coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

जुत्ता फाटुञ्जेल पैदल

उनलाई धेरै दिनदेखि पैदल हिँड्न मन थियो। उनी आकाशमा पनि उडे। दुई पांग्रेमा पनि गुडे। चार पांग्रेमा पनि गुडे। तर दुई खुट्टामा सितिमिति कहिल्यै हिँड्न पाएनन्। उनको व्यावसायिक व्यस्ततामा पैदलजस्तो ढिलासुस्ती र फुर्सदजस्तो देखिने क्रियाकलापले कहिल्यै ठाउँ पाएन। पैसाका पछाडि यति दौडिए कि ट्रेडमिलमा दौड्ने फुर्सद पनि निकाल्न सकेनन्। कहिलेकाहीँ सडकमा गुडिरहेको गाडीबाट सडककै पेटीमा दौडिरहेको मानिस देख्दा उनी घोरिएर हेरिरहन्थे। त्यसरी दौडिनुको अनुभवको कल्पना गर्थे र एउटा काल्पनिक स्वादको अनुभूति गर्थे। 

हवाईजहाजको माहोल, गाडीको एसीको गन्ध र बाइकमा हिँड्दाको धुलो सबै उनलाई दिक्क लाग्न थालिसकेको थियो। उनलाई पैदलको प्यासले प्याकप्याक बनाउन थालेको थियो। 

एकदिन उनी साविकभन्दा एक घण्टा अगाडि ब्यूँझे। सूर्यको उदय भइसकेको पनि थिएन। कफी र अखबारको लोभ नगरी ट्रयाक सुट र स्पोर्ट सुजमा घरबाट निस्किए। उनकी पत्नी, छोराछोरी कोही ब्यूँझेका थिएनन्। 

घरको गेटबाट बाहिर निस्कँदै गर्दा मनमनै गमे, ‘कम्तीमा एक घण्टा हिँड्छु।’

एक घण्टा के दस मिनेटमै थाके। फर्किनुझैँ लाग्यो। कफीको तलतल लागेर आयो। झिसमिसे नै थियो। एउटा चिया दोकानमा उम्लिरहेको चियाको बाफ देखेर झनै प्रलोभित भए। त्यति नै बेला उनीभन्दा बीस वर्ष बढी उमेरका देखिने सेतै फुलेका वृद्ध उनीभन्दा ठमठम हिँडिरहेको देखे। मन थाम्न सकेनन्। उनी पनि लम्किए। 

‘बूढालाई जित्छु,’ भनेर कस्सिएर हिँडिरहेका उनले जित्नलाई करिब–करिब दौड्नै पर्याे। स्वाँस्वाँ भए। छाती दुखेर आएजस्तो भयो। पिँडौला फत्रक्क गले। पुर्लुक्कै ढलौँ जस्तोगरी थाके। 

पूर्वको आकाशमा घामको आगमनको आभास भयो। गुष्ममा घाम लागेपछि तराई तावा हुन्छ। त्यसो त उनी तराईमा बसेर पनि तराईको गर्मी उस्तो खप्न पाएका मानिस थिएनन्। धेरैजसो सुनेकै भरमा उनी तराईको तातोको अनुमान लाउँथे। घरीघरी फेला पर्ने उखर्माउलो तातो पनि उनलाई त्यति तातो लाग्दैनथ्यो। 

घडी हेरे। पचास पच्पन्न मिनेट भैसकेछ। 

‘अब पाँच दस मिनेट हिँड्छु अनि फर्कन्छु।’

करिब एक मिनेट पनि नहिँड्दै चुकचुकाए, ‘ज्या, घर फर्किँदा त अझै एक घण्टा फेरि हिँड्नुप¥यो। जम्मा एक घण्टाको वाक गर्छु भन्ने अठोट लिएको त।’ अनि आफ्नो मूर्खता देखेर आफैँसित हाँसे। एक एक मिनेटका लागि आफ्नो कम्पनीका स्टाफहरुलाई दस–दस गालीले हकार्ने मान्छे, आज आफैँले आफैँलाई एक घण्टा समयको हिसाब बुझाउन चुके। 

‘म मूर्ख ! आइ एम स्टुपिड।’ मुस्कुराउँदै आफैँलाई अलिक ठूलै स्वरले भने। 

छेउमा फटाफट हिँडिरहेकी एउटी केटीले उनीतिर हेर्दै मुस्कुराउँदै सोधिन्, ‘रियल्ली ?’

