६ वैशाख २०८१ बिहीबार
राजनीति

देउवा–सिटौलाबीच चुलिँदो खटपट

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच खटपट सुरु भएको छ।

पार्टीको १३ औं महाधिवेशनमा सभापति देउवालाई समर्थन गरेका नेता सिटौला पछिल्लो समय देउवाविरुद्ध उभिएका छन्। १३ औं महाधिवेशनपछि छुट्टै गुट सञ्चालन गरेर तेस्रो धार भएको सिटौलाले बताउँदै आएका छन्। 

पार्टीको महासमिति बैठकले गरेको निर्णय केन्द्रीय समिति बैठकबाट परिमार्जनसहित पारित गर्दा सभापति समूहले बहुमतको बलमा पेलेर निर्णय गरेको भन्दै सिटौलाले आपत्ति जनाउँदै आएका छन्। पछिल्लो समय सभापति देउवा आफ्ना आलोचकप्रति निकै अक्रामक बनेका छन्।

उनी सार्वजनिक कार्यक्रममा नेता डा.शेखर कोइरालाविरुद्ध खनिएका थिए। उनले कोइरालालाई अनुशासनको कारवाही गर्ने चेतावनीसमेत दिएका थिए। कोइरालालाई अनुशासन कारवाही गर्ने चेतावनी दिएका देउवाले सिटौला समूहका केन्द्रीय सदस्यलाई पनि आफ्नो आलोचना नगर्न पटकपटक भन्दै आएका छन्।

सिटौला समूहका पाँच केन्द्रीय सदस्यमध्ये चार देउवाले नै मनोनीत गरेका हुन्। १३औं महाधिवेशनमा सभापतिमा पराजित सिटौला, महामन्त्रीमा पराजित गगन थापा, कोषध्यक्षमा पराजित उमाकान्त चौधरी र शिवप्रसाद हुमागाईंलाई देउवाले केन्द्रीय समितिमा मनोनीत गरेका हुन्। सिटौला समूहका केन्द्रीय सदस्य प्रदीप पौडेल भने निर्वाचित हुन्। पार्टीभित्र आफ्नो आलोचना बढेपछि देउवाले १४ फागुनमा बसेको केन्द्रीय समिति बैठकमा अनुशासन समिति गठनको प्रस्ताव राखेका थिए।

अनुशासन समिति पनि बहुमतले बनाउन खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता सिटौलालगायतले बहिष्कार गर्ने चेतावनी दिएपछि बैठक स्थगित भएको थियो। बहुमतबाट  समिति गठन गर्न तम्सिएका देउवा सिटौलासँगको ‘वान टु वान’ वार्तापछि पछि हटेका थिए। देउवासँग सिटौलाले पार्टी सुधारका लागि पनि सहमति आवश्यक रहेको बताएका थिए। ‘अहिले गुटभन्दा पनि पार्टी बनाउन लागौं। यो तरिकाबाट कम्युनिस्ट सत्ताविरुद्ध लड्न सकिन्न’, सिटौलाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पछि महाधिवेशनमा को कहाँबाट लड्छ त्यो फरक कुरा हो।’ नेता सिटौलाले सभापति देउवालाई पार्टी कार्यकर्तासामु राक्षसी प्रवृत्ति नदेखाउन चेतावनी दिए।

‘यो समूहले आफूलाई स्थापित गर्न पनि आक्रामक कार्यनीति अपनाएको देखिन्छ। सिटौलाजीसँगको दूरी कुनै कार्यगत योजनाभन्दा पनि भावनात्क अपेक्षाका कारण बढेको जस्तो देखिन्छ’, सभापतिनिकट केन्द्रीय सदस्य एनपी साउदले भने, ‘नेताहरू एकै ठाउँमा आउनुपर्छ। उहाँका लागि सभापतिजीको जहिल्यै पनि सदाशयता रहन्छ। सिटौलाजीले समायोजनकारी भूमिका खेल्नुभयो भने त्यो पार्टीका लागि उपलब्धिमूलक हुन्छ।’ 

‘कार्यकर्तालाई चाकडी र गुलामी प्रवृत्ति देखाउन हुन्न। तपाईंको प्रशंसा मात्र गर्न कार्यकर्ताहरू दास हैनन्’, सभापतिको कार्यकक्षमा सिटौलाले भने, ‘कार्यकर्तामा राक्षसी प्रवृत्ति नदेखाउनुहोस्।’ कार्यकर्तालाई स्वाभिमानी बनाउन सिटौलाले सभापतिलाई आग्रह गरे। ‘डर र कायरताबाट कार्यकर्ताको मनोबल गिर्छ’, सिटौलाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीलाई बलियो बनाउन कार्यकर्तालाई दास हैन आत्मविश्वासी बनाउनुपर्छ।’ 

नेता सिटौलाले आफूले पार्टीका आन्तरिक विषय बाहिर ल्याउन नचाएको र सभापतिले दम्भ देखाए बाहिर ल्याउने पनि चेतावनी दिएका थिए। ‘तपाईं सुध्रनुहुन्छ कि भनेर एकपटक समर्थन गरेको हुँ। गणतन्त्र घोषणापछि ज्ञानेन्द्रलाई नारायणहिटीबाट निकाल्न जाने मान्छु हुँ म, तपाईंजस्तो ज्ञानेन्द्रलाई दाम चढाएर सत्तामा जान होइन’, सिटौलाले भने, ‘अहिले तपाईं पेल्न खोज्ने? यो कुरा म बाहिर गएर मञ्चमा बोलौं?’  सिटौलाले गुटको नभई विचार सिद्धान्तको राजनीति गर्न देउवालाई सुझाएका थिए। 

सिटौलाको धम्कीपछि सभापति देउवा हच्किएका थिए। उनले परामर्शका लागि भन्दै केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरे। उनले अहिलेसम्म शीर्ष नेतासँग छलफल नगरेको स्रोतको दाबी छ। देउवा अहिले जिल्ला भ्रमणमै व्यस्त छन्। अहिले पार्टीभित्र संवादहीनताको अवस्था रहेको असन्तुष्ट पक्षका नेताहरूको आरोप छ। 

संस्थापन समूहका नेताहरूले भने देउवा र सिटौलाको सम्बन्ध महाधिवेशनपछि क्रमशः बिग्रँदै गएको बताएका छन्। सिटौलालाई समेट्दासमेट्दै आफैँ टाढिएको उनीहरूको आरोप छ। ‘महाधिवेशमा भएको कार्यगत एकता अहिलेको अवस्थामा छैन। उहाँहरू रामचन्द्रजीसँग कार्यगत एकता गर्न पुग्नुभयो’, देउवानिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘तर महासमिति बैठक सफल पार्न देउवा र सिटौला नरम बनेपछि उहाँ कड्किनुभएको थियो।

सिटौलाजीहरू महासमिति असफल होस् भन्ने पक्षमा हुनुहुन्थ्यो। पछि नेविसंघको विषयमा पनि सभापति र वरिष्ठ नेता एक ठाउँ भएपछि कृष्णप्रसादजीहरूले बैठकमा निरन्तर विमति राखिरहनुभएको छ।’ महाधिवेशनपछि आफूलाई तेस्रो धारको दाबी गर्दै आएको सिटौला समूहले स्थापित हुन पनि आक्रामक भएको देउवा समूहको आरोप छ।

‘यो समूहले आफूलाई स्थापित गर्न पनि आक्रामक कार्यनीति अपनाएको देखिन्छ। सिटौलाजीसँगको दूरी कुनै कार्यगत योजनाभन्दा पनि भावनात्क अपेक्षाका कारण बढेको जस्तो देखिन्छ’, सभापतिनिकट केन्द्रीय सदस्य एनपी साउदले भने, ‘नेताहरू एकै ठाउँमा आउनुपर्छ। उहाँका लागि सभापतिजीको जहिल्यै पनि सदाशयता रहन्छ। सिटौलाजीले समायोजनकारी भूमिका खेल्नुभयो भने त्यो पार्टीका लागि उपलब्धिमूलक हुन्छ।’ 

महाधिवेशनबाट जितेको नेतृतवलाई सहयोग गर्नु सबैको कर्तव्य भएको साउदको भनाइ छ। ‘निर्वाचनमा सघाएर मात्र आफ्नो दायित्व पूरा हुँदैन’, उनले भने, ‘जुन एजेण्डामा जितेको हो, त्यो एजेण्डा कार्यान्वयनमा सबैको सहयोग आवश्यक पर्छ भने जितेको मान्छेले हारेकालाई पनि समेट्नु दायित्व हो।’

प्रकाशित: २० फाल्गुन २०७५ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App