coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फिटनेस मात्र होइन खेलकुद पनि

ज्योति थापा

काठमाडौं – बितेका सात दशकमा नेपाली राजनीतिमा थुप्रै परिवर्तन भए। राणाकालीन शासन व्यवस्थादेखि पञ्चायत हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाल प्रवेश गरेको छ।  राजनीतिक परिवर्तनसँगै नेपाली समाजले पनि आफूलाई परिमार्जन गर्दै लगेको छ।

‘घरको चुलाचौकामा सीमित महिलाहरू बिस्तारै बाहिरी समाजमा खुल्न थालेका छन्। शारीरिक व्यायाम महिलाहरूका लागि पनि महत्वपूर्ण छ भन्ने जनचेतना बढेको छ,’ नेपाली खेलकुदमा नौलो विधा स्क्वाटकी खेलाडी रानीपौवा स्पोर्ट्स क्लब पोखराकी ज्योति थापाले भनिन्, ‘महिला सौन्दर्यसँग जोडिएकाले स्क्वाटलाई फिटनेससँगै खेलकुदको रूपमा पनि हेर्न आवश्यक छ।’

‘अन्य खेलमा लाग्दा पनि स्वस्थ हुन आवश्यक छ। समग्र जीवनकै लागि स्क्वाट उपयोगी भएको भन्दै ज्योतिले भनिन्, ‘यसले स्वस्थ रहन मद्दत गर्छ। यो एक व्यायाम  हो, तर जोकोहीले गर्छु भन्दैमा सक्ने होइन। यसका लागि राम्रो मिहिनेतका साथै स्वस्थ खानपिन र आराममा समेत ध्यान दिन आवश्यक छ।’

भारोत्तोलनजस्तै बल प्रयोग हुने अर्को खेल हो, स्क्वाट। स्क्वाट काँधमा भार राखेर उठबस गर्ने प्रतिस्पर्धा हो। यस खेल (व्यायाम) ले सम्पूर्ण शरीरलाई चलायमान बनाउँछ। अझै विशेष गरी कम्मरदेखि तलको भागमा बढी भार पर्छ। भारोत्तोलनमा स्न्याच र क्लिन एन्ड जर्क दुई स्पर्धामा प्रतिस्पर्धा हुन्छ। भारोत्तोलनजस्तै बल प्रयोग गरी भार उठाउने अन्य खेल हुन् स्क्वाट, डेडलिफ्ट र क्लिन्स।

स्क्वाट काँधमा भार राखेर उठबस गर्ने प्रतिस्पर्धा हो। यस खेलले सम्पूर्ण शरीरलाई चलायमान बनाउँछ। अझै विशेष गरी कम्मरदेखि तलको भागमा बढी भार पर्छ।

आधिकारिक रूपमा यसले खेलको मान्यता नपाए पनि विगत ३ वर्षदेखि अन्तरक्लब महिला स्वाटका प्रतिस्पर्धात्मक प्रतियोगिता भइरहेका छन्। जसको सुरुआत गरेका थिए, ज्यास्मिन फिटनेस सेन्टरका निरोज लामाले। प्रतियोगिताको चौथो संस्करण महिला दिवसको अवसरमा फागुन २२ र २३ गते राजधानीमा हुने लामाले जानकारी गराएका छन्।

‘महिला सशक्तीकरणका लागि के गर्न सकिन्छ भनेर सोचिरहेका थियौं। अन्तर्राष्ट्रिय महिला दिवसको दिन अन्य कार्यक्रमभन्दा फरक देखाउन सकिने यो प्रतियोगिता गर्न उचित हुन्छ भनेर हामीले स्क्वाट प्रतियोगिता सुरु गरेका हौं,’ लामाले भने, ‘शारीरिक व्यायाम पुरुषलाई मात्र नभई महिलाहरूका लागि पनि उत्तिकै महत्वपूर्ण छ भन्ने उद्देश्यका साथ यो कार्यक्रमको सुरुआत गरिएको हो।’

त्यस्तै काठमाडौं फिटनेस चुच्चेपाटीकी योजना भट्टराईले स्क्वाट खेलले महिलालाई पनि आफूलाई प्रमाणित गर्ने अवसर प्रदान गर्ने भएकाले यस खेलतर्फ आकर्षित भएको बताइन्। योजना स्क्वाट खेललाई महिलाको सौन्दर्यको रूपमा मात्र हेर्नु भन्दा पनि उनीहरूको क्षमता प्रमाणित गर्ने माध्यमका रूपमा हेर्नुपर्ने बताउँछिन्।

