७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तान टकरावको प्रभाव सार्कमा

काठमाडौ - महत्वपूर्ण सदस्य भारत र पाकिस्तानको विवादका कारण निष्क्रिय हुँदै गएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) दुई मुलुकको पछिल्लो तनावका कारण थप अन्योलमा पर्ने देखिएको छ। सन् २०१४ मा नेपालमा १८ औँ शिखर सम्मेलनपछि सन २०१६ मा पाकिस्तानको इस्लामावादमा १९ औँ सार्क शिखर सम्मेलन गर्ने तय भए पनि सन् २०१६ मा भारतको उरीमा भएको आतंकवादी हमला भएसँगै सम्मेलन अनिश्चित हुँदै आएको छ।

आतंकवादी हमलापछि भारत सहित बंगलादेश, भूटान, माल्दिप्स, श्रीलंका र अफगानिस्तानले पनि सम्मेलन बहिष्कार गरेका थिए। त्यसयता अनिश्चित हुँदै आएको शिखर सम्मेलन हालै जम्मु कश्मिरको पुलवा घटनापछि थप अन्योलमा परेको छ। फरवरी १४ मा जम्मु कश्मीरको पुलवामा आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएपछि भारत र पाकिस्तान आमनेसामनेकै स्थितिमा पुगेका छन्। भारतले पाकिस्तानको बालाकोटमा गरेको हवाई हमला र त्यसको अर्काे दिन पाकिस्तानको जवाफी हमला हुँदै भारतीय भारतीय पाइलट नियन्त्रण र भारतलाई हस्तान्तरणसम्मको चरणसम्म आइपुग्दा तनाव केही मत्थर भएको छ। तर दुई मुलुकबीचको सम्बन्ध सामान्य अनवस्थामा आउन नसकेकाले तत्कालै सार्क सक्रिय हुने अवस्था नरहेको जानकारहरू बताउँछन्।

भारत–पाकिस्तानबीच विवाद बढ्दै गर्दा नेपालले औपचारिक धारणा राख्दै दुवै मुलुकलाई क्षेत्रीय शान्तिमा असर पर्ने गतिविधि नगर्न सचेत गराएको छ। नेपाले सार्कको वर्तमान अध्यक्षका हिसाबले दुवै मुलुकलाई संयमता अपनाउन आग्रह गर्दै समस्याको वार्ताको माध्यमबाट समाधान खोज्न समेत आग्रह गरेको थियो।

भारत र पाकिस्तानको विवादका कारण प्रत्येक दुई वर्षमा हुनुपर्ने सम्मेलन अनिश्चत हुँदै गइरहेको छ। सम्मेलनको आयोजना हुन नसक्दा सार्कको प्राथमिकतामा पर्ने क्षेत्रीय अजेन्डासमेत प्रभावित हुँदै आइरहेका छन्। एक किसिमले सार्क भूमिका शून्य अवस्थामा रहँदै आएको छ। यसअघि पनि दुई मुलुकबीचको द्वन्दले सार्क सम्मेलन पटक पटक स्थगित हुँदै आइरहेको छ।

हाल सार्कको भूमिका शून्य अवस्थामा रहे पनि यसको सक्रिय भूमिका र भविष्यका विषयमा भने चर्चा र चिन्ता हुने गरेको छ। भारत र पाकिस्तानबीच तनाव चलिरहेका बेला फागुन ११ मा पाकिस्तानी विदेशमन्त्रीले नेपाली समकक्षीलाई फोन गरेर सार्कको अध्यक्ष मुलुकका हिसाबले नेपालको रचनात्मक भूमिकाको अपेक्षा गरे। जवाफमा नेपाली पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्षेत्रीय शान्ति र सुरक्षा सबैको प्राथमिक उत्तरदायित्व रहेको भन्दै सार्कको सदस्य मुलुका हिसाबले नेपालले भूमिका खेल्ने बताएका थिए।

