coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सात वर्षपछि ‘बिजिनेस इन्कुबेसन सेन्टर’ चलाउँदै सरकार

फाइल तस्बिर : तत्कालीन घरेलु तथा साना उद्योग विभागमा रहेको बिजिनेश इन्कुबेशन सेन्टर

बनेपा – केही नौलो सोच छ, नौलो व्यावसायिक योजना र जाँगर छ भने सरकारले तपाईंलाई उद्यमीमा रुपान्तरण हुनका लागि मद्दत गरिदिने भएको छ। यसका लागि उद्योग विभागले व्यवसाय सम्वद्र्धन कार्यक्रम (बिजिनेस इन्कुबेसन प्रोग्राम) पुनः सुरु गर्ने भएको हो।

आर्थिक वर्ष ०६३/६४ देखि पाँच वर्षसम्म निरन्तर सञ्चालनमा रहेको बिजिनेस इन्कुबेसन कार्यक्रम त्यसपछिको सात वर्षसम्म सुसुप्त अवस्थामा थियो। ‘पुनर्संरचनासँगै घरेलु तथा साना उद्योग विभाग पनि उद्योग विभागमै मर्ज भयो। यससँगै बिजिनेस इन्कुबेसन सेन्टर पनि हाम्रो विभागमा आएकाले यसलाई परिमार्जित स्वरुपमा पुनः सञ्चालनमा ल्याउँदैछौं,’ उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने।

धेरै लामो अवधिपछि सुरु गर्न लागिएको हुँदा विभागले अबको बिजिनेस इन्कुबेसन कस्तो ‘मोडेल’मा सञ्चालन हुनुपर्ने भन्ने सुझाव संकलनका लागि धुलिखेलमा ३ नम्बर प्रदेशस्तरीय अन्तरक्रिया आयोजना गरेको हो।

‘पछिल्ला समयमा युवाहरुले धेरै नवीनतम सोच र व्यावसायिक योजना बुन्न थालेका छन्। सूचना प्रविधिको क्षेत्रले पनि ठूलो प्रगति गरिसकेको छ। यस सन्दर्भमा जनशक्ति, लगानी र सीपजस्ता कुराहरुलाई एकीकृत रुपमा अघि बढाउँदै उद्यमशीलताको विकास गर्न इन्कुबेसन सेन्टरमार्फत उनीहरुलाई मद्दत गर्ने लक्ष हो,’ सिंहले थपे।

विभागले चारवटा प्रदेशमा यस्तो अन्तरक्रियाको आयोजना गर्दै प्राप्त सुझावका आधारमा आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम माग गर्ने पनि उनको भनाइ छ। ‘विगतको इन्कुबेसनमा सहभागी व्यक्ति (इन्कुबेटिज)हरु यतिखेर उद्यमीमा रुपान्तरण भएका मात्रै छैनन्, उद्यमशीलतामार्फत स्वदेश तथा विदेशमासमेत उल्लेख्य उपलब्धि हासिल गरिरहेका छन्। त्यसैले पनि इन्कुबेसनलाई एउटा अभियानकै रुपमा लैजाने  विभागको योजना रहेको छ,’ सिंहले थपे।

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक विनोदकृष्ण श्रेष्ठले सीप तथा नौलो व्यवसायिक योजना भएका तर आर्थिक र उचित वातावरणको अभाव भएका व्यक्तिलाई पछिल्लो समय शैक्षिक प्रतिष्ठान तथा निजी क्षेत्रका इन्कुबेसन सेन्टरहरुले सेवा दिँदै आएको दृष्टान्त दिए। ‘नवीनतम सोच र व्यावसायिक योजना भएका युवासँग ‘स्टार्ट–अप’ का लागि धेरै कुरामा अलमल रहेको हुन्छ। त्यही भएर केयुले आइडिया स्टुडियो नेपाल र केयु बिजिनेस इन्कुबेसन सेन्टरमार्फत उनीहरुलाई उद्यमशील बनाउनका लागि मद्दत गरिरहेको छ। अन्य थुप्रै कम्पनी र संघसंस्थाले पनि सेन्टर चलाइरहेका छन्,’ उनले थपे।

विगतमा घरेलु तथा साना उद्योग विभागले सार्वजनिक–निजी साझेदारी कार्यक्रमअन्तर्गत बिजिनेस इन्कुबेसन सेन्टर सञ्चालन गर्दै आएको थियो। निजीस्तरका व्यवस्थापन परामर्शदाता र विज्ञ परामर्शदाताको सहयोगमा यो कार्यक्रम सञ्चालन थियो। केयुको तर्फबाट तत्कालीन सञ्चालक समिति सदस्य रहेका प्राडा श्रेष्ठले पाँच वर्षको अवधिमा संख्यात्मक नभए पनि गुणात्मक हिसाबले सेन्टरबाट उत्कृष्ट उद्यमी तयार पारिएको दाबी गरे। ‘१४ उद्यमी ग्रेजुएट भइसकेका छन् भने थप १४ जना ग्रेजुएसनका लागि चरणगत सफलतापछि तयार भएका छन्। हालसम्म ६ वटा समूह (ब्याच)बाट ४१ जना उद्यमीले सरकारी बिजिनेस इन्कुबेसनमा आवद्धता लिएका छन् ,’ उनले थपे।

