटोले बनेको घर २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पले ध्वस्त बनायो। सरकारले दिएको ३ लाख अनुदानमा आफूले अपुग रकम थपथाप गरी इँटा, बालुवा, सिमेन्ट र फलामको डन्डी प्रयोग गरी उनले एककोठे पक्कीघर बनाए। ढुंगा–माटोको पुरानो घरको साटो पक्कीघर ठडिएको छ उनको। चौतारा–८, इर्खुकै इन्दबहादुर गिरीले पनि सरकारी अनुदान रकम ३ लाखमा १० लाख रुपैयाँभन्दा बढी ऋणपान गरेर चारकोठे घर बनाएका छन्। ‘ढुंगा–माटोको भन्दा पक्कीघरै टिकाउ हुन्छ भनेर यस्तो घर बनाएको हुँ, प्रायःजसो छिमेकीले पुराना खालको घरभन्दा सिमेन्टको पक्कीघर नै बनाएका छन्,’ हालैको भेटमा उनले सुनाए।

 गोकर्ण र इन्द्र मात्र होइन, चौतारा–८ (साबिक इर्खु गाविस) का धेरैजसो परिवारले एककोठे नै किन नहोस्, सिमेन्टकै पक्कीघर बनाएका छन्। सरकारी तथ्यांकअनुसार इर्खुमा ९ सय ५६ भूकम्पपीडितले आफूलाई लाभग्राही सूचीमा सूचीकृत गराएका थिए। तीमध्ये ८ सय ८० घर निर्माण सम्पन्न भइसकेको छ। भूकम्पपछि स्थानीय बासिन्दाले पुनर्निर्माण सम्पन्न गरेकोमा खुसी हुनु स्वाभाविक पक्ष हो, तर, इर्खु, कर्थलीलगायत सिन्धुपाल्चोकका अधिकांश सुन्दर र मनमोहक गाउँहरू कंक्रिटको जंगलमा परिणत भएको भान हुन्छ। स्थलगत अध्ययनका क्रममा भूकम्प थेग्नसक्ने घर भन्नेबित्तिकै सिमेन्ट र डन्डीले मात्र बनाउनुपर्छ भन्ने बुझाइ गाउँलेमा रहेको एक स्थानीयले सुनाएका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न खालका भूकम्पप्रतिरोधी घरका मोडल सार्वजनिक गरे पनि ढुंगा–माटोले बनेका परम्परागत एवं मौलिक ढाँचाका भूकम्पप्रतिरोधी घर बनाउन अधिकांश गाउँले तत्पर रहेको पाइँदैन। यसको साटो सिमेन्टको पक्कीघर निर्माण नै उनीहरूको रोजाइमा पर्दै आएको छ।  

विनाशकारी भूकम्पले मुलुकका १४ जिल्लामा व्यापक जनधनको नोक्सानी पु¥याएको थियो। भूकम्पमा परी आठ हजारभन्दा बढी नेपालीले ज्यान गुमाएका थिए भने ९ लाखभन्दा बढी घर–भवन क्षतिग्रस्त भएका थिए। यसरी भूकम्पमा ध्वस्त भएका भवन–संरचनाबारे विश्लेषण गर्दा संरचना बनाउँदा प्रयोग गरिएका विधिमा त्रुटि रहेको स्पष्ट हुन्छ। यति मात्र होइन, भूकम्पभन्दा पहिले सबल घर कसरी बनाउने भन्ने पर्याप्त जानकारी नरहेको पनि हुन सक्छ। एउटा कुरा के बिर्सनु हुँदैन भने भूकम्पले खाली गाउँमा बनाइएका ढुंगा–माटोका घर मात्र भत्काएको छैन, सहरमा निर्माण गरिएका आधुनिक संरचना पनि ध्वस्त बनाएको छ। यस्तो लाग्छ कि हामीसँग भूकम्प प्रतिरोध गर्नसक्ने खालका मौलिक प्रविधि रहेनछन् त ? के हाम्रा पुर्खाले त्यसखालका प्रविधि विकास गर्न सकेका थिएनन् ?  वास्तविकता त्यस्तो होइन, हाम्रा पुर्खाले बनाएका संरचना कस्ता थिए भन्ने थाहा पाउन लिच्छवि तथा मल्लकालीन वास्तुकला एवं संरचना हेरे पुग्छ। त्यसबखत उपत्यका तथा मुलुकका विभिन्न भागमा निर्माण भएका दरबार र मन्दिर अझै पनि दुरुस्त अवस्थामा छन्।