जवाफमा उनी हाँसे मात्र। केटी अझै अगाडि अगाडि कुद्दै गइन्। उनी पछाडि नै छुटे।

एक घण्टा बित्यो। तर उनलाई यो हिँडाइ मिठो लाग्न थालेको थियो। यो वाक टुंग्याउने मन भएन। मनमनै समयको हिसाब किताब गर्नतिर लागे। अनि के सोचे कुन्नि ‘जे सुकै होस्,’ को भाव लिएर हिँडाइ जारी राखे। उज्यालो बढ्दै गएकाले उनलाई चिन्ने मानिसहरु पनि फाटफुट भेटिन थाले। कोही अघिल्तिरको दिशामा जम्काभेट हुने किसिमले भेटिए। कोही पछिल्तिर उनलाई पछ्याउँदै हिँडिरहे। तर उनी रोकिएनन्। न पछिल्तिर को रैछ भनेर गम्नका लागि। न अघिल्तिर जम्काभेट हुनेसित भलाकुसारी गर्दिनका लागि। बस्, हिँडि नै रहे। 

उज्यालो बढेकाले उनको मोबाइलमा फोन आउने शृंखला पनि बढ्दै गए। एक दुई कल फोन उठाएपछि उनलाई झर्को लाग्न थाल्यो। मोबाइल नै स्वीच अफ गर्दिए। संयोगले त्यति नै बेला छिमेकीकी छोरी आफूतिर आइरहेको देखे। उनलाई बोलाइवरी गोजीबाट मोबाइल झिकेर दिँदै भने, ‘चार्ज सकिएछ नानु, मेरो घरमा चार्जमा हालिदिनु भनेर दिनु है।’

डेढ घण्टा बित्यो। उनलाई रोकिने मन भएन। शरीर पसिनाले आद्र भइसकेको थियो। आँत प्यासले गर्दा तीव्र छट्पटिमा जान थालेको थियो। त्यति नै बेला उनले दुई युवक आफ्नो विपरीत दिशाबाट आइरहेको देखे। एउटा युवक हातमा जुत्ता समातेर हिँडिरहेको थियो। अर्को साथीलाई भनिरहेथ्यो, ‘जुत्तै फाट्नेगरी हिँडिएछ।’ 

कालोपत्रे सडकमा हिँडिरहेकोे नांगो खुट्टाभन्दा केही मास्तिर भएको उसको अनुहार उज्यालो थियो। उनी झल्याँस्स भए। मनमनै, तुरुन्तै एउटा अठोट गरिहाले। ‘म पनि अब यो जुत्ता नफाटुञ्जेल हिँडिरहन्छु।’

अठोट त गरे। तर गरिसकेपछि एकपटक पुनः झस्किए। जुत्ता कहिल्यै फाटेन भने ?

जुत्ता नफाटे के ? हिँड्नुको सौन्दर्यलाई जीवनभरको स्मृति र अनुभवका रुपमा सक्दो संग्रहित बनाएर राख्नेछु। 

यो अठोट गर्नेबित्तिकै उनी एउटा चिया दोकनमा पसे। भाँडोमा भुलुक्क उम्लिरहेको चिया अर्डर गरे। र एक बोतल मिनरल वाटर मागेर करिब एक चौथाई घ्वाटघ्वाट पारे। 

चिया पेटभित्र छिरिसकेपछि उनको मनको ढोका जोश र जाँगरले एकसाथ ढक्ढक्याए। उनी जुरुक्क उठे र हिँडे। यतिञ्जेल घाम तालु पोल्नेगरी छिप्पिसकेको थियो। 

एघार बजेतिर उनलाई निक्कै भोक लाग्यो। हिँड्दाहिँड्दै बाटोमा एउटा होटल भेटे र छिरे। छिर्नेबेलामा उनलाई घीनघीन नलागेको होइन। गर्मी अचाक्ली भएकाले होला, झिँगा प्रशस्त भन्किरहेको थियो होटलमा। होटल छिर्ने नै बेलामा एउटा फोहोर पानी जमेको खाडल थियो। केही पर कालो ट्यांकी जहाँ एउटा सत्र वर्षे ठिटो भाँडा माझिरहेको थियो। भित्र टेबलबाट चार पाँचवटा जुठा थालहरु उठ्न बाँकी थिए। सबभन्दा कुनाको टेबलमा एउटी महिला नौ दस वर्षे बालिकाको टाउकोमा जुम्रा मार्दै थिइन्। 

