८ वैशाख २०८१ शनिबार
समाज

चन्दका कार्यकर्तामाथि राज्य विरुद्धको अपराधमा अनुसन्धान

सिन्धुपाल्चोक - ‘संगठन बिस्तार’ को क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका १७ नेता, कार्यकर्तामाथि सिन्धुपाल्चोक प्रहरीले राज्य विरुद्धको अपराधमा अनुसन्धान थालेको छ। सिन्धुपाल्चोक जिल्ला अदालतले उक्त अपराधमा अनुसन्धान गर्न प्रहरीलाई आइतबार १० दिनको म्याद दिएको छ।

जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाको कार्कीटारबाट शुक्रबार राति नियन्त्रणमा लिएको थियो। शनिबार सार्वजनिक बिदा भएकाले पक्राउ परेकाहरुलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो। प्रहरीको माग बमोजिम अनुसन्धानका लागि म्याद दिइएको अदालतका स्रेस्तेदार लेखनाथ पौडेलले बताए।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा अधिकांश विभिन्न जिल्ला तहका नेता छन्। केही पूर्वलडाकुसमेत रहेका छन्। आइतबारै जिल्ला सरकारी वकिलको कार्यालयमा उनीहरुको वयानसमेत लिइएको छ। आफूहरु संगठन विस्तारको क्रममा पक्राउ परेको वयान उनीहरुले दिएका छन्। अदालतमा म्याद थपको क्रममा उनीहरुको साथबाट बरामद सामग्री (प्रमाण) पनि प्रस्तुत गरिएको थियो।

प्रहरीले चन्दका नेता, कार्यकर्ताले साथमा बोकेको झोलाबाट दुई थान हम्मर (हडौडा), दुई थान कटर (फलामे तार काट्ने), घडी, केही थान कम्युनिस्ट दर्शनका पुस्तक, फौजी तालिमको प्रशिक्षण पुस्तक, विद्युत प्राधिकरण बाह्रविसे प्रशाखाको नाममा चन्दा माग गरिएको पत्र लगायत सामग्री बरामद गरेको थियो। प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला सदस्य रञ्जित ठकुरी, धनबहादुर श्रेष्ठ, पूर्ण मल्ल ठकुरी, मेलम तामाङ, पार्टी आन्तरिक मिडिया हेर्ने समीर तामाङ लगायत छन्। संगठन विस्तार गर्दै कार्कीटार पुगेका उनीहरु रातिको खाना खाएर सुतिरहेका बेला एउटै घरबाट पक्राउ परेका थिए। ‘संगठन विस्तार’ भन्दै सिन्धुपाल्चोक, मकवानपुर, सुनसरी, जाजरकोटलगायत जिल्लाका १७ नेता, कार्यकर्ताको टोली दोलखा, काभ्रे हुँदै सिन्धुपाल्चोक आइपुगेको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मसासिनीले अदालतबाट म्याद पाएसँगै पक्राउ परेका माथि अनुसन्धान सुरु भएको बताए। चन्दका नेता, कार्यकर्तामाथि प्रहरीले मुलुकभर उच्च निगरानी बढाइरहेका बेला उसको गतिविधि नियन्त्रणमा लिने केन्द्रीय सर्कुलर अनुसार उनीहरुलाई पक्राउ गरेको सुरक्षा स्रोतले बतायो। जिल्लामा चन्दा आतंक मच्चाएको, धाकधम्कीको राजनीति अघि बढाएको लगायत अवाञ्छित गतिविधी गरेको आरोप प्रहरीले उनीहरुमाथि लगाएको छ।

चन्द नेतृत्वको नेकपाका जिल्ला पूर्वसेक्रेटरी किरण घिमिरेले आफूहरुले कुनै अवाञ्छित गतिविधि सञ्चालन नगरेको दाबी गरे। ‘हामी विशुद्ध राजनीतिक अभियानमा छौँ। सोही अनुरुप संगठन विस्तार गर्दै हिँडेका हौँ,’ उनले नागरिकसँग भने, ‘बरु राजनीतिक असहमतिबारे भण्डारफोर पनि सँगै गरिरहेका छौँ।’ 

प्रकाशित: १९ फाल्गुन २०७५ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App