 यसबाट स्पष्ट हुन्छ कि हामीसँग मौलिक ज्ञान नभएको होइन, केवल त्यसको हस्तान्तरण मात्र हुन नसकेको हो। अरनिको लिच्छविकालका प्रख्यात वास्तुविद् थिए। उनको प्रसिद्धि ल्हासासम्म पुगेको थियो भन्ने इतिहास हामी सबैले पढेकै हो। अरनिकोले बनाएको मन्दिरको वास्तुकला ल्हासामा अहिलेसम्म पनि जीवन्त रूपमा रहेको छ। हाम्रा पुर्खाहरूले भूकम्पको जोखिमबाट जोगिन घर, मन्दिर, दरबार, भवनलगायत संरचना मौलिक प्रविधि प्रयोग गरी कसरी निर्माण गरे भन्ने अहिले पनि हेर्न सकिन्छ।   टाढा जानुपर्दैन, उपत्यकाका दरबार र मठमन्दिर अवलोकन गरे पुग्छ। उदाहरणका लागि भक्तपुरका पचपन्नझ्याले दरबारलगायत संरचना हाम्रै आँखाअगाडि छन्। बिडम्वना के छ भने हामीमा ती प्रविधि हस्तान्तरण हुन सकेन। यो ठूलो कमजोरी हो। यसले गर्दा हामीले आफूसँग भएका भूकम्पप्रतिरोधी संरचना निर्माणसँग सम्बन्धित विज्ञानसम्मत मौलिक एवं परम्परागत प्रविधि आत्मसात् गर्न नसकेको अवस्था सिर्जना भएको छ।  

 पछिल्लो पुस्ताले पनि ती प्रविधिबारे चासो राखेको पाइँदैन। हामीकहाँ प्रचलित निर्माण प्रक्रियामा न आधुनिक प्रविधिलाई चुस्त रूपमा पालना गरेको पाइन्छ न पुरानो प्रविधि अपनाएको भेटिन्छ। हाम्रो सन्दर्भमा घर निर्माण गर्दा प्राविधिकभन्दा नातेदार तथा छिमेकीहरू नै जानिफकार हुन पुग्छन्। प्राविधिकको सल्लाह लिनुभन्दा पनि आफ्नै तौरतरीका अपनाइन्छ, जसले गर्दा जोखिमयुक्त संरचना निर्माण हुन पुगेका छन्। हुन त सबै प्राविधिकले आफ्नो व्यवसायिक धर्म पूर्ण रूपमा निभाएको पाइँदैन। भवन तथा संरचना निर्माणको अनुमति दिने सरकारी निकायले पनि नियम–कानुन अक्षरशः पालना गरेको पाइँदैन। पालना गर्नुपर्ने संहिता व्यवहारमा उतारेको खण्डमा बलिया संरचना बन्ने भएकाले जनधनको जोखिम न्यून हुने थियो।

