८ वैशाख २०८१ शनिबार
समाज

कमजोर व्यवस्थापनले शिवरात्रिको चहलपहल कमी

‘यसपालि शिवरात्रि ढिप्कनै लागेको बेला आइतबार पशुपति छिर्दा त्यति चहलपहल देखिएन। साधुसन्तको संख्या पनि निकै कमी देखियो। भक्तजनले टेकेर मन्दिर पुग्ने भित्री सडक पनि खाल्डाखुल्डी मात्रै देखिए।’ 


विगतका वर्षहरूमा महाशिवरात्रि आउनुभन्दा ३/४ दिनअगावै पशुपतिनाथ क्षेत्र खचाखच र रौनकपूर्ण हुन्थ्यो। पशुपतिनाथ परिसर प्रवेश गर्नेबित्तिकै सफा सुग्घर देखिन्थ्यो। खरानी घसेर बसेका साधु सन्तको लस्करले त्यहाँ पुग्ने सर्वसाधारण र भक्तजनलाई थप रमाइलो दिन्थ्यो। शिवरात्रिकै पूर्वसन्ध्यामा भित्री सडकका खाल्डाखुल्डी अस्थायी रूपमै भए पनि टालेर हिँड्नलाई सहज पारिन्थ्यो। बेलुकीपख भक्तजन तथा विभिन्न संघसंस्थाले आयोजना गरेका भजनकिर्तनका कार्यक्रममा रम्ने युवा भेटिन्थे। बूढापाका र लामो दाह्री पालेका साधुसन्तको उपस्थितले पशुपति क्षेत्र थप गुञ्जायमान हुन्थ्यो। तर, यसपालि शिवरात्रि ढिप्कनै लागेको बेला आइतबार पशुपतिनाथ परिसर छिर्दा त्यति चहलपहल देखिएन। साधुसन्तको संख्या पनि निकै कमी देखियो। भक्तजनले टेकेर मन्दिर पुग्ने भित्री सडकमा पनि खाल्डाखुल्डी मात्रै देखिए। यसपालि धेरैजसो साधुसन्त अलि ढिलो (आइतबार बेलुकीसम्म) आएकाले पूर्वसन्ध्यामा त्यति चहलपहल नदेखिएको कोषले जानकारी गरायो। तर, पशुपति क्षेत्र विकास कोषकै कमजोर व्यवस्थापनका कारण यस वर्ष महाशिवरात्रिको चहलपहलमा कमी आएको जनप्रतिनिधिको आरोप छ। 

‘कोषले यस वर्ष टार्ने किसिमले मात्रै शिवरात्रिको व्यवस्थापन गरेको छ। बजेट धेरै छुट्याए पनि त्यसको गतिलो पूर्वतयारी देखिएन। यसले भक्तजनलाई असहज पुर्‍याउँछ।’

काठमाडौं महानगरपालिका–८ का वडा अध्यक्ष  दिनेशकुमार डंगोल कोषले सक्रियता नदेखाउँदा शिवरात्रिसँग जोडिएका सानातिना पर्व पनि लोप भइसकेको बताउँछन्। ‘कोषले यस वर्ष टार्ने किसिमले मात्रै शिवरात्रिको व्यवस्थापन गरेको छ, बजेट धेरै छुट्याए पनि त्यसको गतिलो पूर्वतयारी देखिएन, यसले भक्तजनलाई असहज पुर्‍याउँछ, शिवरात्रि ढिप्किनै लाग्दा पनि चहलपहल कम हुनु राम्रो होइन,’ उनी भन्छन्। सडक मर्मत नगरेको, साधुसन्तलाई उचित बस्ने व्यवस्था नगरेको, सरसफाइ नगरेको, भक्तजनको संख्या गणनामा अनुमान लगाउने गरेको, निजी संघ–संस्थाहरूसँग समन्वय नगरेको, पार्किङ क्षेत्र नछुट्याएको आरोप डंगोलको छ। 

कोषका कर्मचारी भने व्यवस्थापनमा राम्ररी ध्यान दिएको दाबी गर्छन्। कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले यो वर्ष झन् सभ्य र भव्य व्यवस्थापन गरेको दाबी गरे। उनी भन्छन्, ‘हामीले नशालु पदार्थ सेवन गर्ने युवाहरूलाई अझ कडाई गरेका छौं, यसबाहेक अन्य सुविधाहरूमा पनि ध्यान दिएका छौं, त्यसैले ढुक्क भएर दर्शन गरे हुन्छ।’ उनका अनुसार शिवरात्रिमा देश–विदेशबाट गरी १० लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ। 

कोषका सदस्य सचिव प्रदीप ढकाल विकास निर्माणका काम भइरहेकाले केही भद्रगोल देखिएको बताउँछन्। उनी भन्छन्, ‘यसपालि भित्री सडकमा ढुंगा छाप्ने काम पनि धेरै भयो, केही सडक बनिसकेका छन्, केही सडकमा काम अझै नसकिएकाले हामीले त्यसलाई तीव्र गतिमा बनाउँदै छौं, हिँड्दाखेरी भक्तजनले केही समस्या भोगे पनि अरु समस्या हुनेछैन।’ उनका अनुसार यो वर्ष भारतीय भक्तजनको संख्या बढेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि भारतीय भक्तजन र साधुसन्तको संख्या बढेको कोषको ठम्याई छ। 

