८ वैशाख २०८१ शनिबार
अर्थ

बारीमै सड्यो काउली र बन्दा

बारीमै सडेको काउलीसँगै किसान चौधरी। तस्बिर : योगेश/नागरिक

टीकापुर – लम्कीचुहा नगरपालिका–२, गणेशपुरका किसान लौटन चौधरीको काउली खेतीमा मात्रै तीन लाख रुपैयाँ लगानी डुबेको छ। उनले एक बिघा क्षेत्रफलमा काउली खेती गरेका छन्।

बजारमा काउली बिक्री हुन नसकेपछि किसान चौधरी निकै तनावमा छन। उनको बारीमा काउली सड्न थालेको छ। कतिपय बोट हलक्क बढेर तोरी फूले झैं फूलेका छन।

उनले गत वर्ष १० कट्ठामा मात्रै काउली खेती गरेका थिए। यस वर्ष बजार पाउने आसमा १० कट्ठा थपेर एक बिघा क्षेत्रफलमा काउली खेती गरे। धेरै आम्दानी गर्ने आसमा उनको उल्टै लगानी समेत डुबेको छ।

उनले आफ्नो उत्पादन बजारमा पुर्‍याउने प्रयास गरेका थिए। उनले लम्की, बौनियाँ, मुडा, चिसापानी लगायत साना बजारमा रहेका खुद्रा व्यापारीलाई आफ्नो काउली खरिद गरिदिन आग्रह गरेका थिए। तर, तरकारी बजार पूर्ण रुपमा दलालको नियन्त्रणमा रहेकाले उनको प्रयास सफल हुन सकेन। उनले दलाललाई छलेर आफ्नो उत्पादन खुद्रा व्यापारी कहाँ पुर्‍याउन सकेनन्। ‘बजारमा दलालको दबदबा छ,’ उनले भने, ‘हामीसँग व्यापारीले सोझै किन्न डराउँछन।’

दलालले नेपाली बजारमा भारतीय तरकारी मात्रै बेच्ने गरेका छन। भारतीय तरकारी नेपालीको तुलनामा सस्तो छ। जसबाट दलालले राम्रो आम्दानी गर्न सक्छन्। उनीहरुले आम्दानीको लोभमा भारतीय तरकारीलाई प्राथमिकता दिने गरेका छन्, जसका कारण नेपाली किसानले उत्पादन गरेको तरकारी बारीमै सड्ने बाध्यता हरेक वर्ष दोहोरिने गरेको छ।

खुद्रा व्यापारी दलालको नियन्त्रणमा रहनुका धेरै कारण छन। त्यसमध्ये आवश्यकता अनुसार उधारो, हरेक किसिमका तरकारीको उपलब्धता, गाह्रो अप्ठेरो पर्दा सरसहयोग लगायत छन्। यसले गर्दा खुद्रा व्यापारी दलालको नियन्त्रणबाहिर जान नसकेको किसान चौधरीको बुझाइ छ। ‘दलालले व्यापारीलाई आवश्यक पर्दा जस्तोसुकै सहयोग गर्ने रहेछन्,’ उनले भने, ‘हामी त्यो सहयोग गर्न सक्दैनौं। अनि व्यापारीले हाम्रो तरकारी बेच्दैन।’

काउली खेतीमा गरेको लगानी समेत डुबेपछि किसान चौधरी यतिबेला तरकारी खेतीलाई निरन्तरता दिन नसकिने निष्कर्षमा पुगेका छन। उनले तरकारी खेती गर्न थालेको धेरै वर्ष भयो। उनी विभिन्न जातका तरकारी उत्पादन गर्दै आएका छन।

यो वर्ष कम्तीमा २५ रुपैयाँ प्रतिकेजी काउली बिक्री गर्न सकेको भए लगानी असुल हुन्थ्यो। तर उनले पाँच रुपैयाँ किलोमा बेच्न खोज्दा समेत सम्भव नभएको दुःखेसो पोखे। उनले पछिल्लो समय हरेक वर्ष तरकारी खेतीमा नोक्सानी बेहोर्दै आएको सुनाए। ‘बितेको वर्षको लगानी आगामी वर्ष असुल्ने आसमा हरेक वर्ष लगानी डुबाउँदै छु,’ उनले भने, ‘तरकारी खेतीबाट कहिल्यै थोरै भए पनि सन्तुष्टि मिल्ने गरी आम्दानी भएन।’

सरकारले कृषि उत्पादनमा जोड दिइरहेको छ। देशभर थुप्रै किसान तरकारी खेतीतर्फ आकर्षित भएका छन्। सरकारले तरकारी उत्पादकलाई विभिन्न सहुलियत घोषणा समेत गर्दैै आएको छ। तर किसान चौधरीले सरकारले उपलब्ध गराउने कुनै पनि सुविधाबाट लाभान्वित हुन नसकेको बताए। उनले अहिलेसम्म आफ्नै लगानीमा तरकारी खेती गर्दै आएको बताए।

उनले किसानका समस्या बुझिदिने कोही नभएको दुःखेसो पोखे। उनका अनुसार न त सरकारले नै बुझेको छ न त व्यापारीले नै। उनी सबैले बढीभन्दा बढी आम्दानी मात्रै खोजेकाले पनि समस्या भइरहेको बताउँछन्।

‘सबैलाई कमाउनु पर्छ भन्ने मात्रै छ,’ उनले भने, ‘किसानको मर्का बुझेर थोरै सहयोग गरिदिने कोही छैन।’
सरकारले जग्गा बाँझो राख्नेलाई कानुनी कारवाही गर्ने व्यवस्था लागू गर्दैछ। यसको उद्देश्य सबैजसो जमिन उत्पादनसँग जोडिनुपर्छ भन्ने हो। तर, सरकार कृषि उत्पादनको बजारीकरणमा भने उदासीन छ। उसले भारतबाट भित्रिने तरकारी रोक्न सकेको छैन। दलालको नियन्त्रणमा रहेको तरकारी बजारलाई किसानको पहुँचसम्म पुर्‍याउन प्रयास समेत गरेको छैन। जसका कारण किसानले उत्पादन गरेको कृषि उत्पादन बर्सेनि बारीमै सड्ने समस्या छ।

प्रकाशित: २१ फाल्गुन २०७५ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App