खानाको अर्डर गरेर टेबलमा बसे। खाना दिन तिनै जुम्रा हेर्दै गरेको महिला उठिन्। उनको घीनको सिमाना नै रहेन।

जेजस्तो भए पनि दुई थाल भात बजाएर उनी फेरि हिँड्न लागे। घरमा जति खान्थे, त्योभन्दा चार गुना बढी खाएछन्। आफैँले हिसाब लगाए। भरिएको पेटले थाकेका गोडाहरुलाई त्यति चलायमान बनाउन सकेनन्। एउटा चौतारोमा आराम गरे। भुसुक्क निदाएछन्। भोकजस्तै यो निद्रा पनि अद्भूत मिठो थियो। आज कुनै चिन्ता छैन। अफिसमा भएको भए उनी कति तनावमा हुन्थे। अहिले कुनै तनाव छैन। अगाडि जहाँसम्म आँखा जान सक्यो, उहीँसम्म फाँट छ। माथि आकाश छ। अनि मनमा आनन्दै आनन्दको खोलो बगिरहेको छ। भाडामा जाओस् अफिस। श्रीमती र छोराछोरीको चिन्ता पनि भाडामै जाओस्। अहिले म छु र मसित यो असिम आनन्द छ। 

कहीँ बिसाउँदै, कहीँ चियाको चुस्की लिँदै, कहीँ बाटो हिँड्ने कोही भेटियो भने, केहीबेरलाई सहयात्री बनाउँदै उनी हिँड्दै गए। 

रात परेपछि एउटा सामान्य होटलमा बास बसे। सुरुमा होटल देखेर उनलाई घिन नलागेको होइन, तर कहीँ त बस्नुपर्याे। फेरि त्यो अनकन्टारमा उनले चिताएजस्तै होटल कहाँ भेटियोस् ?

उनको जीवनको पहिलो रेकर्ड बन्यो, ओछ्यानमा गएको दुई मिनेटभित्रै उनी मज्जाले निदाए। आज उनको निद्रामा केवल निद्रा मात्र थियो। नभए, उनको निद्रामा निद्राभन्दा पनि हिसाब–किताब, नाफा–घाटा, भविष्यको योजना, रिस, घृणा, लोभ आदि मिसिएर आउँथे र निद्रा नै बिटुलो पारिदिन्थे। आज उनको निद्राको कौमार्य भरखर हिमालको हिउँ पग्लेर बगेकोजस्तो स्वच्छ र सङ्लो छ। 

अर्को दिन जुरुक्क उठी नित्यकर्म गरेर चिया खाइवरी होटलबाट निस्किए। सुरुमा जिउ खुकुलिएन। खुट्टा फटाफट बढ्न सकेन, मानौँ पछाडिबाट कसैले आफूतिर तानिरहेको छ। खिया लागेर जाम भएको मेसिनको पुर्जाजस्तो शरीरका अवयवहरुमा गतिशीलताको अभाव टड्कारो देखिन्थ्यो। 

मरीतरी घिस्याए आफैँलाई, मानौँ भरखर खसीबजारमा मोलमलाइ गरेर किनेर ल्याएको पाँच धार्नीको खसीलाई डो¥याइरहेछन्। सुरुका केही पाइलाहरु कष्टकर भए पनि केही पाइलाहरु बढेपछि जिउ मात्र होइन, मन पनि खुकुलिँदै गयो। आज आकाशको आँगनमा घामलाई साथी भएर बादल पनि आएको थियो। गर्मीको गुञ्जायस थिएन। 

जंगलजस्तो ठाउँमा उनी पसिना पसिना भएर हिँडिरहेको अवस्थामा उनको पछाडिबाट एउटा पल्सर स्पीडमा आयो, उनी नजिक आएपछि अलिकति गति घटायो र उनलाई पुलुक्क हेरेर फेरि अगाडि बढ्यो। पछाडिबाट अरु दुईवटा बाइक पनि उसैगरी आए र गए। 

उनी हिँडेको करिब एक घण्टापछि एउटा चिया खाने छाप्रो आयो। ट्यूबेलको पानी घटघट पिइसकेपछि उनले चिया मगाए। ती अघिका बाइकवाला केटाहरु पनि त्यहीँ रोकिएका थिए। 