यसबाहेक मलेसिया, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, बेलायत, अमेरिकालगायत देशबाट भक्तजन आउँछन्। यसले पशुपतिनाथको महत्व झन् बढाएको मानिन्छ। शिवरात्रिमा आवास, भोजन, सुरक्षा तथा मेला आयोजना गर्न ५४ लाख बजेट विनियोजन गरिएको ढकालको भनाइ छ। भक्तजन र साधुसन्तको लागि आवश्यक व्यवस्थापन गरिसकेको उनी बताउँछन्।

यस्तो छ दर्शन र सुरक्षा व्यवस्था
भक्तजनले तीन वटा ढोकाबाट बिहान ४ बजेदेखि नै दर्शन गर्न सक्नेछन्। भक्तजनका लागि गत वर्षजस्तै तीनवटा ढोकाबाट दर्शन गर्न सकिने व्यवस्था गरिएको छ। बत्तिसपुतली, गौशाला हुँदै आउने दर्शनार्थीका लागि गौशाला–पिंगालास्थान, चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रांगण प्रवेशको व्यवस्था छ। कोटेश्वर, एयरपोर्टतर्फबाट आउने दर्शनार्थीका लागि तिलगंगा–पिंगलास्थान हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेशको प्रबन्ध गरिएको छ। गुह्येश्वरी हुँदै आउने दर्शनार्थीका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–बासुकीनाग हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ। 

आइतबार बेलुकीदेखि नै शिवरात्रिका लागि सुरक्षार्थ ७ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ। अराजक क्रियाकलाप रोक्नका लागि ३५ सय शादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिने महानगरीय प्रहरी प्रभाग गौशालका इन्सपेक्टर सुनील जंग शाह बताउँछन्। स्काउट समेतका गरी ५ हजार बढी सवयंसेवक खटाइने उनको भनाई छ। ‘भक्तजनको संख्या हेरेर हामीले सुरक्षा व्यवस्था चुस्त पार्छौं,’ उनले भने, ‘यातायातका कारणले बाहिरी क्षेत्रमा कोचाकोच भयो भने सवारी साधनलाई वैकल्पिक रुटबाट पठाउने व्यवस्था मिलाउँछौं, त्यसैले ढुक्क भएर पशुतिनाथ दर्शन गरे हुन्छ।’ 

दर्शनार्थीकै लागि पशुपति परिसरभित्र ठाउँ–ठाउँमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिनेछ। शिवरात्रि मनाउनका निम्ति आइतबार बेलुकीसम्म भारत, श्रीलंका, बंगलादेशबाट गरी २५ सय हाराहारी बढी साधुसन्त आएका थिए। 

पशुपतिनाथ मन्दिरका पुजारी केदारमान भण्डारी यो वर्ष चहलपहल घटेको बताउँछन्। साधुसन्त र अन्य भक्तजनको संख्या बढी भए पनि कोषले आफ्नो व्यवस्थापनलाई त्यति चासो नदिएका कारण अलि भद्रगोल हुने अनुमान गरिएको उनको भनाइ छ। भौतिक संरचना मर्मतको काममा चासो नदिएकाले स्वभाविक रूपमै पशुपति क्षेत्र अलि भद्रगोल देखिएको छ,’ उनी भन्छन्, ‘यद्यपि क्षणिक समयको लागि भए पनि अन्य सुविधा र सुरक्षा व्यवस्था राम्रो पारिएको छ।’ उनका अनुसार शिवरात्रिलाई शिवको उत्पति तथा जन्मदिनका रूपमा लिइन्छ। पशुपति पुराणमा उल्लेख भए अनुसार शिव भाङ, धतुरो, गाँजा सेवन गर्थे। शिवरात्रिको बारेमा पुराण, शिवपुराण, पशुपति पुराण, हिम्मतखण्डमा उल्लेख छ।
‘गरगहना लगाएर नआउनू’

पशुपति क्षेत्र विकास कोषले सोमबार पशुपतिनाथ दर्शनका लागि पुग्ने भक्तजनलाई कुनै गरगहना र जिन्सी सामान नबोक्न नलगाउन आग्रह गरेको छ। विगतका वर्षमा गहरगहना चोरी भएकाले त्यसलाई रोक्न यस्तो आग्रह गरेको कोषका सदस्यसचिव ढकाल बताउँछन्। ‘हामीले गर्नुपर्ने र दिनुपर्ने सबैखाने सेवा र सुरक्षा दिन्छौं, यति हुँदाहुँदै पनि भिडभाडमा गरगहना हराउने सम्भावना हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले कसैले पनि गहगहना र त्यस्तो महत्वपूर्ण सामग्री बोकेर पशुपतिनाथ नआउनुहोला।’

प्रकाशित: २० फाल्गुन २०७५ ००:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App