यसैबीच, आफूमातहत सेन्टर आएपछि उद्योग विभागले उद्यमी बन्न चाहने व्यक्तिलाई इन्कुबेसन सेन्टरमै रहेर भौतिक सेवा लिन सक्ने या ‘भर्चुअल’ रुपमा (अनलाइन, परोक्ष सेवा प्रवाह) पाउने गरी दुई प्रकारले सेवाको छनौट गर्ने अवसर प्रदान गर्ने भएको छ। ‘व्यवसाय सम्वद्र्धन (बिजिनेस इन्कुबेसन)कार्यक्रमलाई प्रभावकारी बनाउन संघमा एउटा नमूना सम्वद्र्धन केन्द्र सञ्चालन गर्दैछौं भने प्रादेशिक सरकार र महानगर, उपमहानगर (क्षमताअनुसार नगरले समेत)हरुले व्यवसाय सम्वद्र्धन केन्द्र सञ्चालन गर्ने वातावरणका लागि आवश्यक समन्वय समेत गर्दैछौं,’ विभागका निर्देशक एवं बिजिनेस इन्कुबेसन सञ्चालक समितिका सदस्य–सचिव नोखबहादुर बस्यालले भने।

लघु उद्यम प्रवद्र्धनको अधिकार पाएका स्थानीय तहले नयाँ उद्यमी बनाउने र भएका उद्यमीको स्तरवृद्धिका कार्यक्रम प्राथमिकतामा नराखेकामा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। ‘तीन तहका सरकारले उद्यमीको स्तर हेरेर कुन मोडेलमा उनीहरुलाई उद्यमशील बनाउने हो भनेर योजना बनाउनु पर्ने हो। तर, त्यसो हुन सकिरहेको देखिन्न। कामको खोजीमा भौंतारिएका युवालाई उद्यमशील बनाउने कार्यक्रममा समेट्न सकियो भने मुलुकको समृद्धिको यात्रामा सहयोग पुग्न सक्छ,’ काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले सुझाव दिए।

विगतमा पनि नमूना इन्कुबेसन सेन्टर आइटी पार्कमा राख्नका लागि स्थानीय उद्योग वाणिज्य संघ तथा तत्कालीन घरेलु तथा साना उद्योग विभागबीच धेरै पटक अन्तरक्रिया भइरहेको पनौती उद्योग वाणिज्य संघका सचिव महेश पौडेलले स्मरण गराए। ‘अब संघीय सरकारले बनाउने नमूना बिजिनेस इन्कुबेसन सेन्टरलाई आइटी पार्कमै स्थापना गर्दा उपयुक्त हुन्छ। किनकी काठमाडौं उपत्यकालगायत मध्यपहाडी जिल्लामा नवीनतम सोच र योजना बोकेर बसेका व्यक्तिलाई यहाँजत्ति उपयुक्त स्थान अन्यत्र हुनै सक्दैन,’ उनले थपे।

सरकारीस्तरको इन्कुबेसन सेन्टर सुसुप्त अवस्थामा भए पनि यतिखेर निजी क्षेत्र र शैक्षिक प्रतिष्ठानका इन्कुबेसन सेन्टरले नयाँ उद्यमीलाई काम गर्ने ठाँउ र सहयोगको वातावरणको सिर्जनासँगै विकसित र सफल उद्यमी बनाउन भूमिका खेल्दै आएका छन्। यस्ता सेन्टरमा नेपाल एग्रिकल्चर बिजिनेस इन्कुबेसन सेन्टर, केयुको आइडिया स्टुडियो र केयु बिजिनेस इन्कुबेसन सेन्टर, इन्ट्रेप्रेनर्स फर नेपाल, नेपाल इन्टरप्रेनर्स सोसाइटी, नेपाल इन्टरप्रेनर्स हब, स्टार्टअप्स नेपाल, बिरुवा भेन्चर्स, अन्तरप्रेरणा, दायित्व, रकस्टार्ट, इन्टरप्रेनर्स अर्गनाइजेसन नेपाललगायत थुप्रै निजी तथा संघसंस्था रहेका छन्।

बिजिनेस इन्कुबेसन सेन्टरका सेवाहरु
कार्यकक्ष (वर्क स्टेसन) र कम्प्युटरलगायत कार्यालयसम्बन्धी उपकरण एवं इन्टरनेट र सञ्चार सुविधा।
व्यावसायिक योजना निर्माण तालिम तथा व्यावसायिक सोचको विकास।
पुँजी व्यवस्थापनसम्बन्धी परामर्श।
बजार व्यवस्थापन तथा लेखासम्बन्धी प्रशिक्षण र परामर्श सेवा
प्राविधिक प्रशिक्षण, परामर्श, प्रयोगशाला प्रयोग र परीक्षणसम्बन्धी सुविधाका लागि सहयोग।
व्यवसाय स्थापनासम्बन्धी कानूनी तथा प्रशासनिक सहायता।
वौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी परामर्श र सहयोग।
औद्योगिक भ्रमणबाट उद्यमशीलता तथा प्रविधिबारे ज्ञान।
सम्वद्र्धन अवधि पूरा भएपछि पनि सम्पर्क, अनुगमन, परामर्श र सहयोगको नियमित व्यवस्था।
व्यावसायिक पहिचान विस्तार गर्न सहयोग।

प्रकाशित: २० फाल्गुन २०७५ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App