coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रसुवाबाट ३६ हजार पर्यटक

नेपाल आएका चिनियाँ पर्यटक आपूmले ल्याएको सामान जाँच गराउँदै। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – रसुवागढी नाका हुँदै नेपाल आउने चिनियाँ पर्यटक बढेका छन्। सडक मार्ग हुँदै नेपाल आउने चिनियाँ पर्यटकको रोजाइमा रसुवागढी परेको हो। अन्य नाका सञ्चालनमा नआएका कारण यो नाकाबाट पर्यटक आउने क्रम बर्सेनि बढ्दै गएको छ।

सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि सन् २०१६ देखि चिनियाँ पर्यटक यो नाका हुँदै आउन थालेका हुन्। त्यसयता यो नाका हुँदै ३६ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएका रसुवागढी अध्यागमन कार्यालय रसुवाको तथ्यांक छ। यो रसुवागढी नाका हुँदै नेपाल आउने पर्यटकको करिब ७० प्रतिशत हो।

सन् २०१६ देखि २०१९ फेब्रुअरी अन्तिमसम्मको तथ्यांकअनुसार रसुवागढी नाकाबाट ५३ हजार ९९ पर्यटक नेपाल आउँदा ३६ हजार ६ सय १३ चिनियाँ पर्यटक आएका छन्। सन् २०१६ मा चार हजार नौ सय ६१, सन् २०१७ मा १७ हजार ६ सय २०, सन् २०१८ मा १२ हजार आठ सय ११ र सन् २०१९ को दुई महिनामा एक हजार दुई सय ८२ चिनियाँ पर्यटक आएका रसुवागढी अध्यागमन कार्यालय रसुवाले जनाएको छ।

यही अवधिमा १६ हजार चार सय ८६ तेस्रो देशका पर्यटक आएका कार्यालयको तथ्यांक छ। सडक मार्गबाट नेपाल भित्रनेमध्ये ७० प्रतिशत चिनियाँ पर्यटकले ओगटेका अध्यागमन अधिकृत विष्णु घर्तीले बताए। ‘रसुवागढी नाकाबाट चिनियाँ पर्यटक आउने क्रम बढेको छ,’ उनले भने, ‘नेपालतर्फ भौतिक पूर्वाधार र प्रविधि प्रयोग हुन नसक्दा केही समस्या छ।’

नेपाल आउँदा भिसा शुल्क नलाग्ने, अन्तर्राष्ट्रिय नाका भएको, जलविद्युत् आयोजनामा चिनियाँ कामदार रहेका कारण चिनियाँ पर्यटक बढी संख्यामा आएका हुन्,’ उनले थपे। चिनियाँ पर्यटकलाई मध्यनजर गर्दै डिजिटल डिस्प्ले बोर्ड सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ। आएका पर्यटकलाई तातोचिसो पानीको व्यवस्था मिलाइएको छ भने निःशुल्क वाइफाइको व्यवस्थासमेत छ।

भिसाका लागि अनलाइन फर्म (पर्यटक भिसा) भर्ने व्यवस्था मिलाइएको उनले बताए।  विभागको वेभसाइटमा गएर फर्म भर्न सकिन्छ। उक्त फारमले १५ दिनसम्म मात्र काम गर्ने भएकाले फर्म धेरै चाँडै भर्न नहुने उनको भनाइ छ। अध्यागमन अधिकृतले कागजात छानबिन गरी नेपालमा प्रवेश दिन उपयुक्त देखेमा पर्यटक भिसा जारी गर्नेछन्। कार्यालयले केआइओएसके मेसिन जडान भएपछि पर्यटकलाई फारम भर्न सजिलो भएको छ।

रसुवागढी अध्यागमन कार्यालयले विश्वका १२ वटा देशलाई अन–अराइभल भिसा उपलब्ध गराउँदैन। सरकारी र कूटनीतिक राहदानीबाहक बाहेक नायजेरिया, घाना, जिम्बाबे, स्विजरल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाटै अग्रिम भिसा लिई आउनुपर्छ।

प्रकाशित: २१ फाल्गुन २०७५ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App