मिथिलाञ्चलको अनुपम सम्पदा

मिथिला लोकचित्रको व्यावसायिक भविष्य

आइतबार, १९ फागुन २०७५, १३ : १३ नागरिक

रामभरोस कापडि भ्रमर

जनकपुरधाममा भारत सरकारको सहयोगमा जयनगर (भारत) देखि बर्दिबास सम्मको रेल खण्ड बन्दैछ। यसमध्ये जनकपुरधाम–जयनगर खण्ड निकट भविष्यमा संचालन हुँदैछ। यहाँ रेल्वे स्टेसनको उल्लेख त्यस कारण गरिएको हैन, त्यहाँ मिथिला लोकचित्रको सुन्दर, आकर्षक चित्रांकनका लागि चर्च गरिएको हो। राम–सीतासँग सम्बन्धित चित्रहरु पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ। 

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीजी जनकपुर आउँदा जनकपुरधाम उपमहानगरपालिकाले जानकी मन्दिरको पर्खाल, बाह्रबिघाको पर्खालमा मिथिला लोकचित्रको नाउँमा लाखौं रुपैयाँ खर्च गरेर बनाइएका चित्र पनि छँदैछन्। तर त्यसको महत्व र पहिचान कला पारखीहरुको नजरमा हुन सकेको छैन। 

यी दुई उदाहरण मिथिला लोकचित्रको विशिष्ट पक्षतिर ध्यानाकर्षण गराउन पर्याप्त छन्। चित्र कोर्नु रहरले होइन, यो विज्ञान हो, कला हो। यसभित्र निहित भावार्थको असल अभिव्यक्ति चित्रको रेखा, विषयको आकार–प्रकार र त्यसमा प्रयोग भएका रंगहरुको उचित तालमेलले मात्र दिन सक्तछ, रकमको दुरुपयोग गरी विधि पुर्याउन पक्कै पनि हतारमा मोदी प्रकरणजस्ता चित्रहरु मिथिला लोकचित्रको गौरवशाली अतीत र वर्तमानलाई पारखीको नजरमा कमजोर र कमसल तुल्याउनु नै हुनेछ, जसमा नियन्त्रण गर्नै पर्दछ।

अहिले फ्युजनको नाउमा मिथिला कलाको मूल तत्वलाई ओझेलमा पार्ने काम भइरहेको छ, यसबाट बच्नु जरुरी छ। यद्यपि यो फ्युजन कलाले बजारमा राम्रो उपस्थिति दिन सक्दछ तर मौलिकतामा ह्रास आउँदा यसले कलाको निजत्वलाई पछिसम्मका लागि नोक्सान पुर्याउने काम गर्छ।

सुरुवात
यो कला अस्तित्वमा कहिले आयो यकिन भन्न सकिँदैन। तर लोकधारणाअनुसार जनकपुरमा राजा जनककी छोरी सीताको विवाहोत्सवमा उनका घरका पर्खालमा कोरिएका चित्रहरुबाट नै यसको सुरुवात भएको धारणा छ। रामचरित मानसमा सन्त तुलसीदासले जनकजीको घर–परिवेशको वर्णन गर्दा यतातिर संकेत गरेका छन्। वास्तवमा मिथिला क्षेत्रमा यो कला गाउँ–घरकी अशिक्षित महिलाहरुद्वारा प्रकाशमा ल्याइएको हो। गाउँ–घरमा धार्मिक अनुष्ठान, बिहे–बारी हुँदा घरका टाट (बाँसको बती र माटोले तैयार पारिएको) मा गोबर र रंगले बनाइने चित्रहरु नै पछि मिथिला कलाको रुपमा प्रकाशमा आए। यसमा कुनै प्रशिक्षण वा प्रविधिको आवश्यकता भएन। परम्परागतरूपमा आत्मसुख र घर–आँगनको सौन्दर्यवृद्धिका लागि बनाइने यस्ता चित्रहरु त्यतिबेला कुनै खास गुढ अर्थ राख्दैनथे। एउटा विदेशी कला पारखीको आँखा परेपछि मात्र यसले आफ्नो विस्तार गर्न पायो।

तत्कालीन ब्रिटिस भारतको मधुवनीमा कार्यरत आइसीएस अधिकृत विश्वविख्यात कला मर्मज्ञ डब्लुजी आर्चर महोदय (१९३४–४० ई.) ले मार्ग, भाग–३ बम्बईमा लेख लेखेर यस कलालाई सर्वप्रथम “मैथिली चित्रकला” को नाउँ दिए। 