उनले केटाहरुलाई र केटाहरुले उनलाई मज्जैले हेरे। चिया पिइसकेर उनी फेरि हिँडे। दुई घण्टा हिँडिसकेपछि साँझ प¥यो। वरपर होटल खोजे, भेटेनन् र अन्ततः एउटा छाप्रोमा बास मागेर बसे। जम्मा दुईवटा कोठा भएको त्यस छाप्रोमा बास दिनेहरुको चारजना परिवार एउटा कोठामा बसे र एउटा कोठा उनलाई छाडिदिए। खानामा सुख्खा रोटी र पिँडालुको तरकारी मज्जाले खाए। 

भोलिपल्ट बास बसेको ठाउँ छाडेर हिँड्ने बेलामा पर्सबाट हजारका दुईवटा नोट झिकेर दिन खोजे। उनीहरुले लिन मानेनन्। जति करकाप गर्दा पनि। उनी बडो आश्चर्यचकित भए। के यो दुनियाँमा यस्ता मानिस पनि बस्छन् ?

उनीहरुबाट बडो प्रभावित भएर उनले आफ्नो मोबाइल नम्बर दिँदै भने, ‘कुनै दिन कुनै पनि समस्या परे मलाई सम्झिनुस्, तपाईंहरुको यो आतिथ्यको गुन तिर्ने मौका पाएँ भने मेरा लागि त्यो सौभाग्य हुनेछ।’  

नुहाइँधुवाइँ गरेर उनी निस्किए। एकपटक जुत्तातिर आँखा लगाए। फाट्ने कुनै संकेत थिएन। मध्याह्नमा फेरि हिजोकै बाइकवाला केटाहरु भेटिए। उनीहरु एउटा भोजनालयको आँगनमा क्यारेमबोर्ड खेलिरहेका थिए। उनले भात खानलाई त्यही ठाउँ उपयुक्त सम्झिए। 

भात कुरेर उनी भोजनालयको बाहिरपट्टि नै बसिरहेका थिए। केटाहरु गेम सकिएपछि उनीनेर आए र तीमध्ये एकले सोध्यो, ‘सरलाई हिजोदेखि नै देखिराख्या छौँ, हिँडेको हिँड्यै हुनुन्छ। केही मिसन छ कि  ?’

उनले भनेँ, ‘हो भाइ हो। मिसन नै हो। यो जुत्ता नफाटुञ्जेल हिँड्ने मिसन।’

केटाहरु आपसमा मुखामुख गर्न थाले। उनीतिर अझै नजिक बढेर सोधे, ‘किन त्यस्तो सर ?’

‘हेर्नुस् भाइहरु, तपाईंहरु मेरो यो कुरो सुनेर छक्क नपर्नुस् कि मसित जीवनमा एउटा पनि जुत्ता फटाएको सम्झना छैन। न म जीवनमा कहिल्यै त्यसरी हिँडे कि जुत्तै फाटोस्। अचानकसित मेरो जिन्दगी पनि के जिन्दगी जस्तो लाग्यो र हिँडे, कमसेकम एउटा जुत्ता त हिँडेरै फटाउँ भनेर।’

केटाहरुले उनका जुत्तातिर पुलुक्क आँखा लगाए। एउटा केटोले आँखा च्यात्दै भन्यो, ‘दाइ तपाईंको फ्यान भएँ।’

बाँकीका दुई केटा पनि नतमस्तक भएको हाउभाउ देखाए। 

यै पहिलो केटाले भन्यो, ‘तपाईंसित म पनि हिँड्छु। यो जुत्ता नफाटुञ्जेल। पुरानो भएर कति जुत्ता फालियो होला तर हिँडेरै फटाएको अनुभव मसित पनि छैन। लैजानुहुन्छ ?’

बाँकी दुई केटाले आफूहरु पनि हिँड्न इच्छुक भएको बताए। उनले केटाहरुलाई स्वागत गरे। 

नजिकै घर भएको केटोले गएर गितार लिएर आयो। खाना खाएपछि चारजनाको टोली हिँड्न थाल्यो। एउटा केटोले हिँडिरहेकै अवस्थामा भन्यो, ‘मिसन जुत्ता फटाउ।’ बाँकीका केटा हाँसे। 