नेपाल उच्च भूकम्पकीय जोखिम भएको देश हो भन्ने कुरा भूगर्भविद्हरूले बताउँदै आएका छन्। त्यसमा पनि करिब ५० लाख जनसंख्या भएको काठमाडौं उपत्यका विश्वमा प्रमुख भूकम्पीय जोखिम भएका सहरहरूमध्येमा पर्छ। नेपालको उत्पत्तिबारे भूगर्भविद्हरूको आफ्नै राय छ,  जसअनुसार नेपाल भन्ने देश भएको ठाउँमा हजारौं वर्ष पहिले टेथिस सागर रहेको थियो। घस्रने र ठोक्किने प्रक्रियाले  पृथ्वीको भूखण्ड उत्तरतर्फ जाँदा सागर विलय हुन गएर पर्वतीय शृंखला उत्पन्न भएको भन्ने कथन छ। दक्षिणको  भारतीय भूखण्ड र उत्तरको तिब्बतियन भूखण्डमा ठोक्किने र घुस्रने प्रक्रिया जारी रहेकाले यस क्षेत्रमा भूकम्प जाने प्रक्रिया चलिरहन्छ। यसले गर्दा भारत–चीन–नेपाल–पाकिस्तानलगायतको हिमालय क्षेत्र उच्च भूकम्पीय जोखिममा पर्छ। चीन र भारतको बीचमा रहेको नेपाल उच्च भूकम्पीय जोखिम रहेको मुलुकमा पर्दछ। तसर्थ, नेपालले साना–ठूला भूकम्पको झट्का व्यहोरिरहनुपरेको विज्ञहरूको धारणा छ।  

भूकम्पमा ध्वस्त भएका संरचना समयमै पुनर्निर्माण गरेर नागरिकको बास पाउनुपर्ने आधारभूत अधिकारलाई सुनिश्चित गर्नु सरकारको प्राथमिक दायित्व हो। त्यही भएर नेपाल सरकारले भूकम्पलगत्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेर भूकम्पप्रतिरोधी आवास निर्माण प्रक्रियालाई अगाडि बढाएको देखन्छ। यति हुँदाहुँदै पनि सरकारले तयार पारेको नक्साबमोजिम घर बनाउँदा विभिन्न त्रुटि देखिएका छन्। गाउँमा तालिमप्राप्त डकर्मी तथा प्राविधिकहरू अझै पर्याप्त हुन सकेका छैनन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट खटिएका कर्मचारीले पनि गोरखा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, काभ्रे, धादिङलगायत जिल्लामा निजी आवास निर्माण कार्यलाई अगाडि बढाउँदा त्यस्ता त्रुटि सुधार्ने पहल पनि भएका छन्। तर, निजी आवास निर्माण कार्यलाई अगाडि बढाउँदा स्थानीय ढुंगा–माटो, काठ आदि सामग्री प्रयोग गरेर गाउँघरमा मौलिक पारामा दरिलो घर कसरी बनाउने भन्नेतर्फ खासै ध्यान पुगेको देखिँदैन। त्यही भएर भूकम्पप्रभावित जिल्लाका गाउँहरूमा एककोठे भए पनि सिमेन्टकै घर बनाउने लहर बढेर गएको छ। यसले गर्दा भविष्यमा हाम्रो मौलिक कला, संस्कृति र परम्परा लोप भएर जाने निश्चित छ।  
यी पंक्तिहरू लेखिरहँदा म सिन्धुपाल्चोकलगायत भूकम्पप्रभावित जिल्लाका विभिन्न गाउँमा निर्माण भएका कंक्रिटका जंगल झलझली सम्झिरहेको छु।

भूकम्पप्रभावित परिवारका लागि निजी  आवास बनाउँदा पुनर्निर्माण कार्य यसरी अगाडि बढाइयोे कि हाम्रा मौलिकता नै मासिए। भूकम्पपछिको पुनर्निर्माण कार्यमा परम्परागत शैलीका बलिया घर बनाएर पक्कै पनि हाम्रो मौलिकता जोगाउन सकिन्थ्यो। तर, त्यसो नगरीकन गाउँ–गाउँमा पक्कीघर बनाउने लहर चल्यो। भावी पुस्ताले हाम्रा मौलिक सम्पदाबारे जिज्ञासा राखेमा के जवाफ दिने होला ? म अन्यमनस्क छु। के हामीले मौलिकता हराएकै पुनर्निर्माण खोजेको हो त ?  (कार्यकारी निर्देशक, आवास नेपाल)








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad