coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

किन बढ्दै छ इन्डो प्यासिफिकसम्बद्ध राष्ट्रको नेपाल भ्रमण ?

काठमाडाैं - सरकारले नेपाल इन्डो–प्यासिफिक रणनीतिमा सहभागी नभएको बताउँदै गर्दा गत मंगलबार अमेरिकी रक्षा सहाकमन्त्री जोसेफ फेल्टर नेपाल आएका थिए। उनी अमेरिकाको दक्षिणपूर्वी एसिया मामिलासम्बन्धी उपसहायक पनि हुन्। नेपाल भ्रमणमा रहेका फेल्टरले गत मंगलबार नेपालले चिनियाँ ऋण लिँदा सजग हुनुपर्ने र इन्डो प्यासिफिक नेपालको हितमा रहेको बताएका थिए। तर, नेपालले इन्डो प्यासिफकमा सहभागी नभएको बताउँदै गर्दा फेल्टरको अभिव्यक्तिले सरकारको भनाइमाथि प्रश्न उब्जाएको छ। यसअघि नेपाल भ्रमणमा आएका फेल्टरले चीन–नेपाल सम्बन्धबारे खुलेर अभिव्यक्ति दिएसँगै धेरै प्रश्न उब्जिएको हो। उनले चिनियाँ लगानी नेपालको हितअनुकूल हुनुपर्ने बताएका थिए।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ यानछीले टाढाको देशले नेपाल–चीन सम्बन्धबारे बोल्नु उपर्युक्त नहुने बताएकी थिइन्। उनको उक्त भनाइ अमेरिकी सहायक रक्षामन्त्री फेल्टरको अभिव्यक्तिलक्षित थियो। नेपालका विषयमा चीन–अमेरिकाबीच यो किसिमको कटाक्ष यसअघि सायदै भएको थियो। अन्तर्राष्ट्रिय सम्बन्धमा सबै देशको आआफ्नै स्वार्थ हुने बताउँछन् नेपाली सेनाका पूर्वजनरल हिमालय थापा। अमेरिका र चीन पनि आफ्नो स्वार्थ सम्बद्र्धन गर्न अघि बढेकाले नेपाल अरूको विषयमा भन्दा आफ्नै देशको स्वार्थमा केन्द्रित हुनुपर्ने थापा बताउँछन्।

‘नेपालललाई सहयोग गर्ने विषयमा अमेरिका र चीन दुवै देश सकारात्मक छन्,’ थापा भन्छन्, ‘राजनीतिक तहमा हुने कुरालाई कूटनीतिक स्तरबाटै समाधान गर्नुपर्छ।’ नेपालको परराष्ट्रनीतिमा नै सबैसँग मित्रता र कसैसँगको बहिर्भाव नराख्ने नीति भएकाले सबैलाई समान हिसाबमा हेर्नुपर्ने उनको बुझाइ छ। ‘सैन्य हिसाबमा नेपालको सम्बन्ध दुवै छिमेकी देश चीन र भारतसँगै अमेरिकासँग पनि राम्रो छ,’ पूर्वजनरल थापा भन्छन्, ‘अब आर्थिक विकासका लागि पनि चीन–भारतसँगै अमेरिकासँग पनि राम्रो सम्बन्ध स्थापना गर्न केन्द्रित हुनुपर्छ।’

नेपालसँग दौत्य सम्बन्ध स्थापना भएको अमेरिका दोस्रो राष्ट्र हो। नेपाल र अमेरिकाबीच विसं २००४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। चीनले सन् २०१३ मा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सुरु गर्ने बताएसँगै अमेरिका चीनसँग संशकित रहेको बताइन्छ। सन् २०१७ मा चिनियाँ राष्ट्रपति सि चिनफिङको महत्वकांक्षी योजनामा नेपाल पनि सहभागी हुने बताएसँगै विश्वको ध्यान नेपालतर्फ केन्दित भएको थियो। तत्कालीन समयमा नेपालमा भारतको नाकाबन्दीको दुष्प्रभाव कायमै रहेको अवस्थामा नेपालले बीआरआईमा सहभागी हुने निर्णय गरेको थियो। नाकाबन्दीपछि नेपालसँग बिग्रिएको सम्बन्धका कारण नेपालको आन्तरिक राजनीतिमा भारत पछि परेको निष्कर्षसहित अमेरिकाले नेपालसँग १७ वर्षपछि उच्चस्तरीय भेटघाटको पहल गरेको पूर्वराजदूत राजेश्वर आचार्य बताउँछन्। नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओबीच गत पुस ३ गते भएको भेटघाटपछि नेपाल इन्डो प्यासफिक रणनीतिमा सहभागी भएको चर्चा चलेको थिए। यो विषयमा मंसिर २९ गतेदेखि पुस १३ गतेसम्म चलेको सत्तारुढ नेकपाको स्थायी समितिको बैठकमा पनि प्रश्न उब्जिएको थियो।

परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणको केही समयपछि अर्थात् पुस २६ गते अमेरिकी इन्डो प्यासफिक कमान्डर एड्मेरल फिलिपले नेपाल भ्रमण गरेका थिए। त्यसअघि पुस २५ गते जापानी विदेशमन्त्री तारो कानो पनि नेपाल आएका थिए। फिलिप र कानो दुवैको नेपाल भ्रमणलाई इन्डो प्यासिफिक रणनीतिमा नेपालको सहभागिताको निश्चितताका रूपमा अर्थ्याइएको छ।

यस्तै हालै भएको अमेरिकी सहायक रक्षामन्त्री फेल्टरले भ्रमणका क्रममा चीनको नाम नै किटेर नेपालले बीआरआई परियोजनाका लागि चिनियाँ ऋण लिनुपूर्व सोच्नुपर्ने बताए। यस्तै उनले इन्डो–प्यासिफिक नेपालको हितमा रहेको पनि सो अवसरमा बताएका थिए। चीनले अघि सारेको बीआरआईप्रति संशकित रहेको बताइरहेका बेला अमेरिकाले नेपाललाई चीन घेर्ने रणनीतिको आधारभूमि बनाउन सक्ने विश्लेषणबीच उनको भनाइलाई थप रहस्याका रूपमा हेर्न थालिएको छ।

 

प्रकाशित: २० फाल्गुन २०७५ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App