दुई मुलुकबीच विवाद बढ्दै गर्दा नेपालले औपचारिक धारणा राख्दै दुवै मुलुकलाई क्षेत्रीय शान्तिमा असर पर्ने गतिविधि नगर्न सचेत गराएको छ। नेपाले सार्कको वर्तमान अध्यक्षका हिसाबले दुवै मुलुकलाई संयमता अपनाउन आग्रह गर्दै समस्याको वार्ताको माध्यमबाट समाधान खोज्न समेत आग्रह गरेको थियो। सार्कको वडापत्रअनुसार भने सार्कका साझा विषयबाहेक दुईपक्षीय विषयलाई उठाउन पाइँदैन।

परारष्ट्रमामिलाका जानकारहरु भने दुई परमाणु शक्ति सम्पन्न मुलुकबीचको तनावले क्षेत्रीय शान्तिमै असर पर्ने भएकाले सार्कको माध्यमबाट शान्ति कायम गर्न र संयमता अपनाउन आग्रह गर्न सकिने बताउँछन्। परराष्ट्र मामिलाका जानकार हिरण्डेलाल श्रेष्ठ सार्कको माध्यमबाट दुई मुलुकलाई झगडा नगर भन्न सकिने बताउँछन्। ‘हामीले कसैको साइड लिनुहुँदैन, तर वार्ताका लागि पहल गर्न सकिन्छ,’ उनले भने। श्रेष्ठ सार्कको माध्यमबाट भारत र पाकिस्तानका नेताबीच वार्ता गराउन सकिने बताउँछन्। सार्क सम्मलेन भइरहँदा दुई मुलुकका नेताबीचमा भेटघाट तथा छलफल भइरहे पनि सार्क निष्क्रिय भएसँगै दुई मुलुककाबीचको छलफल पनि पातलो भएको श्रेष्ठको दाबी छ।

पछिल्लो समय यसै पनि थला परेको सार्कको सक्रिय भूमिकाका लागि अध्यक्ष मुलुकका हिसाबले नेपालले पहल नगरे सार्कको विघटन हुने खतरा रहेको श्रेष्ठ बताउँछन्। ‘हामीले अध्यक्षको हिसाबले पहल गर्नुपर्छ, सार्क सक्रिय नहुनुको असर देखिन थालेको छ,’ श्रेष्ठले भने। उनले सार्कको सक्रियताका लागि सबै सदस्य मुलुकले कूटनीतिक पहल थाल्नुपर्ने बताउँछन्।

सार्कलाई निश्क्रिय तुल्याउनुका पछाडि पाकिस्तानलाई एक्ल्याउने भारतीय रणनीतिले काम गरेको श्रेष्ठ बताउँछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर सहित नेपाललाई पनि गाभ्नुपर्छ भन्ने सरदार पटेल नीतिलाई अनुशरण गरेकाले समस्या भइरहेको उनको तर्क छ। ‘मोदीको विचार पटेलवादी हुँदा समस्या देखिएको छ, भारतले पाकिस्तानलाई एक्ल्याउने नीतिमा लागेकाले सार्कको भूमिका कमजोर हुँदै गएको हो,’ श्रेष्ठले भने। श्रेष्ठ सार्कलाई सक्रिय नबनाउँदा थप नोक्सानी हुन्छ भन्ने कुरा पुष्टि हुँदै गएकाले सार्कलाई सक्रिय बनाउन पहल कदमी अघि बढानुपर्ने बताउँछन्। अध्यक्ष मुलुकका हिसाबले नेपालले त्यो भूमिका खेल्नुपर्ने उनको तर्क छ।

क्षेत्रीय सहयोग संगठनका रूपमा महŒवपूर्ण मानिने सार्कको भूमिका निस्क्रिय हुँदै गएपछि यसमा अमेरिकालगायतका मुलुकले समेत चासोँ राख्ने गरेका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गत पुसमा गरेको अमेरिका भ्रमणका क्रममा अमेरिकाले यस विषयमा चाँसो राखेको थियो। अमेरिकी विदेश मन्त्री माइक पम्पियोले भेटमा सार्कको भूमिकाका विषयमा चासो राखेको मन्त्री ज्ञवालीले स्वदेश फर्किएपछि बताएका थिए।

प्रकाशित: २० फाल्गुन २०७५ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App