coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

टुटल र पठाओको कर परीक्षण अन्तिम चरणमा

काठमाडौं – सरकारले राइड–सेयरिङ एप टुटल र पठाओको कर परीक्षण अन्तिम चरणमा पुर्‍याएको छ। आन्तरिक राजस्व विभागले टुटलसँगै यस्तै प्रकृतिको सेवा सञ्चालन गरिरहेको पठाओको पनि मूल्य अभिवृद्धिकर (भ्याट) र आयकरको अनुसन्धान गरिरहेको छ।

टुटल सञ्चालन गरिरहेको हाइपर लुक्स नेपालले भ्याटमा दर्ता नभई उपभोक्ताबाट भ्याट उठाएको भेटिएपछि अनुसन्धान सुरु गरेको थियो। पठाओको सेवा पनि एउटै प्रकृतिको भएकाले विभागले दुवै कम्पनीको कारोबारको भ्याट र आयकर परीक्षण गरिरहेको जनाएको छ।

‘हामीले दुवै फर्मको अहिलेसम्मको कारोबारलाई समेटेर भ्याट र आयकर परीक्षण गरिरहेका छौं,’ विभागका प्रवक्ता यज्ञ ढुंगेलले भने, ‘आर्थिक वर्ष ०७४/७५ सम्मको कारोबारको अनुसन्धान अन्तिम चरणमा छ।’

टुटलले भ्याट छलेको प्रकरणबाट सुरु गरेको अनुसन्धानलाई विभागले उसको आयकर परीक्षणमा विस्तार गरेको थियो। अनुसन्धानका क्रममा टुटलसँगै भ्याट र आयकरमा पठाओको नाम जोडिन आएपछि विभागले दुवै कम्पनीको कर परीक्षण एकैपटक गरिरहेको छ। दुवै कम्पनीको भ्याटसँगै आयकर पनि परीक्षण गरेकाले केही समय लागेको ढुंगेलले बताए। ‘पछिल्लो आर्थिक वर्षको पनि एकैपटक हेरिरहेका छौं,’ ढुंगेलले भने, ‘यस अनुसन्धानबाट राम्रै उपलब्धि हुने देखिएको छ।’ दुवै कम्पनीको अनुसन्धानको परिणाम केही समयभित्र ल्याउने तयारी विभागले गरिरहेको छ।

‘दुवै कम्पनीले भ्याट असुल गर्नुपर्नेमा त्यसो भएको पाइएको छैन,’ उनले भने, ‘टुटलले केही समय भ्याट लिएर छोडेको भन्ने पनि छ। त्यसलाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं।’ टुटलले झन्डै १९ महिना भ्याट असुल गरेको पाइए पनि उसले अहिले त्यसलाई रोकेको छ। यी विषयलाई विभागअन्र्तगतका कार्यालयले अनुसन्धान गरिरहेका छन्।

भ्याटसँगै विभागले आर्थिक वर्ष ०७४/७५ सम्मको आयकरतर्फको पनि कर परीक्षण गरिरहेको छ। समग्र कर परीक्षण गरिरहेकाले समय लागेको विभागको भनाइ छ। ‘उनीहरुलाई कागजात उपलब्ध गराउन पनि समय लाग्छ,’ ढुंगेलले भने, ‘प्राप्त भएका कागजात पनि परीक्षण गर्नुपर्छ।’

हाइपरले आफू भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिने गरेको भेटिएपछि विभागले अनुसन्धान सुरु गरेको हो। भ्याट छली भएको भेटिएमा कम्पनीले उठाएको भ्याट रकममा थप ७० प्रतिशतसम्म जरिवाना हुन सक्छ।

मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघ–संस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन। टुटलले भने भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिने गरेको पाइएको थियो। उसले सन् २०१७ जनवरीदेखि २०१८ जुलाईसम्म करिब १९ महिनासम्म भ्याट शीर्षकमा उपभोक्ताबाट रकम उठाएको थियो।

टुटल मोटरसाइकलमा यात्रु बोक्ने सेवा हो जुन कम्पनी रजिस्ट्रारको कार्यालयमा हाइपर लुक्स नेपाल कम्पनी प्रालिमा दर्ता भएको छ। दुई वर्षअघि सेवा सुरु गरेको टुटलसँग हाल १२ हजारभन्दा धेरै राइडर रहेको बताउँदै आएको छ। त्यस्तै, पठओ ६ महिना अघिमात्र सञ्चालनमा आएको हो। अमेरिकी लगानीमा सञ्चालन भएको पठाओले ३० हजार राइडर रहेको बताएको छ।
मोटरसाइकलमा यात्रु बोक्ने काम भएको भन्दै ट्राफिक प्रहरीले माघको पहिलो साता यस सेवाका राइडरलाई कारबाही गरेपछि टुटल र पठाओ चर्चामा आएका थिए। यातायात व्यवस्था ऐन २०४९ अनुसार निजी सवारी साधनको रुपमा दर्ता भएका सवारी साधन भाडामा लगाउन पाइँदैन।

पुरानो ऐनले नयाँ प्रविधिलाई समेट्न नसकेको र युवाहरुले सुरु गरेको नयाँ व्यवसाय रोक्न नहुने भन्दै विरोध भएको थियो। युवाहरुले सुरु गरेको नयाँ व्यवसाय रोक्ने मनसाय नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नरोक्न आदेश दिएपछि यी सेवा पुन सुचारु भएका थिए।

प्रकाशित: २० फाल्गुन २०७५ ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App