‘यस प्रतियोगिताले महिला पनि पुरुषभन्दा कमजोर छैनन् भन्ने सन्देश दिन्छ,’ योजनाले भनिन्, ‘महिला सौन्दर्यमा उनीहरूको प्रतिभा र बाहिरी सौन्दर्यलाई महत्व दिइन्छ तर स्क्वाटले महिलाको क्षमता प्रमाणित गर्छ।’

२०१६ मा पहिलो पटक प्रतियोगिता गर्दा राजधानीका झन्डै ४५  महिलाले सहभागिता जनाएका थिए भने दोस्र्रो संस्करणमा ७० महिला खेलाडीको सहभागिता थियो। तेस्रो संस्करणमा झन्डै सयभन्दा बढी महिलाको सहभागिता रह्यो। यस पटक देशभरका विभिन्न क्लबहरूबाट झन्डै २ सयको हाराहारीमा सहभागिता रहने लामाको विश्वास छ। डिभाइन फिजिकल फिटनेस सेन्टरबाट प्रतिस्पर्धा गर्ने तयारीमा रहेकी सुजिता मानन्धरले यो सहभागिता प्रतियोगितामा आफ्नो पहिलो भएकाले निकै उत्साही भएको बताइन्।

‘ज्यास्मिन फिटनेसले पहिलो पटक स्क्वाट प्रतियोगिताको सुरुआत गर्दा मैले आयोजकका रूपमा काम गरेको थिएँ,’ सुजिताले भनिन्, ‘त्यसैले म सहभागिताभन्दा पनि प्रतियोगिता कसरी सफल पार्न सकिन्छ भनेर लागि परें।’

‘प्रतियोगितामा सहभागी हुने मेरो पहिल्यैदेखि रहर थियो,’ सुजिताले भनिन्,‘शारीरिक व्यायाम पुरुषहरूका लागि जति महत्वपूर्ण छ, महिलाहरूका लागि पनि त्यति नै महत्वपूर्ण छ। यो प्रतियोगिताले महिला पनि पुरुषहरूजस्तै पावर लिफ्टिङमा पनि सक्षम छन् भन्ने उदाहरण प्रमाणित गर्छ।

योजना भट्टराई

प्रतियोगितामा सहभागीले ६० केजीमुनि तौलसमूह र ६० केजीमाथि तौलसमूह गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको पहिलो चरण (प्रि–जज) फागुन २२ गते त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरस्थित ज्यास्मिन फिटनेस सेन्टरमा हुनेछ भने फाइनल चरण २३ गते ललितपुरको लाबिम मलमा हुनेछ।

यस पटकबाट प्रतियोगीहरूले पहिलो चरणबाटै आफूले चाहेको तौल उठाउन सक्नेछन्। दुवै चरणमा सहभागी खेलाडीले तीन पटक अवसर प्राप्त गर्नेछन्। त्यसमध्ये क्वालिफायर चरणबाट अन्तिम चरण प्रवेश गर्न कम्तीमा दुई पटक तौल उठाउनुपर्नेछ। फाइनल चरणमा जसले धेरै तौल उचाल्यो उसले जित्नेछ। दुवै विधाका विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।

गत वर्ष ६० केजीभन्दा माथि तौलसमूहकी उपविजेता उमा महर्जनले स्क्वाट खेल पावर लिफ्टिङसँग जोडिएकाले यस खेललाई सौन्दर्यसँग मात्र जोडेर हेर्न नहुने बताइन्।

‘म यो खेलमा लागेको २ वर्ष भयो,’ उमाले भनिन्, ‘फिटनेस पनि खेलकुद हो। जुन समग्र स्वास्थ्यसँग जोडिएको छ।’
महिलालाई खेलमा लाग्न कठिन हुने  ६० केजीमुनि गत वर्ष उपविजेता रहेकी  अरुणा बस्नेतको ठम्याइ छ। अझ विवाहित महिलालाई खेलमा लाग्नु पारिवारिक र सामाजिक कारण पनि कठिन हुने अरुणा बताउँछिन्।

‘सधैं पुरुष मात्र पनि समाजको रोल मोडल हुँदैनन्,’ अरुणाले भनिन्, ‘म आफूलाई कमजोर ठानेर बसेका महिला साथीहरूलाई आफुलाई रोल मोडलका रूपमा लिँदै थप आत्मविश्वासी बन्न आग्रह गर्न चाहन्छु।’

प्रकाशित: २१ फाल्गुन २०७५ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App