coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

बाग्मती खोलाको पुल जीर्ण, मर्मतमा बेवास्ता

बाग्मती खोलाको जीर्ण पुलमा ओहोरदोहोर गर्दै सर्वसाधारण। तस्बिर : श्याम राई।

कागेश्वरी मनोहरा नगरपालिका वडा– ८ सृजना टोलस्थित बाग्मती खोलाको पुल जीर्ण बनेको छ। पुल जीर्ण भएको दुई वर्ष बित्न लाग्दा पनि पुनर्निर्माणका लागि सरोकारवालाले चासो देखाएका छैनन्।

स्थानीय जीर्ण पुलमा ओहोरदोहोर गर्न बाध्य छन्। जीर्ण पुलमा डरैडरले आवतजावत गर्नुपरेको स्थानीय जयप्रसाद करोडियाले बताए। ‘पुल जीर्ण भएकाले ओहोरदोहोर गर्दा डर हुन्छ,’ उनले भने, ‘कतिपयले त रेलिङ समाएर पुल ओहोरदोहोर गर्छन्।’
उनका अनुसार पुल जीर्ण बनेको दुई वर्ष बितिसक्यो। यसबारे जानकारी गराए पनि वडा कार्यालयले बेवास्ता गरेको स्थानीयले बताए।

सरोकारवाले निर्माणमा कुनै पहल नगर्दा ज्यानलाई उच्च जोखिम पारेर हिँड्न बाध्य छन्। पुलको छेउमा हालेको फलामको रेलिङ चुँडिएपछि बास हालेर डोरीले बाँधेको कडोरियाले बताए। पुल जीर्ण बनेको यतिका वर्षसम्ममा पनि निर्माणमा जनप्रतिनिधिले यसलाई बेवास्ता गरेको अर्का स्थानीय बताउँछन्। ‘टोलको विकास र हाम्र्रो समस्यालाई सुनिदिन्छ भनेर भोट दिएर जिताएका जनप्रतिनिधिले नै समस्यालाई बेवास्ता गर्छन्,’ उनले भने, ‘कतिपटक यही पुलबाट नेता तथा सरकारका उच्च पदाधिकारी हिँड्छन् होला। तर, निर्माणमा कसैलाई चासो छैन।’  

समयमै पुल मर्मत नगरे यात्रु दुर्घटनामा पर्न सक्ने भएकाले नयाँ पुल निर्माण गर्नुपर्ने स्थानीयको माग छ।
वडा– ८ का वडा अध्यक्ष श्रीकृष्णप्रसाद चापागाई बाग्मतीको जीर्ण पुल अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बनाउन जिम्मा लिइसकेकाले निर्माणमा पहल नगरेको  बताए।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका उप–आयोजना प्रमुख योगेन्द्र चित्रकार सहरी विकास मन्त्रालयले स्वीकृति दिई बजेट निकासा भएमा पुल निर्माण थालिने बताउँछन्। ‘हाम्रोबाट सबै प्रक्रियागत काम सकाएर फाइल सहरी विकास मन्त्रालयमा पुर्‍याएका छौँ,’ उनले भने, ‘मन्त्रालयले स्वीकृति दिएर पुल निर्माणका लागि बजेट विनियोजन भएमा निर्माण थाल्नेछौं।’

प्रकाशित: २० फाल्गुन २०७५ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App