८ वैशाख २०८१ शनिबार
राजनीति

पक्राउ आदेश पर्खंदै सुरक्षा निकाय

काठमाडौं - मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन्। ललितपुरको बम विस्फोटपछि आलोचित सुरक्षा संयन्त्रले आफ्ना जासुस परिचालन गरी विप्लवलगायत सो दलका अन्य नेता रहेका स्थानबारे सूचना संकलन गरेको छ। सुरक्षा निकाय संकलित सूचना प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा बुझाएर पक्राउ आदेशको पर्खाइमा छ। ‘माथिल्ला तहका नेताहरु कहाँकहाँ छन् भनेर हामीले दैनिक सूचना बुझाएका छौं, पक्राउ गर्न आदेश आयो भने हामी तयारीमा छौं’, उच्च सुरक्षा स्रोतले भन्यो।

स्रोतका अनुसार विप्लव समूहका प्रायः सबै नेता देशका विभिन्न भागमा घुमिरहेका छन्। उनीहरु भारत जाँदै आउँदै गरेको पनि स्रोतले जनाएको छ। देशव्यापी रुपमा संगठन निर्माण र आवश्यक रणनीति तयार गर्न विप्लव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, अनिल शर्मा, हेमन्तप्रकाश ओली र उमा भुजेलको भने भेटघाट भइरहने सुरक्षा स्रोतको दाबी छ।

देशव्यापी रुपमा संगठन निर्माण र आवश्यक रणनीति तयार गर्न विप्लव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, अनिल शर्मा, हेमन्तप्रकाश ओली र उमा भुजेलको भने भेटघाट भइरहने सुरक्षा स्रोतको दाबी छ।

ललितपुर बमकाण्डपछि सुरक्षा निकायले केन्द्रीय तहका सबै नेताहरुको निगरानी गरिरहेको छ। गृह मन्त्रालयले यसै साता पश्चिम क्षेत्रलाई लक्षित गरी सुरक्षा बैठक गर्दैछ। २१ र २२ गते धनगढी, २३ र २४ गते सुर्खेत र २५ र २६ गते बुटवलमा सुरक्षा बैठक आयोजना हुँदैछ। तर प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालयबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोण स्पष्ट भएको छैन। सो सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, शान्तिसुरक्षा महाशाखाका प्रमुख रामकृष्ण सुवेदी, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख सहभागी हुँदैछन्।

प्रहरीले पुरानो मुद्दामा फरार रहेका कारण विप्लवलाई निगरानीमा राख्दै आएको छ। निर्वाचनको समयमा विभिन्न ठाउँमा आक्रामक देखिएको र बम विस्फोट भएको घटनालाई लिएर प्रहरीले विप्लवलाई मस्ट वान्टेड सूचीमा राखेको थियो। सरकारले प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ताटोली गठन गरेपछि सूचीबाट हटाइएको थियो। ललितपुर बम काण्डपछि भने प्रहरीले यी सबै घटनामा उनलाई जोडेर निगरानी गरिरहेको छ। गत वर्ष प्रहरी प्रधान कार्यालयले देशभर सर्कुलर जारी गरी विप्लवलाई जहाँ भेट्यो त्यहीं पक्राउ गर्न आदेश दिएको थियो। प्रहरीले अदालतको आदेशका आधारमा सर्कुलर जारी गरेको हो। जिल्ला अदालत भोजपुरले ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको कसुरमा विप्ललाई पक्राउ पुर्जी जारी गरेको थियो। गत वर्ष १० मंसिरमा विप्लवलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश भएको थियो। प्रहरीले उनलाई पक्राउ गर्न नसकेका कारण फरार सूचीमा राखेको थियो।