त्यसपछि यस कलाप्रति जनरुचि बढ्दै गयो र भारतीय कला समीक्षक उपेन्द्र महारथी र पुपुल जयकरहरु गाउँ–घरमा भूमि, पर्खाल, टाटमा लेखिएका चित्रहरुलाई कागजमा उतार्न लगाए। त्यतिखेर यो कागज नेपालमा बन्दै गरेको बसहा कागज मगाएर उतार्ने काम गरिन्थ्यो। अहिले पनि बसहा कागज बन्ने गर्दछ तर चित्र लेख्न अन्य कागजको प्रयोग भारतीय क्षेत्रमा बढी हुने गर्दछ। नेपालमा यो क्रमले निरन्तरता पाउँदै आएको छ।

जनकपुरधाम यसको प्रथम व्यावसायिक उद्गमस्थल बन्यो १९९२ ई. मा, जब लायन्सक्लबको एउटा सहायक परियोजनाअन्तर्गत लोकचित्रको चित्रांकन बनाउन सुरु गरिएको थियो। औपचारिक रुपमा जनकपुर नारी विकास केन्द्रको गठन गरियो र सबैतिरका महिलालाई त्यहाँ प्रशिक्षण दिई चित्र बनाउने काम सुरु भयो। पछि विदेशी महिला क्लियर वर्केटको देखरेख र व्यवस्थापनमा त्यही केन्द्रबाट निर्माण भई मिथिला लोकचित्र अन्तर्राष्ट्रिय बजारसम्म पुग्न थाल्यो। एक समयमा एउटै यसै केन्द्रको बिक्री लक्ष्य २ करोड रुपैयाँसम्म थियो। यो केन्द्रले शिल्पकारहरुको संख्या जति बढाए पनि कलाकार भने त्यत्ति उत्पादन गर्न सकेनन्। तर यस कलाको प्रभावी व्यावसायिक स्वरुप भने यसैले दिएकोमा दुई मत छैन।

अहिले नेपालबाट विदेश वा स्वदेशमै बेचिने मिथिला आर्टका चित्रहरुको डेढदेखि दुई करोडसम्मको बिक्री अवस्था रहेको कलाकारहरु बताउँछन्। यसमा सरकारको न्यून सहभागिताप्रति उनीहरु रुष्ट हुँदै प्रोत्साहनको अभावतिर संकेत गर्दछन्।

जनकपुर आर्ट एण्ड क्राफ्ट  (स्थाः २०५२ साल) का सञ्चालक र कलाकार अजितकुमार साह मुन्ना सरकारले मिथिला लोकचित्रको बजारलाई व्यवस्थित बनाउन नीति तर्जुमा गरी सहयोगात्मक अवस्थाको सृजना गरे भने सालको ८–१० करोडसम्मको पनि व्यापार हुन सक्ने ठोकुवा गरे।

अजित साह जनकपुरबाट यो कलाको शुभारम्भ गरी आज काठमाडौं आधार बनाएर अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति दर्ज गर्न सफल भएका छन्। उनका देश र विदेशमा अनेकौं कला प्रदर्शनी भइसकेका छन् जहाँ उनले यसबारे निकैे चासो राखेका विदेशी कला पारखीहरुसँग अन्तक्र्रिया गर्न भ्याएका छन्। 

त्यस्तै विराटनगरका एससी सुमन पनि आफ्नो विशिष्ट शैलीको कारण कला पारखीको आँखामा निरन्तर पर्ने गरेका छन्। यिनका चित्रहरुमा मैथिल र काठमाडौं उपत्यकाका सम्पदाहरुको छाप स्पष्ट देख्न सकिन्छ। हाल बबरमहलको शिद्धार्थ गैलरीमा मिथिला कोसमस नामले यसै पृष्ठभूमिका चित्रहरुको उहाँको एकल प्रदर्शनी जारी छ। यस प्रदर्शनीबारे उनको भनाइ छ काठमाडांैमा बाल्यवस्थादेखि ललितकला प्रतिष्ठानमा प्राज्ञ बनुञ्जेलसम्म आफूले प्राप्त गरेका अनुभवहरुलाई रंगको सहायताले कोर्ने प्रयास गरेको छु। मिथिला कला क्षेत्रमा लागेका कलाकारहरु बिचौलियाबाट शोषित भइरहेको प्रति गम्भीर चिन्ता व्यक्त गर्नु हुँदै उनी थप्छन् सरकारले यसको उचित व्यवस्थापन गर्न सके समस्याको समाधान हुन सक्नेमा आफू विश्वस्त रहेको छु।

