coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अलपत्र सडक, अस्तव्यस्त नगर

भैरहवा गाँउ र सिद्धार्थ राजमार्ग जोड्ने सडकको अवस्था। तस्बिर : मोहम्मद/नागरिक

भैरहवा - निर्माणाधीन सडकका कारण भैरहवा नगरक्षेत्र अस्तव्यस्त बनेको छ। सिद्धार्थनगर नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास योजनाअन्र्तगत भैरहवाका प्रायः सडक अहिले निर्माणाधीन अवस्थामा रहेकाले यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको हो।

निर्माणको ठेक्का पाएको चाइना ग्वान्जाओ शर्मा जेभीले काम सुरु गरेर अलपत्र अवस्थामा छाडेपछि अहिले भैरहवामा दुई दर्जनभन्दा बढी बाटोका प्रयोगकर्ता प्रभावित भएका छन्। एउटै ठेकेदार कम्पनीले एउटा बाटो बनाउन सुरु गरेर त्यो पूरा नहुँदै अर्काे थाल्ने गरेका कारण भैरहवाका अधिकांश सडक अधुरै छन्, निर्माण हुन सकेका छैनन्। क्षेत्रीय सहरी विकास योजनाअन्र्तगत भैरहवामा अहिले ढल, सडक निर्माण लगायतका काम तीव्र गतिमा हुनुपर्ने भए पनि त्यसो हुन सकेको छैन। भैरहवाका गल्लामण्डी, हाटबजार पथ, बैंककलोनी, भैरहवा गाउँ, गोनहिया जाने बाटो, रंगशाला पथ लगायतका मुख्य बाटा नै अहिले अलपत्र अवस्थामा छन्।

निर्माणाधीन योजनाबारे विस्तृत जानकारी दिन होर्डिङ बोर्ड राख्नुपर्ने प्रावधान छ। तर यहाँ यसको व्यवस्था पनि गरिएको छैन। जसका कारण स्थानीय मात्र हैन, अनुगमनमा जाने अधिकारीसमेत अन्योलमा पर्ने गरेका छन्। सबैले देख्ने स्थानमा होर्डिङ बोर्ड राखी योजनाको नाम, लागत, जन सहभागिता, योजना सुरु हुने तथा सम्पन्न हुने मिति, स्रोत लगायतको जानकारी राख्नुपर्ने हुन्छ। तर नगरमा यस्ता बोर्ड प्रायः योजनामा राखिएको देखिन्न। यसले गर्र्दा विकास निर्माणका काम कहिले सकिने लगायतका विषयमा पारदर्शीता नहुने स्थानीय बताउँछन्। स्थानीय विजय गोविन्द श्रेष्ठ भैरहवामा सञ्चालित कुनै पनि योजनाको विवरण सार्वजनिक नगर्दा लापरबाही बढेको आरोप लगाउँछन्। ‘सडक हिलाम्मे भएर हिँड्नै नसक्ने अवस्था हुँदा पनि न मेयर सा’ब वा जनप्रतिनिधिले चासो दिएका छन् न ठेकेदारकै ध्यान गएको छ,’ उनले भने।

ठेकेदार कम्पनी चाइना ग्वान्जाओ शर्मा जेभीले काम सुरु गरेर अलपत्र अवस्थामा छाडेपछि अहिले भैरहवामा दुई दर्जनभन्दा बढी सडक प्रयोगकर्ता सास्ती भोग्न बाध्य छन्।

नियमित प्रयोग भइरहेको पुरानो सडक भत्काएर स्तरोन्नति थालिए पनि समयमै पूरा नगर्दा दुर्घटना पनि बढेको स्थानीय बिक्की खान बताउँछन्। निर्माण कम्पनीले सडक बिगारेर समयमा मर्मत नगर्दा घरबाट बाहिर निस्कन पनि सोच्नुपर्ने अवस्था आएको उनको भनाइ छ। यता परियोजना कार्यान्वयन एकाइ भने क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत भैरहवामा सञ्चालित योजनाहरूको प्रगति ८० प्रतिशत भएको दाबी गर्छ। आयोजना प्रमुख शैलैन्द्र श्रेष्ठले काम सक्ने म्याद २०७६ पुस भए पनि असारभित्रै सकिने दाबी गरे। वर्षाका कारण काममा केही ढिलाइ भएको र हिलो नसुकेसम्म पुनः सडक निर्माण अघि बढाउन प्राविधिक रूपमा कठिनाइ पर्ने हुँदा नगरवासीलाई केही दिन दुःख भएको उनको भनाइ छ।

‘बाटो बलियो पार्न पनि केही दिन त्यत्तिकै छाड्नुपर्ने हुन्छ, यसले बाटोको कुन भाग कमजोर छ त्यो पत्ता लगाई सुधार्न सहयोग पुग्छ,’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘त्यसकारण भविष्यको सुख हेरी केही दिन दुःख सहन पनि नगरवासीमा अनुरोध गर्दछौं।’ यस्तै उनले अधिकांश योजनामा होर्डिङ बोर्ड राखिएको जिकिर गर्दै उनले बाँकी रहेका ठाउँमा पनि राखिने बताए। यसअघि सिद्धार्थनगर नगरपालिकामा १ अर्ब ७१ करोड रुपैयाँ बजेटको एकीकृत सहरी विकास आयोजना सम्पन्न भइसकेको छ। त्यसपछि पुनः अहिले २ अर्ब ३८ करोड रुपैयाँ लागतमा क्षेत्रीय सहरी विकास आयोजना सञ्चालन भइरहेको हो। यस आयोजनाअन्र्तगत विभिन्न ३५ योजना छन्। जसमा १२ किलोमिटर मुख्य ढल, २५ किलोमिटर नयाँ सडक र नाला तथा १० दशमलव ५ किलोमिटर पुरानो सडकमा फुटपाथ र ग्रिनरीको काम हुँदैछन्।

प्रकाशित: २१ फाल्गुन २०७५ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App