७ वैशाख २०८१ शुक्रबार
विचार

नेपाली संस्कृति र राष्ट्रियता

हाम्रो देश नेपाल र हामी नेपाली भनी कहिले र कुन समयदेखि पहिचान भएको हो भन्ने आजसम्म एकिन गर्नसकिएको छैन। त्यसको खोजिनीति र अध्ययन/अनुसन्धानमा पनि खासै नेपाली विद्वान् तथा अन्वेषक लागिपरिरहेका छैनन्। लोक आख्यान, दन्त्य कथा, लोक कथा र वंशावली तथा अन्य साहित्यका आधारमा नै हामीले हाम्रो देश नेपाल र हामी नेपाली भनी पहिचान गर्ने गरिरहेका छौंँ। तर आजको विश्वको बौद्धिक जगतले कुनै ठोस वस्तुगत प्रमाणहरू र पुरातात्विक प्रमाणहरूका आधारमा मात्र हाम्रो देश नेपाल र हामी नेपाली हौंँ भनीप्रमाण जुटाइ देखाउनुपर्ने हुन्छ। यस दिशातर्फ विदेशी विद्वान्हरूले मात्र होइन, हामी आफैँ पनि अग्रसर हुनु जरुरी छ।

धेरै समयदेखि मैले विभिन्न सभा, सेमिनार, अन्तक्र्रिया, प्रवचन आदिमा नेपाली विद्वान्ले नेपाल नेपालीको विषयमा खोजतलास गरी दर्जनौँं ग्रन्थ बडो मेहनत गरी तयार गरी यो विश्वसामु हामीलाई परिचित गराइदिने विदेशी विद्वान्हरूलाई जस र धन्यवाद दिनुको साटो सधैँं आलोचनामात्र गर्ने, एकतर्फी विचार हो भनी दोष देखाउने गरेका पाइन्छ। यदि ती विदेशी विद्वान्ले बडो मेहनत गरी यसरी अध्ययन÷अनुसन्धान गरी नेपाल नेपालीको विषयमा नलेखिदिएको भए, आजसम्म नेपाल नेपालीको इतिहास, संस्कृति, वैभव र गौरव यसरी विश्वभर उज्जर (चहकिलो) भएर देखिने थिएन।

पुरातात्विक उत्खनन् एवं अन्वेषणहरूले हालको नेपालको भू–भागमा एकातिर शाक्यहरूको राज्य कपिलवस्तु र अर्कोतिर बर्मा (लिच्छवि) हरूले स्थापना गरेको नेपाल मण्डल राज्य नैहालसम्म थाहा पाइएका प्राचीन राज्य हुन्। हुन त नेपालको भू–भागभित्र प्राग मानवहरूका अवशेष पनि पहाड र तराईका विभिन्न भागमा नपाइएका होइनन्। तर यिनीहरू कुनै व्यवस्थित राज्य प्रणालीभित्र समावेश भएका पाइँदैनन्। नेपालको भू–भागभित्रका यी दुई प्राचीन सभ्यता भएका राज्यहरूको आधुनिक काल अर्थात अठारौं शताव्दी भन्दा अघि कुनै सम्बन्ध नै थिएन। तसर्थ नेपाल, नेपाली संस्कृति र नेपाली राष्ट्रियताको कुनै लामो इतिहास नै देखिँदैन। ‘नेपाल’ भनी इतिहासमा इश्वी ३३० देखि ३७५ को गुप्त सम्राट समुन्द्र गुप्तको प्रयाग स्तम्भ अभिलेखमा सर्वप्रथम नेपाल राज्य उल्लेख भएको प्रमाण पाइन्छ। उक्त अभिलेखमा ‘समतट, डवाक, कामरूप, नेपाल, कर्तृपुर आदि’ राजतन्त्र भएका देश भनी उल्लेख छ। नेपालमा इतिहासको प्रारम्भकालदेखि नै राजतन्त्रात्मक व्यवस्था थियो भन्ने कुरा इशाको दोस्रो शताब्दीका राजा जयबर्माको सालिकले पनि प्रमाणित गरेको छ। तसर्थ नेपाली संस्कृतिमा सुरुदेखि नै राजतन्त्रको प्रभाव परेको देखिन्छ।

