८ वैशाख २०८१ शनिबार
समाज

अव्यवस्थाले भक्तजनलार्इ सास्ती

काठमाडौं - भक्तपुर कमलविनायककी सिर्जना बस्नेत बेलैमा पशुपतिनाथको दर्शन गरेर घर फर्किने मनशायले सोमबार बिहान ३ बजे नै पशुपतिनाथको मन्दिर परिसर पुगेर लाइन लागिन्। लाइन खुकुलो नै भएकाले चाँडै दर्शन गर्न पाइनेमा उनी ढुक्क थिइन्। तर पशुपतिनाथ मन्दिरको मूलढोकामा पुग्दा १ बजिसकेको थियो। पशुपतिनाथको दक्षिणी ढोकाबाट दर्शन गर्न भन्दै तिलगंगा–पिंगलास्थानतिरको लाइनमा बसेकी बस्नेतले नौदस घन्टासम्म सास्ती बेहोर्नुप¥यो। उसै त अव्यवस्थित लाइन, त्यसमाथि बीचबीचमा थेग्नै नसकिनेगरी मान्छे पस्दा लाइन ढिलो सरेको उनले बताइन्। ‘छिट्टै पालो पाइएला भनेर बिहानै गएकी थिएँ, फर्कने बेला ३ बज्यो,’ नागरिकर्मीसँग उनले भनिन्, ‘गत वर्ष त निकै सजिलो भएजस्तो लागेको थियो, यसपालि ज्यादै भद्रगोल भयो।’

तीनकुनेकी कमला आचार्यले पनि लामो समय लाइनमा उभिएपछि मात्रै दर्शन गर्ने मौका पाएको गुनासो गरिन्। ‘यसपालि कोष (पशुपति क्षेत्र विकास कोष) ले तयारी राम्ररी नगरेकाले निकै दुःख पाइयो,’ उनले सुनाइन्, ‘दर्शन गरेर फर्कने र बाहिरिने बाटोसमेत थिएन, ठेलमठेल गरेर जेनतेन बाहिर निस्किएँ।’

शिवरात्रीको अवसरमा सोमबार पशुपतिनाथ दर्शन गर्न पुगेका लाखौं भक्तजनले यस्तै समस्या झेले। पशुपति क्षेत्र विकास कोषले डोरी टाँगेर लाइन व्यवस्थित गराउन नसक्दा लाइनमा उभिएका भक्तजनले निकै सास्ती खेप्नुपरेको थियो। चिनजानका मान्छेलाई लाइन नबसीकनै भित्र पस्न दिइएका कारण लाममा बसेका भक्तजन मारमा परेका थिए। लाइन अव्यवस्थित नबन्नुको अर्को कारण भत्केको सडक पनि थियो।

कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले पनि विभिन्न कारणले यसपालिको शिवरात्री भद्रगोल बन्न पुगेको स्वीकार गरे। ‘हामीले सक्दो सहज बनाउने कोसिस गरेका थियौं तर भक्तजनको संख्या ह्वात्तै बढ्यो। भित्री सडकको मर्मत कार्य भइरहेकाले पनि समस्या आएको थियो। यी र यस्तै कारणले प्रयास गर्दागर्दै पनि लाइन अव्यवस्थित हुन गई भद्रगोल बन्नपुग्यो,’ उनले भने। लाइन व्यवस्थापनमा कमजोरी देखिएकै कारण जताततै भद्रगोल बन्न पुगेको गुनासो भक्तजनको थियो। ‘प्रहरी र स्काउटबाट खटिनेहरूले अनावश्यक रूपमा भक्तजनलाई हप्काउँथे तर उनीहरू नै आफ्ना मान्छेलाई सीधै भित्र पस्न दिन्थे,’ सोमबार पशुपतिनाथमा भेटिएका सन्तोष शर्माले भने, ‘बढी कडाइ गर्न खोजिँदा लाइनमा बसेर दर्शन गर्नेहरूले पाउनुसम्म दुःख पाए।’

यो वर्षको शिवरात्रीमा देशविदेशका गरी नौ लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेको कोषले जनाएको छ। पशुपतिनाथमा बिहान ३ बजेदेखि नै भक्तजनको बाक्लो उपस्थिति थियो। गत वर्ष पनि नौ लाखकै हाराहारीमा भक्तजनको उपस्थिति थियो। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले यो वर्ष भारतीय भक्तजनको संख्या बढेको जानकारी दिए। उनले पशुपतिनाथलाई श्रद्धा र दर्शन गर्न भारतबाहेक अन्य देशबाट भक्तजन आएको बताए। ‘यो वर्ष भारतीय भक्तजनको संख्या पनि बढी देखियो,’ उनले भने, ‘यसबाहेक मलेसिया, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, बेलायत, अमेरिकालगायतका देशबाट पनि भक्तजन आएका थिए।’

