८ वैशाख २०८१ शनिबार
अर्थ

गाई होइन प्रविधि भित्र्याऊ

चितवनको भरतपुर महानगरपालिकामा गरिएको गाईपालन। तस्बिर : सविता/नागरिक

चितवन – चीनबाट गाई ल्याउने नेपाल सरकारको तयारीको दुग्ध उत्पादक किसानले विरोध गर्दै आएका छन्। किसानले विरोध गरे पनि सरकारले ३२ अर्ब लगानीमा गाई ल्याउने तयारी सुरु गरेको छ। त्यसका लागि चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ। गाई ल्याउन गरिएको सम्झौताको दुग्ध उत्पादन किसानले विरोध गरेका छन्।

नेपालमा अहिले दैनिक २२ लाख लिटर दूध उत्पादन भइरहेको छ। किसानले उत्पादन गरेको दूध बिक्रीको समस्या रहेको चितजन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपाने बताउँछन्। बजार पाउनु जत्तिकै समस्या बिक्री भएका दूधको भुक्तानीमा पनि रहेको उनले बताए। किसानले दूधको भुक्तानी रकम पाउन महिनौंसम्म कुर्नु परेको छ। ‘लागत अनुसारको मूल्य किसानले पाउन सकेका छैनन्,’ उनी भन्छन्, ‘ढुटो, चोकर, दानाको मूल्य भने दिनहुँ बढिरहेको छ।’

सरकारले चीनबाट गाई ल्याए किसान विस्थापित हुने स्थिति आउने उनको भनाइ छ। उत्पादन बिक्री हुन नसकेको अवस्थामा चीनबाट गाई ल्याएर दूध उत्पादन गरे बजार व्यवस्थापन गर्न थप चुनौती आउने उनी बताउँछन्। सरकारले प्रदेश ३ मा मात्र नौ अर्ब लगानी गर्ने योजना अघि सारेको संघका सचिव किशोर बगालेले बताए। प्रदेशमा मात्र गर्न लागिएको लगानी यही प्रदेशका कृषकलाई ऋण दिए मात्र पनि सरकारले उत्पादन गर्न खोजेको परिमाणमा दूध उत्पादन गर्न सकिने उनको भनाइ छ।

२०–२२ लिटर दूध दिने गाई यही एक लाख रुपैयाँसम्ममा पाइने भए पनि चीनबाट एउटा गाई ल्याउँदा चारदेखि पाँच लाख रुपैयाँ लगानी गर्न लागिएको उनी बताउँछन्। यहीं भएका गाईलाई उचित किसिमको स्याहार सुसार गरेर लाभ लिन सकिने उनले बताए। प्राविधिक सहयोग र कृषकलाई व्यावसायिक बन्न प्रोत्साहन गर्दा नै दूध उत्पादन वृद्धि गर्न सकिन्छ। यही उत्पादन गरिएका गाई र किसानलाई प्रोत्साहन गरे मात्र पनि थोरै लगानीमा धेरै उत्पादन गर्न सकिने उनको दाबी छ।

‘किन चाइनिज होलिस्टिन गाई ल्याउने ?’ उनी प्रश्न गर्दै भन्छन्, ‘यहीं बढी दूध उत्पादन गर्ने होलिस्टिन गाई उत्पादन गर्न किन नसक्ने ?’ वातावरणीय प्रभाव र फरक हावापानीका कारण चीनबाट ल्याइएका गाई जोगाएर उत्पादन लिनुसमेत चुनौतीपूर्ण रहेको उनको भनाइ छ। यस्तो कामले देशको रकम विदेशिने काम मात्र हुने उनले बताए। विदेशी आएर गर्ने बजार विस्तारले नेपाली उत्पादनलाई प्रोत्साहन र संरक्षण नहुने उनी बताउँछन्।

यहाँको उत्पादनले बजार नपाउने, यहाँका किसान र डेरी उद्योगलाई नोक्सानी मात्र हुने उनको भनाइ छ। पब्लिक–प्राइभेट पार्टनरसिपमा गर्न लागिएको कार्यक्रम निश्चित व्यक्तिलाई दिने प्रवृत्तिको पनि किसानले विरोध गरेका छन्। चीनबाट गाई ल्याउनुको साटो प्रविधि ल्याउनुपर्ने माग किसानको छ। सरकारले गरेको सम्झौता खारेज गर्नुपर्ने माग किसानको रहेको संघका अध्यक्ष न्यौपाने बताउँछन्। सम्झौता खारेज नभए किसानले आन्दोलन गर्ने उनले बताए। प्रविधि, सिमोन लगायत यहाँ ल्याएर प्रयोग गर्न सकिने नयाँ प्रविधिको प्रयोगमार्फत यहींका बाच्छीबाट धेरै उत्पादन लिनुपर्ने सचिव बगालेले बताए। 

अहिले न्युजिल्यान्ड, अमेरिकालगायत देशबाट सिमोन ल्याएर यही उन्नत जातका गाई उत्पादन गरिरहेकामा चीनबाट पनि सिमोन ल्याएर धेरै दूध दिने राम्रा बाच्छी उत्पादन गर्न सकिने उनी बताउँछन्। किसानको गोठमा रहेका बाच्छी हुर्काउने वातावरण सरकारले बनाइदिनुपर्ने किसानको माग छ। पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्न सहयोग र उत्पादनको आधारमा किसानलाई अनुदान दिनुपर्ने उनले बताए। ‘नेपालमा कति दूध उत्पादन गर्नु आवश्यक छ भनेर राज्यले भन्नुपर्‍यो,’ उनले भने, ‘हामी किसान त्यति दूध उत्पादन गर्न तयार छौं।’

प्रकाशित: २० फाल्गुन २०७५ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App