नेपाली संस्कृतिमा भएका अमूल्य गुण, जस्तै– शान्तिप्रिय, सहिष्णुता, आपसी मेलजुल आदिले गर्दा नै नेपाली राष्ट्रियतालाई आज विश्वभर तारिफ एवं कदर गर्ने गरेको छ।

राजतन्त्र भएको देशमा धर्म र संस्कृतिमा पनि यसको ठूलो प्रभाव परिरहेकै हुन्छ। राजाले जुन धर्मलाई प्रोत्साहित गरे, अपनाए त्यो धर्मले नै उक्त राष्ट्रको संस्कृति र राष्ट्रियतालाई पनि प्रभाव पारेको हुन्छ। नेपालमा इशाको प्रारम्भमा नै प्रवेश गरिसकेका कुशाणहरूले शैव धर्मको प्रचार गरेको हुनुपर्छ। बर्माकाल र पछि लिच्छविकालमा पनि शैव धर्मको प्रभुत्व रहिनैै रह्यो। लिच्छविकालमा वैष्णव धर्म र बौद्ध धर्मको पनि निकै प्रचारप्रसार भयो। यो क्रम अन्तरिमकाल र मल्लकालसम्म पनि रहिनै रह्यो। मल्लकालमा शैव र बौद्ध धर्मको चकचकी वैष्णव धर्मको भन्दा बढी रह्यो।पछि शाहकालमा भने शैव धर्मको नै बाहुल्यता रह्यो।

कालान्तरमा नेपाल उपत्यकाभित्र बर्मा, लिच्छवि, आभिरगुप्त, कुशाण, विज्जी, कर्णाटकी, मल्ल, शाह आदि विभिन्न जातजाति कुल र वंशजका मानिसले आ–आफ्नो थलोबाट ल्याएको संस्कृति नै यस उपत्यकाको संस्कृतिको मूलधार हुन पुग्यो। एउटा कुरा हामीले के बिर्सन हँुदैन भने यस उपत्यकाभित्र इतिहासको सुरुदेखि नै जोसुकै जातजातिका र समुदायका मानिसभित्र पसे पनि यहाँको भौगोलिक, वातावरणीय र सांस्कृतिक कारणले गर्दा सधैँं नै मिलिजुली बस्न थालेका देखिन्छ। नेपालको इतिहासमा यी जातजाति, समुदाय र विविध धर्म र सस्कृतिका मानिसबीच वर्गीय संघर्ष तथा झै–झगडा भएको कहिले दखिएन। तेह्र/चौधौँ शताव्दीतिर मुसलमानहरू यस उपत्यकाभित्र पसे पनि यिनीहरूले पनि उपत्यकाभित्रका हिन्दुको बाहुल्यता स्वीकारेर नै बसे। सोह्रौँ÷सत्रौँ शताव्दीमा इशाइ धर्मको प्रचारप्रसार भएतापनि यो धर्मले पनि हिन्दु÷बौद्ध धर्मको अगाडि दबेर नै बस्न वा पलायन भएर भारततर्फ जान बाध्य भए।

जे–जति जो जहाँबाट आएका भए तापनि यस उपत्यकाभित्र नेपालीत्व, नेपालीपन र आफ्नो देश र राष्ट्रियताको भावनाको जग इतिहासको सुरुदेखि नै बसिसकेको थियो र विभिन्न कालमा यो जग झन् झन् मजबुत हुँदै गयो। मुसलमानहरूको पटकपटक हमला र लुटपाटले पनि नेपाली राष्ट्रियता बिटुलो पार्न सकेनन्। यस उपत्यकाभित्र कर्णाटकीहरू र सिजाली मल्ल राजाहरूको पटकपटकको आक्रमण र लुटपाटले त झन् यहाँका बासिन्दाबीच एकता र राष्ट्रियताको भावना सुदृढ बनाउन मद्दत पु¥याए। अन्तरिमकालको पूर्वाद्धमा त नेपाली राष्ट्रियतालाई नेपाल संवत्को थालनी, नेपाली भाषा र साहित्यको विकास, नेपाली कला र सिपको विकास एवं छिमेकी राष्ट्रहरूमा यसको व्यापक प्रचारप्रसार भइ भारतमा मात्र होइन तिब्बत, चीन मंगोलिया आदि एशियाका विभिन्न मुलुकमा समेत नेपाल र नेपालीलाई चिनिन थाले।