कोषले शिवरात्रीकै तयारी तथा मेला आयोजना गर्दा ५४ लाख बजेट विनियोजन गरेको थियो। भक्तजनका लागि पशुपतिनाथका तीनवटा ढोका बिहान ४ बजेदेखि खुलाइएका थिए। सुरक्षा व्यवस्थापनका लागि सात हजारभन्दा सुरक्षाकर्मी परिचालन गरिएको थियो। महानगरीय प्रहरी प्रभाग गौशालाका इन्सपेक्टर सुनिलजंग शाहले शिवरात्री अवधिभर कुनै अप्रिय घटना नभएको जानकारी दिए। उनले बाहिरपट्टि भक्तजनको बढी भीड लागेकाले सवारी आवागमनमा रोक लगाइएको बताए। ‘गत वर्षको तुलनामा केही गाह्रो भएकै हो, भीड व्यवस्थापन गर्न प्रहरीलाई पनि हम्मेहम्मे परेको थियो,’ उनले भने। दर्शनार्थीकै लागि पशुपति परिसरभित्र ३० भन्दा बढी ठाउँमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको थियो। ठाउँठाउँमा भोजन, स्वास्थ्य शिविर तथा हेल्प डेक्स पनि राखिएका थिए। परिसरमा रौनियार महिला समूहले भक्तजनका लागि भोजनको समेत व्यवस्था गरेको थियो।

भक्तजनका लागि बत्तीसपुतली, गौशाला हुँदै आउने दर्शनार्थीका लागि गौशाला–पिंगलास्थान, चार शिवालय पञ्चदेवल हुँदै दक्षिणी ढोकाबाट मन्दिर प्रांगण प्रवेशको व्यवस्था मिलाइएको थियो। तर यी क्षेत्रबाट लाइन लागेका भक्तजनले निकै सास्ती खेपेका थिए। कोटेश्वर, एयरपोर्टतर्फबाट आउने दर्शनार्थीका लागि तिलगंगा–पिंगलास्थान हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेशको प्रबन्ध थियो। गुह्येश्वरी हुँदै आउने दर्शनार्थीका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–बासुकीनाग हँुदै उत्तरढोकाबाट मन्दिर प्रवेशको व्यवस्था गरिएको थियो। पशुपतिनाथ मन्दिरका पुजारी केदारमान भण्डारीले यो वर्ष विगतका वर्षहरूका तुलनामा अलि भद्रगोल भएको प्रतिक्रिया दिए। उनले साधुसन्त र अन्य भक्तजनको संख्या बढी भए पनि कोषले आफ्नो व्यवस्थापनलाई चुस्त बनाउन नसकिएको जानकारी दिए। ‘गत वर्ष अलि व्यवस्थित थियो, यो वर्ष थाम्नै नसकिने गरी भद्रगोल भयो,’ उनले भने, ‘सामान्य व्यवस्थापनको कामलाई चासो नदिँदा अलि भद्रगोल भएको हो।’

साधुसन्तको बिदाइ बुधबार
महाशिवरात्रि मनाउन पशुपतिनाथ आएका साधुसन्तको बिदाइ बुधबार गरिने भएको छ। कोष तथा गुठी संस्थानबाट साधुलाई टीका र दक्षिणा दिएर बिदाइ गरिनेछ। शिवरात्रि मनाउन भारत, श्रीलंका, बंगलादेशलगायत देशबाट ५५ सयभन्दा बढी साधुसन्त आएको अनुमान गरिएको छ। साधुसन्तलाई पशुपतिनाथ मन्दिरको छेवछाउ राख्ने व्यवस्था मिलाइएको छ। ‘यो वर्ष साधुसन्तको संख्या पनि अलि बढेको छ,’ कोषका कार्यकारी निर्देशक उप्रेतीले भने, ‘साधुसन्तलाई कसरी बिदाई गर्ने भन्ने विषयमा मंगलबारको छलफलपछि मात्र टुंगो लाग्छ।’

प्रकाशित: २१ फाल्गुन २०७५ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App