पहिला यस क्षेत्रमा महिलाको वर्चश्व हुन्थ्यो। त्यसमा पनि ब्राह्मण र कायस्थ जातिकै। तर अहिले महिला र पुरुषबराबरी रुपमै यस कलामा संलग्न भएका छन्। र अब जातिको कुनै सीमा रहेन। यिनीपछिका  जातिका पुरुष र महिलाहरु यस व्यवसायमा निकै सक्रिय भएर आएका छन्, जसका उदाहरण एससी सुमन, अजित साह, जितबहादुर रायमाझीजस्ता पुरुष कलाकार छन्। यस क्षेत्रमा रुचि राख्नेहरु दिनहुँ बढ्दै गए पनि सुव्यवस्थित धरातलको अभावमा छिन्न–भिन्न रुपमा काम गर्नु पर्दा त्यसले समग्र व्यवसायलाई रेखांकित गर्न अप्ठ्यारो पार्छ। त्यसैले पनि संघीय सरकार र प्रदेश सरकारहरुले आ–आफ्नो स्तरमा मिथिला कलाको विकासका लागि कला प्रतिष्ठान वा संकलन र बिक्री केन्द्रजस्ता निकायको गठन गरेर अगाडि बढ्न सके यो कला अझ व्यापक रुपमा अगाडि बढ्न सक्ने सम्भावना देखाउन सक्थ्यो। 

सामग्रीको माग
मिथिला लोकचित्रमा देवीदेउताको चित्र प्राथमिकतामा पर्दछ। रामायण, महाभारत, गीता आदिका प्रसंगहरु बढी कोर्ने गरिन्छ। विष्णु, लक्ष्मी, कृष्ण, राम–सीता, गणेश, दुर्गा, काली कलाकारहरुका प्रिय पात्र हुन्। दोस्रो रुचि अरिपन चित्र हो। यो चित्र व्रत, पूजा, अनुष्ठान, विवाह आदिमा लेखिने गरिन्छ। अरिपन चित्रमा प्रयोग हुने कोणहरु र रंगहरुको संयोजनबाट तन्त्र विद्याको संकेत भएको कलापारखीहरु मान्ने गरेका छन्। 

तेस्रो प्रकारमा कोहबर चित्र हो। यो चित्र दुलाहा–दुलहीको प्रथम मिलनको रातिका लागि सजाइएको घरको कोठामा लेखिने चित्र हो। यसमा माछा, बाँस, चन्द्र–सूर्य, पुरैनको पात, कमलको पूmल, कछुवा, सुगा र चारै कुनामा नैना–जोगीनको चित्र प्रमुख हुन्छन्। यी सबै चित्रहरुको सुखी दाम्पत्य जीवनमा अर्थपूर्ण सन्देश प्रेषित गरिएका हुन्छन्। 

चौथो किसिममा लोकजीवनका विविध पक्ष समेटिएका चित्रहरु हुन्छन्। यसमा भान्सा गर्दै महिला, रिक्सा, साइकल चलाउँदै महिला, खेतीमा कृषक, पर्व–तिहार, ढिकीका धान कुट्दै गरेकी, खेतमा धान रोप्दै, जाँतोमा आँटा पिघ्दै, बसमा यात्री, जस्ता चित्रहरु बढी हुन्छन्। 

चित्रकार र कला व्यवसायीहरु भन्छन्  क्रेताहरु अब यस्तै खाले चित्रहरु बढी रुचाउने गर्दा अब अधिकांश रुपमा यस्तै प्रकारका चित्रहरु बढी बनाइने गरिन्छ। अन्य माथिका तीन प्रकारमध्ये अरिपन कला पनि देशी–विदेशी ग्राहकहरुको रुचिका विषय भएकोले यसमा पनि कलाकारहरु सृजनशील भइ रहन्छन्। अरिपन चित्र सबभन्दा बढी प्रयोगमा आउने लोकप्रिय चित्रमध्ये प्रमुख रहेको छ। यसमा प्रयोग हुने ज्यामितीय रेखाहरुको भावार्थ बुझ्दा कुनै रहस्यलोकको कथा जस्तै रोमाञ्चक र जिज्ञासाबद्र्धक हुने भएकोले पनि यो विदेशी ग्राहकहरुको रोजाइमा बढी पर्दछ। 