चारजनाको टोली भएपछि उनीहरुको यात्रा रमाइलो भयो। उनले केटाहरुको घर परिवार, अध्ययन, सपना आदिका बारेमा सोधे। केटाहरुले नढाँटी भने। ब्याचलर्सको जाँच सकिएर छुट्टीमा काठमाडौंदेखि आएका रैछन्। एउटाको घर क्यारेम खेलिरहेको भोजनालयभन्दा दुई किलोमिटर भित्र रैछ। बाँकी दुईको चार पाँच किमि पर।

उनले पनि आफ्ना सबै कुरा भने। भागदौडको व्यस्त जीवन, आफूलाई दिने समय नभएको पीडा, कसरी सफलताको उचाइमा पुगे, सबै भने। केटाहरु उनीबाट झनै प्रभावित भए। 

तिनीहरु घाम चर्किएको बेला हिँडे। बादल फैलिएको बेला हिँडे। साँझ झमक्क नहुञ्जेलसम्म। साँझ परेपछि बास खोज्न केटाहरु लागे। एउटा मध्यमस्तरको लज फेला पारे। धेरै गर्मी भएकाले सबैले नुहाए। 

लज बाहिर रहेको कटेजजस्तो ठाउँमा वरपर बसेर गफिन लागे। गितार बोक्नेले गितार बजाउँदै गीत गायो। बाँकीले थपडी मारे। राति अबेरसम्म बसेर बियर पिए। 

र, बिहान पनि अबेरै ब्यूँझे। ब्यूँझनासाथ चिया पिएर सबै निस्किए, मिसन जुत्ता फटाऊ अभियानमा। आजको दिन बादलै बादलले आकाश ढाकिदिएर गृष्मले आक्रान्तहरुका लागि गुन लगाइदिएको थियो। झन् निरन्तर हिँडिरहने उनीहरुका लागि त योभन्दा के चाहियो। जोस्सिएर हिँड्न थाले। 

दिउँसो करिब एक बजेतिर पानी छिट्याउन थाल्यो। हेर्दाहेर्दै हावाहुरी चल्यो र थामिएपछि झन् ठूलो वर्षात् भयो। गर्मी अचाक्ली भएको थियो, वर्षाद्ले उनीहरुमा झन् उर्जा थप्यो। धेरै बेर भिजिसकेपछि उनीहरुले रोकिनुपर्ने निर्णय गरे। तर जंगल भएकाले रोकिने ठाउँ थिएन। बल्ल एउटा बस बिसौनीजस्तो ठाउँ आइपुग्यो। गाउँ अलिक भित्रतिर हुँदो हो। उनीहरुले बस बिसौनीमा अड्डा जमाए। गितार बोक्ने केटोले वषाद् सम्बन्धीका गीतहरु फेरि सुनायो।

पानी रोकिएपछि उनीहरु फेरि हिँडे। 

बेलुकी लज पाएपछि सबभन्दा पहिले आँगनमा दाउरा बाल्ने प्रबन्ध मिलाए। र आ–आफ्ना भिजेका लुगा सुकाए। लुगा सुकिसकेपछि त्यहीँ बार्बेक्यू गरे। बियर पिए र सधैँजसो गीत र मातमा निर्लिप्त भए। 

अर्को दिन दिउँसो तीनमध्ये एकको जुत्ता अगाडिको चुच्चोबाट फाट्यो।

जोस्सिएर उ करायो, ‘मेरो फाट्यो !’

‘के ?’ उसका साथीहरुले नसोचीकनै सोधे।

‘जुत्ता।’ सबैका आँखा उसको खुट्टामा पुगे। 

सबैको सहमतिले उसलाई नजिकै गाडी लाग्ने ठाउँबाट घर जाने गाडी चढाउने निधो गरियो। बस चढाउने बेलामा उसले सबैसित अंकमाल गर्याे। विशेष उनीसित फेरि पनि भेट्ने वाचा गर्दै छुट्टियो। 

यात्रामा तीनजना बाँकी रहे। यात्राका क्रममा घरी गाउँ आयो, घरी सानो बजार आयो, घरी जंगल आयो, घरी भीड आयो, घरी सन्नाटा छायो। उनीहरु घरी भोकले गले। घरी थकाइले बसे। घरी गर्मीले भत्भतिए। घरी प्यासले रन्थनिए। दृश्यहरु फेरिँदै गए। अनुभूतिहरु आउने जाने चलिरह्यो। धेरै चिज छुट्दै गए। केही नयाँ चिज भेटिँदै गए। समग्र यात्राको आम अनुभूतिझैँ उनीहरुको अनुभूति भयो। 