सुरक्षा निकायको उच्च स्रोतले १९ गते नेत्रविक्रम चन्द र खड्गबहादुर विश्वकर्मा मकवानपुरमा भएको जानकारी दिएको छ। १८ गते अर्घाखाँचीबाट विप्लव र रुपन्देहीबाट विश्वकर्मा मकवानपुर आएका हुन्। ‘विप्लव र धर्मेन्द्र बास्तोला अर्घाखाँचीमा थिए। बास्तोलाचाहिँ पश्चिमतिर लागे, विप्लव र विश्वकर्मा मकवानपुर आइपुगेका हुन्’, स्रोतले भन्यो। स्रोतका अनुसार फागुन १२ गते विप्लव काठमाडौं–नुवाकोट आसपास आएका थिए भने विश्वकर्मा काठमाडौं–सिन्धुपाल्चोक आसपासमा देखिएका थिए। त्यस्तै पदम राई भक्तपुर–काभ्रे आसपासमा देखिएका थिए। उमा भुजेल निरन्तर रामेछाप, ओखलढुङ्गा, सिन्धुली, महोत्तरीमा देखिएको सुरक्षा स्रोतको दाबी छ। अर्का केन्द्रीय सदस्य अनिल शर्मा चितवन, काठमाडौं आउजाउ गरिरहेको पनि स्रोतले जनाएको छ। स्रोतका अनुसार विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीको देशव्यापीरुपमा अधिवेशन हुन थालेका छन्। सुरक्षा निकायले विप्लव निकट युवा संघ र विद्यार्थी संगठनको अधिवेशनका सबै रिपोर्ट प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा बुझाएका छन्। देशका विभिन्न भागमा बम पड्किएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागले आफ्ना सूचना संयन्त्र प्रयोग गरेर विप्लव समूहका गतिविधिलाई निगरानीमा राखेका छन्। यसअघि पक्राउ परेका विश्वकर्मा, भुजेल, मोहन कार्कीलगायतलाई वार्ताका नाममा सरकारले छाडिदिएको थियो।

नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीले विप्लवका गतिविधिबारे प्रहरी जानकार रहेको बताए। उनले संविधान प्रदत्त अधिकारअनुसार कार्यक्रम सञ्चालनमा अवरोध नभएको बताए। ‘आपराधिक गतिविधिमा संलग्न भएकाको खोजी भइरहेको छ। को कहाँ कसरी संलग्न भएका हुन्, प्रहरीले पहिचान गरेकाले उनीहरुको खोजीमा लागेका छौं’, सुवेदीले भने। उनले कानुनविपरीत गतिविधि गर्नेलाई कानुनले नछाड्ने बताए। ‘विप्लव वा अन्य नेता भनेर हामीले कसैलाई टार्गेट गरेका छैनौं। ललितपुर बम विस्फोट र अन्य घटनामा संलग्न रहेकाहरु मध्ये केहीलाई पक्राउ गरिएको छ। उनीहरुको बयान हेर्दैछौं। त्यसैअनुसार कसलाई कुन मुद्दा लगाउने भन्ने निर्धारण हुन्छ’, सुवेदीले भने। उनका अनुसार प्रहरीले विप्लवलाई पुरानो घटनाका सन्दर्भमा पनि खोजी गरिरहेको छ।

पाण्डे नेतृत्वको वार्ताटोलीले सरकारलाई बुझाएको प्रतिवेदनमा विप्लव समूह राजनीतिक भएकाले समस्याको समाधान राजनीतिक तहबाट गर्नुपर्ने उल्लेख छ। तर सो समूहको पछिल्लो गतिविधिले सरकारलाई अप्ठ्यारोमा पारेको छ। प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई यसबारे कुनै पनि निर्दैशन दिएको छैन। ‘मन्त्रिपरिषद् बैठकमा विप्लव समूहबारे के गर्ने भन्ने विषयमा कुरा उठ्छ तर निर्णय केही पनि हुँदैन। त्यसकारण गृह मन्त्रालयले पनि कुनै ठोस नीति लिन सकेको छैन’, मन्त्रालयसम्बद्ध स्रोतले भन्यो। फागुन १० गते ललितपुर बमकाण्डमा सिमप्रसाद गुरुङको मृत्यु भएपछि सरकार विप्लव समूहप्रति आक्रामक हुने आकलन गरिएको थियो। तर सो घटनामा संलग्न कुनै पनि व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छैन। सो समूहका युवा फाँटका सदस्य एवं विप्लवका पूर्व अंगरक्षक सूर्य भुजेललाई पक्राउ गरिएको भए पनि उनको संलग्नताबारे प्रहरीले कुनै जानकारी दिएको छैन। ‘काठमाडौं र अन्य स्थानबाट करिब ४० जना पक्राउ परेका छन्। उनीहरुसँग आवश्यक बयान लिने कार्य जारी छ। केहीलाई हाजिर जमानीमा पनि छाडिएको छ। घटनामा संलग्न हुनेहरुलाई प्रहरीले खोजतलास गरिरहेको छ’, प्रहरी प्रवक्ता सुवेदीले भने।

प्रकाशित: २१ फाल्गुन २०७५ ०१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App