मिथिला कलाको व्यवस्थित आधार कर्णाट शासकहरुको सिम्रौनगढ आगमन (१०९७–१३२४ई. ) पछि सुरु भएको जसको व्यापक जनाधार त्यसका अन्तिम राजा हरिसिंह देव ( १३२४ ई ) को शासन कालमा फैलिएकोे मानिन्छ।

व्यावसायिक अवस्था
मिथिला लोकचित्रको व्यवसाय छिटपुट रुपमा हुने गरेकोले यकिन रुपमा कुनै पनि व्यवसायीले आँकडा दिन असमर्थता देखाउँछ तर केही महत्वपूर्ण ईकाइबाट बिक्री–वितरण हुने गरेको तथ्यांक प्राप्त हुँदा वास्तविक रुपमा यो अहिले २–३ करोडको हाराहारीमा हुन आउँछ। काठमाडौं आधार बनाई यसमा संलग्न मिथिला चित्रका कलाकारहरु अजित साह, एससी सुमन, मिथिलादेवी यादव, मदनकला देवी, श्याम सुन्दर यादव, जितबहादुर रायमाझी आदिको निर्माण र बिक्रीको अवस्था व्यक्तिगत स्तरमा रहेको देखिन्छ भने फेयर ट्रेड ग्रुप नेपालजस्ता संस्थाहरुबाट खरिद गरी बाहिर पठाउने गरिएको अवस्था छ। यी सबैले आ–आफ्नो तथ्यांक दिए भने मात्रै वास्तविक आँकडा स्पष्ट हुन सक्तछ। तर पनि यस कलाको विकास र यसको व्यावसायिक प्रवद्र्धनको प्रशस्त सम्भावनालाई भने अस्वीकार गर्न सकिन्न। 

यसका लागि के गर्नु पर्दछ त ? जनकपुर आर्ट एण्ड क्राफ्टका सञ्चालक र कलाकार अजित साह भन्छन्–सरकारले ट्रेडको कुनै ईकाई खोलेर त्यसमार्फत आवश्यक चित्रको छनोट गरी खरिद गरेर बाहिर बिक्रीको व्यवस्था गरियो भने त्यसले कलाकारहरु आफ्नो उचित पारिश्रमिक पाउँथे। उनको एउटा गुनासो पनि छ–सरकारले मिथिला चित्रकलाका कलाकारहरुलाई पुरस्कार, सम्मान गर्दछन् तर तिनीहरुको विज्ञताको उपयोग कतै गर्न रुचि राख्दैनन्। बरु पहुँचको आधारमा विज्ञताको छनोटले कलाभित्रको मूल भाव प्रभावित हुन्छ। 

यो आलेख तयार गर्दैको अवस्थामा सिद्धार्थ आर्ट गैलरी, बबरमहलमा आफ्नो मिथिला कलाको प्रदर्शनीमा व्यस्त कलाकार एससी सुमन मिथिला लोकचित्रको व्यावसायिक भविष्यप्रति अस्वस्थ देखिनु हुन्छ। तर यसका लागि सरकार र निजी क्षेत्रको जवाफदेहीलाई कम आँक्न सकिन्न–उहाँको तर्क छ।

संरक्षण जरुरी
मिथिला चित्रकला पर्खाल र कागजको पन्नामा सुरक्षित राखेर मात्र भएन, यसको सौन्दर्य र भाव कला पारखी आम जनसमुदायको घर–घरमा पनि जान सक्ने अवस्थाको सृजनाविना सरकारी प्रयत्नले सम्भव हुँदैन। तिनै कलाकारहरुलाई काम दिई उनले निर्माण गरेका कामहरुलाई आम उपभोक्ताबीच कम मूल्यमा पु¥याउन सक्ने सरकारको योजना हुन सक्नु पर्दछ। आशा गरौं, संघीय र प्रादेशिक सरकारहरु कला प्रदर्शनीका लागि त्यस्तो छुट्टै निकायको गठन गरी, त्यहाँबाट सोझै अथवा आफ्नो परियोजनामा संलग्न गरी सरकारी मूल्यमा खरिद गरी त्यसलाई सर्वसुलभ बनाउन आवश्यक योजनाको तर्जुमा गर्ने छन्। 








यसमा तपाईको मत

अन्य समाचार

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

Ncell Footer Ad