अर्को दिन दोस्रो युवकको पनि जुत्ता उध्रयो। उसलाई पनि उसैगरी बिदा गरियो। बाँकी दुई रहे। धन्न गितार बजाउने साथमा रह्यो र एउटा रमाइलो माहोल छुट्न पाएन। 

एउटा रसिक मान्छे साथमा हुनु र नहुनुले जिन्दगीको यात्रा कस्तो पार्ने रैछ, यो उनले महसुस गरिरहेका थिए। 

बेलुकी बास बस्ने लजमा केटोले ‘भन्नुस् सर, कुन गीत गाइदिउँ ?’ भन्ने प्रश्नमा उनले आफ्नै मनको आवाज सुनेर सिफारिस गरिरहेका थिए, ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिउनुमा।’

केटोले बडो कर्णप्रिय आवाजमा आफूलाई नारायण गोपालमा ढाल्दै गाइदियो। दुई बोतल बियर पछि गायक र श्रोताको खुब जम्यो।

‘गाजलु ती ठूला ठूला आँखा,’ र ‘माया गर्नेको चोखो माया पनि देखियो,’ होस् वा ‘कैले तिम्रो पछ्यौरी,’ देखि ‘सिमसिमे पानीमा,’ सम्मका गीतहरु चलि नै रह्यो। 

एक हप्ता बित्यो। उनीहरुको यात्राको विशेषता यही थियो कि उनीहरुलाई कहीँ पुग्नु थिएन। चाँडो गर्नु थिएन। ढिलो भयो भनी सुर्ताउनु थिएन। बस्, हिँड्नु थियो। जुत्ता नफाटुञ्जेल। 

त्यसैले त दिउँसो मध्य घामको बेला गर्मीले अत्यधिक पोलेको बेलामा कतै खोला भेटे भने कपडा खोलेर पसिहाल्थेँ। थकाइ धेरै नै लागेको महसुस भो भने कतै ठूलो रुखको काखमा गएर घण्टौं सुतिदिन्थे। हिँड्दाहिँड्दै दिक्क लाग्यो भने, केटो गितारका तारहरुमा औँला चलाउँथ्यो र कण्ठलाई गतिशील बनाउँथ्यो। सुरु भएपछि आठ दसवटा गीत नगाइ उठ्दैनथ्यो। 

उनी पनि केटोको संगतले अलिक रौसे हुँदै गए। कतै बजार आयो भने मासु पसल छिरेर सिँगै कुखुरा बनाउन लगाउँथे जो पछि यात्राको क्रममा अनकन्टार ठाउँमा पोलेर खाने माहोल मिलाउँथे। बियर, पोलेको कुखुरो र सँगीतमा उनीहरु कुनै दिन दिनैभरि आगो बालेर जंगलको छेउछाउ पसेर बिताइरहेका हुन्थे। 

उनीहरुको सम्बन्ध दुईमध्ये एकको जुत्ता फाट्नुको परिणाममा अड्केको थियो।

उनी केटोलाई भन्थे, ‘हेर भाइ, तिम्रो र मेरो यो साथ कुनै बेला पनि टुङ्गिन सक्छ। अहिले एक घण्टा नहिँड्दै तिम्रो जुत्ता फाट्यो भने अथवा मेरै फाट्यो भने, हामी एक्लै हुनेछौँ। त्यसैले जति समयसम्म हुन्छौँ, इन्जोय गरौँ। त्यसरी एकोहोरो नहिँडौँ। गफ गरौँ, जोक सुनाऔँ। खाऔँ, पिऔँ, नाचौँ, हाँसौँ ।’

केटोलाई यस्तो रसिक हुन आपत्ति किन हुन्थ्यो र ?

