coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘ग्यास अभाव हुँदैन’

काठमाडौं – उद्योगहरुमा पर्याप्त खाना पकाउने ग्यास स्टक रहेकाले बजारमा अभाव नहुने नेपाल आयल निगम र ग्यास उद्योगीले बताएका छन्। ती निकायले हल्लाका पछि नलाग्न उपभोक्तालाई आग्रह पनि गरेका छन्।

कमिसन वृद्धिलगायत १० बुँदे माग राखेर ग्यास उद्योगीले शुक्रबारबाट ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) नउठाएपछि ग्यास अभाव हुन सक्ने आशंकामा उपभोक्ताले खाली सिलिन्डर भर्न थालेपछि उद्योगी र निगमले यस्तो आग्रह गरेका हुन्।

दैनिक आपूर्ति सामान्य अवसथामा जस्तै दैनिक एक लाख ग्यास सिलिन्डर

सामान्य अवस्थामा जस्तै अहिले पनि दैनिक एक लाख सिलिन्डर ग्यास बजारमा पठाइरहेकाले अभाव नहुने निगम र उद्योगीले स्पष्ट पारेका हुन्। शुक्रबारदेखि पिडिओ नउठाए पनि पुरानो पिडिओको आधारमा सोमबार पनि ग्यास बुलेटले इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी, मथुरा, हल्दियालगायत रिफाइनरीबाट ग्यास लोड गरेको निगमले जनाएको छ।

नियमित रुपमा भारतबाट ग्यास आयात भइरहेकाले बजारमा अभाव नहुने आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। ‘हल्लाका पछि लागेर उपभोक्ताले सबै खाली सिलिन्डर भर्न थालेपछि केही समस्या देखिन थालेको हो,’ गोइतले भने, ‘पर्याप्त स्टक रहेकाले बजारमा ग्यासको अभाव हुँदैन।’

ग्यास उद्योगीका समस्या समाधान गर्न समिति बनिसकेकाले समस्या सुल्झिने गोइतले बताए। निगमले ग्यास उद्योगीका मागबारे अध्ययन गर्न निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहको संयोजकत्वमा एक समिति गठन भएको छ। समितिलाई प्रतिवेदन पेस गर्न २१ दिनको समय दिइएको छ। ‘उद्योगीको माग अनुसार समिति गठन भएको छ,’ गोइतले भने, ‘मंगलबार उद्योगीलाई वार्तामा बोलाएका छौं।’ उद्योगीको माग अनुसार समिति गठन गरेकाले आन्दोलनका कार्यक्रम फिर्ता हुनेमा विश्वस्त रहेको गोइतले बताए।

आन्दोलन सुरु भए पनि नियमित रुपमा ग्यास बजारमा पठाइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।

दैनिक एक लाख सिलिन्डर बजारमा गइरहेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए। ‘उद्योगहरुसँग पर्याप्त ग्यास स्टक रहेकाले बजारमा अभाव हुँदैन,’ भण्डारीले भने, ‘बुधबारसम्म भारतबाट नियमित जस्तै ग्यास लोड हुन्छ।’

फेब्रुअरीमा मात्र ३५ हजार सात सय टन ग्यास भारतबाट आयात भएको थियो। संघका अनुसार ३५ हजार टन ग्यासको करिब २४ लाख ६४ हजार सात सय ८८ सिलिन्डर हुन्छ। उक्त ग्यास बजारमा जाने भएकाले तत्काल अभाव नहुने संघले जनाएको छ।
आन्दोलनका कार्यक्रम अनुसार पनि अझै १० दिन दैनिक एक लाख सिलिन्डर ग्यास बजारमा जाने भण्डारीले बताए। ‘फागुन ३० बाट मात्र बजारमा ग्यास पठाउन रोक्ने भनेका हौंं,’ भण्डारीले भने, ‘त्यसअघि नै मागको सुनुवाइ हुन्छ भन्ने अपेक्षमा छौं।’ निगमले समिति बनाउनु सकारात्मक भए पनि भुलभुलैयामा राख्ने हो कि भनेर सशंकित भएको भण्डारीले बताए।

आइओसीबाट मासिक ३० देखि ४० हजार टन ग्यास आयात हुन्छ। भारतबाट दैनिक करिब ८० देखि ८५ वटा बुलेटले यहाँका ५६ ग्यास बोटलिङ उद्योगको लागि ग्यास ढुवानी गर्दै आएका छन्। शुक्रबारबाट पिडिओ नलिए पनि बुधबारसम्म यसअघि लिएको पिडिओको आधारमा भारतबाट ग्यास लोडिङ गर्ने उद्योगीले जनाएका छन्।

उपभोक्ताको भान्सामा प्रयोग हुने अत्यावश्यक वस्तु ग्यासमा आन्दोलन गरेको भन्दै ग्यास उद्योगीको आलोचना भएको छ। उद्योगीले भने आन्दोलनबाट दबाब दिएर कमिसन बढाउन खोजेका हुन्।

६ वर्षयता कमिसन नबढेकाले उद्योग चलाउन भएकाले आन्दोलन गर्नुपरेको उद्योगीले बताउँदै आएका छन्। उद्योगले यथार्थ सञ्चालन खर्च नपाएको उनीहरुको भनाइ छ। ग्यासको आयातदेखि रिफिलिङ, बजार व्यवस्थापनमा लाग्ने खर्च निकै बढेको संघको जिकिर छ। कमिसन वृद्धिसहित एउटै बिक्री मूल्य कायम गर्नुपर्ने, ग्यासको मासिक कोटा ६–६ महिनामा निर्धारण गर्ने नीति अनुरुप प्रमाणीकरण भएका सिलिन्डरको आधारमा तत्काल कोटा थप गर्नुपर्ने माग संघले राखेको छ। तराईका केही उद्योगका लागि फरक बिक्री मूल्य कायम गरिएको छ।

खाना पकाउने ग्यासको खपत वार्षिक १७ प्रतिशतका दरले बढिरहेकाले यसको प्रयोगमा अपनाउनुपर्ने सुरक्षाबारे चनचेतना कार्यक्रम सञ्चालन गर्न, सिलिन्डर तथा ग्यास दुर्घटना हुँदा सिर्जित समस्याबाट उद्योगीहरुले करोडौं बिमा गर्दा पनि असहज परिस्थिति उत्पन्न हुने गरेको भन्दै उद्योगीले बिमासम्बन्धी नीति तत्काल कानुनमै व्यवस्था गर्न माग गरेका छन्।

प्रकाशित: २१ फाल्गुन २०७५ ००:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App