अठारौंँ शताब्दीमा आएर भारतमा अंग्रेजहरूले आफ्नो आधिपत्य जमाइ साम्राज्य खडा गरेपछि भने नेपाली राष्ट्रियतामाथि पनि खतरा पर्न थाल्यो। अंग्रेजहरूको राज्य बिस्तार गर्ने क्रम झन् झन् बढ्दै गयो। सोही समयमा नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई अंग्रेजहरूबाट बचाउन शाह राजा पृथ्वीनारायण शाहले टुक्रिएर विभाजित नेपालीलाई एकजुट बनाउन एकै सूत्रमा बाँध्न अभियान चलाए। यसै एकीकरण अभियानमा नेपाली फौज र अंग्रेजी फौजबीच लडाइँ भयो। जुन लडाइँ सन् १८१६ मा सुगौलीको सन्धिबाट समाप्त भयो। नेपाल अंग्रेज युद्धको समयमा नै वास्तवमा भन्नुप¥यो भने नेपालको इतिहासमा सर्वप्रथम नेपाली राष्ट्रियतामाथि खतरा देखापर्न थालेको थियो। तर भाग्यवश यो युद्ध सुगौलीको सन्धिबाट समाप्त भयो र नेपाली राष्ट्रियता अक्षुण्ण रह्यो।

तद्उप्रान्त नेपाली राष्ट्रियतामाथि बाहिरी खतराहरू देखा पर्न छाडे। तर नेपालभित्र नै १०४ वर्षसम्म राणाहरूको निरकुंश एकछत्रीय शासन र दमन नीतिले गर्दा नेपाली राष्ट्रियता कमजोर भइरहेको थियो। उन्नाइसौँं शताब्दीमा विश्वभर स्वतन्त्रता र वर्गीय संर्घषहरू हुन थाले। हाम्रो छिमेकी देशहरूमा पनि शासक वर्ग र शासित वर्गबीच संर्घषको लहर र प्रजातन्त्रका लागि आन्दोलनहरू हुन थाले। भारत, चीनलगायतका देशमा यसरी स्वतन्त्रता र प्रजातन्त्रका लागि आन्दोलन चलेपछि त्यो लहरले नेपाललाई पनि बटा¥यो। नेपाली राष्ट्रभक्त नेता, साहित्यकार, कवि सबैले यी निरकुंश राणाहरूको विरोध गर्न थाले। नेपालमा राणाहरूको पन्जाबाट देश र जनतालाई मुक्त पार्न भारतका राजनेता, जनता सबैले नेपालका प्रजातन्त्रप्रेमी राजा र जनतालाई धन, जन र बल सबैथोकबाट सहयोग पु¥याइ २००७ साल फागुन ७ गते नेपालबाट राणा शासन अन्त्य गरी प्रजातन्त्रको जग बसाले।यसरी राणालाई शासनमुक्त गर्न सम्पूर्ण नेपाली जनता एकजुट भई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालीको राष्ट्रप्रेम, प्रजातन्त्र प्रेम र राष्ट्रियताको भावना छर्लंग देखाइदिए। वास्तवमा नेपाली संस्कृतिमा भएका अमूल्य गुण, जस्तै– शान्तिप्रिय, सहिष्णुता, आपसी मेलजुल आदिले गर्दा नै नेपाली राष्ट्रियतालाई आज विश्वभर तारिफ एवं कदर गर्ने गरेको छ। जबसम्म नेपाल र नेपाली रहन्छन् तबसम्म यो पृथ्वीमा नेपाली राष्ट्रियता पनि कायमै रहन्छ भन्ने कुरामा भने अब कुनै शंकाछैन।

प्रकाशित: २० फाल्गुन २०७५ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App