प्रत्येक घण्टा हिँडेपछि उनीहरु केही रमाइलो गर्न भनेर रोकिन्थे। एक ठाउँमा त बियर धेरै भएर होला, उनले केटोले गाएको, ‘छेक्यो छेक्यो’ मा छमछमी नाचे। 

उनले लगाएको ट्रयाकको घुँडा ह्र्वालांग ह्र्वालांग देखिन थालेको थियो। मास्तिरको ज्याकेटको कलरमा परैबाट प्रष्ट मैलो देखिन थालेको थियो।

एकदिन दुवैजना खोलाको तीरमा बसेर बेस्सरी लूगा धोए। लूगा सुकुञ्जेल कट्टुमा मात्र थिए उनीहरु। दिनभरि घरी खोलामा पौडिएर, घरीघरी मात्र बाहिर घाममा निस्किए। फेरि घाममा धेरै टिक्न नसकेर खोलामै छिर्थे। 

यो क्रियाकलापले केटोलाई बेलुकी चिसो गढेर होला ज्वरै आयो। अर्को दिन उनीहरु हिँडेनन्। नजीकैको लज खोज्दै गएर बसे। त्यहीँ सिटामोल खाँदै केटाले आराम गर्याे। 

ऊ ठीक भयो तर त्यसदिन करिब दुई तीन घण्टा पनि नहिँडी उसको जुत्ता फाट्यो। 

केटालाई बिदा गर्ने बेलामा उनी निक्कै भावुक भए। एउटा राम्रो सहयात्री उनको जीवनबाट छुट्दै थियो। उनले छुट्ने बेलामा भने, ‘धन्यवाद मलाई मसित चिनाइदिएकोमा। तिम्रा साथीहरुलाई धन्यवाद सुनाइदिनु।’

‘म तपाईंलाई खुब मिस गर्नेछु सर,’ बस चढ्ने बेलामा केटोले भन्यो। 

केटो बस चढेर गइसकेपछि उनलाई विरक्त लाग्यो। आफ्नो ब्रान्डेड जुत्तातिर हेर्दै बिरक्त देखिए। कहीँ पुग्ने होड थिएन तर पनि उनलाई अगाडि तेर्सिएको बाटो लामो लाग्यो। यात्रा पट्यारलाग्दो लाग्यो। तर हिँड्नु त थियो। हिँडे। भरखर आफ्नो नयाँ रुपसित साक्षात्कार गर्न पाएका थिए। गुन्गुनाउँदै हिँडे। एक्लै भएका ठाउँमा आफूले गाएको गीतमा नाच्दै पनि हिँडे। बियरको मातमा पनि हिँडे। रुख र पातहरुसित गफ गर्दै हिँडे। हावासित हात मिलाउँदै हिँडे। 

तर जति ब्रान्डेड होस्, जुत्ताले त एकदिन फाट्नै पर्छ। पर्सिपल्ट उनको जुत्ता पनि फाट्यो। उनले आफ्नो जुत्ता खोले र भरखरै फाटेको जुत्ता हेरेर आँखाबाट आँशु खसाले। उनको मुहारमा बिजयको भावजस्तो थियो। जीवनको गूढ सत्य भेटेझैँ, उनको अनुहार दिव्य प्रकाशले उद्भासित भइरहेको थियो। हृदय आह्लादको नवीन अनुभूतिले पुलकित भइरहेको थियो। समग्रमा उनको जीवन नै परिवर्तित भएको थियो। उनले फाटेको जुत्तालाई एक हातमा समातेर दर्गुनसम्म दगुरे। स्कुले ठिटोलाई घरमा देखाउन हतार भएको कुनै ट्रफीसरी। कसैले देखे बौलायो भन्दा हुन्। उनी जीवनमा सग्ला चीजहरु देखेर पनि यति खुसी कहिल्यै भएनन् जति अहिले फाटेको, बिग्रेको चिज देखेर खुसी भइरहेछन्। 

अन्ततः बस चढेर उनी पनि घर फर्किए। 

घरमा उनलाई देखेर उनका परिवारका सदस्यहरु छक्क, रिस, भावुक भाव एकैसाथ प्रकट गरे। प्रश्नहरु एकैपटक ओइर्याए। जवाफ उनी तुरुन्तै दिइरहेका थिएनन्। अनुहारमा मुस्कान र सन्तुष्टिबाहेक केही थिएन। 

‘के खोज्न हिँड्नु भएको ? के पाउनुभो ?’

परिवारकै सदस्यबाट आएको यो प्रश्नमा भने उनले मन्द मुस्कुराउँदै भने, ‘जीवनमा कमसेकम एउटा मात्र जुत्ता फाटुञ्जेल पैदल हिँड, जे पाउँछौँ त्यो तिम्रो जीवनको सबैभन्दा ठूलो खजाना हो।’

परिवारका सदस्य सब एक आपसमा मुखामुख गर्छन्। उनी भने सरासर आफ्नो कोठामा जान्छन्। 

प्रकाशित: १९ फाल्गुन २०७५ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App