८ वैशाख २०८१ शनिबार
खेल

मोरङलाई रोक्दै एपिएफ क्वार्टरफाइनलमा

दमक – मोरङ ११ लाई १–० ले पराजित गर्दै सशस्त्र प्रहरीको एपिपएफ क्लब आइतबार झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेलको पहलो हाफ गोलरहित बराबरी भएको थियो।   खेलको ५४औं मिनेटमा एपिएफ अग्रता लिन सफल भयो। मोरङका गोलरक्षक किशोर गिरी अगाडि बढेको समयमा रमेश दंगालको हेडरमा हरि कार्कीले फ्लिक गर्दा बलले पोस्टको दिशा लिएको थियो। सोही गोल नै एपिएफको जितमा निर्णायक बन्यो।

यसअघि खेलको २४औं मिनेटमा एपिएफका प्रवीन स्याङतानको कडा प्रहार मोरङका गोलरक्षक गिरीले पन्च गरेर फर्काए। ६६औं मिनेटमा मोरङका खेलाडीले डी एरियाबाट गरेको प्रहार एपिएफका खेलाडीले बचाए।

एपिएफले मोरङका तीन खेलाडी काठमाडौंका अन्य क्लबमा अनुबन्धित भएको भन्दै अपिल गरेपछि २३ मिनेट खेल रोकिएको थियो। मोरङले अन्य क्लबको रिलिज पेपर देखाउन नसक्दा खेल रोकिएको हो। तर, एपिएफलाई माथिल्लो निकायबाट खेल्न निर्देशन दिएपछि खेल पुनः सुचारु भएको थियो। खेलपछि एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले फिफाको नियमानुसार मोरङका खेलाडीविरुद्ध अपिल गरेकाले केही समय खेल रोकिएको बताए। उनले निरन्तर खेल्नुपर्दा मोरङसँग कठिन जित निस्किएको बताए।
पराजित टोलीका प्रशिक्षक सञ्जीव बुढाथोकीले मानसिक रूपमा दबाब दिँदै खेलाडीमा विवाद झिकेर प्रेसरमा खेल्दा पराजित हुनुपरेको बताए। उनले मोरङको टिम कलेक्सन भएकाले पनि तालमेल नमिलेर हार बेहोर्नुपरेको स्वीकार गरे।

खेलको म्यान अफ दी म्याच विजेता टोली एपिएफका हरि कार्की भए। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाए। सोमबारको खेल मगमग झापा ११ र हङकङ नेप्लिज एकेडेमीबीच हुनेछ।  प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैया नगद पाउनेछन्। प्रतियोगिताको फाइनल फागुन २७ गते हुनेछ।

प्रकाशित: २० फाल्गुन २०७५ ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App