डडेलधुरा –सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये ८७ वटामा आमा सुरक्षा कार्यक्रमको रकम छैन।
आइतबार डडेलधुरा सदरमुकाममा सञ्चालित नगरपालिका, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजकलाई पूर्ण खोप दिगोपनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य निर्देशनालयले सुदूरपश्चिम प्रदेशका बर्थिङ सेन्टरमा आमा सुरक्षा कार्यक्रमको रकम अपुग भएको जानकारी दिइयो।
स्वास्थ्य संस्थामा चार पटक गर्भवती जाँच गरेपछि सुत्केरी हुँदा सरकारले दिने गरेको छ। तर, उक्त अपुग भएकाले सुत्केरी आमाले पाउन सकेका छैनन्। सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये ८७ वटामा कात्तिकयता रकम अभाव भएको स्वास्थ्य निर्देशनालय डोटीका जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए। अनुमानित रुपमा मात्र रकम छुट्याइने भएकाले कात्तिक, मंसिर महिनामै रकम सकिएको उनले बताए।
डडेलधुराको अमरगढी नगरपालिकासँग मात्रै आमा सुरक्षा कार्यक्रमको रकम छ। उनले भने, ‘अमरगढी नगरपालिकामा दुई वटा मात्रै बर्थिङ सेन्टर भएकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गतको रकम जगेडा छ। सदरमुकाम डडेलधुरामा साविकको उपक्षेत्रीय अस्पताल हालको डडेलधुरा अस्पताल रहेकाले अधिकांश सुत्केरी अस्पतालमै हुन्छन्। अस्पताल भएको र नगरपालिकामा दुई वटा मात्रै बर्थिङ सेन्टर भएकाले अमरगढीसँग मात्रै रकम बाँकी रहन गएको हो।
स्थानीय तहले अनुमानका भरमा आमा सुरक्षा कार्यक्रमका लागि बजेट विनियोजन गर्दा पहिलो तथा दोस्रो चौमिक नसकिँदै रकम सकिने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थी बताउँछन्। स्थानीय तहहरुले निर्णय गरी आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरी आमाहरुले पाउन बाँकी रकम र चालु आर्थिक वर्षका लागि पर्याप्त रकम राख्न सक्ने उनले बताए। ‘वर्षमा कति कतिजना आमा बन्छन् भन्ने आकलन गर्न सहज हुँदैन’, स्वास्थ्य निर्देशक डा.अवस्थीले भने, ‘यसले पनि रकम अपुग भएको हो ।’
यद्यपि कुन स्थानीय तहमा कहिलेदेखि रकम अभाव भएको भन्ने जिल्ला स्वास्थ्य कार्यालय डडेलधुरा तथा स्वास्थ्य निर्देशनालय डोटीसँग पनि तथ्यांक छैन।
स्थानिय तहसँग सबै तथ्यांक भए पनि जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी गराउन बाँकी रहेको भागेश्वर गाउपालिका स्वास्थ्य संयोजक मानबहादुर साहुले बताए। भागेश्वर गाउँपालिकामा मंसिरयता सुत्केरी भएका आमाले आमा सुरक्षाकार्यक्रमअन्तर्गत पाउने भत्ता पाउन सकेका छैनन्।
प्रकाशित: २० फाल्गुन २०७५ ०८:२३ सोमबार