८ वैशाख २०८१ शनिबार
अर्थ

किसानलाई किवी खेती तालिम

सोलुखुम्बु – पूर्वी नेपालको आठ जिल्लाका अगुवा कृषक सहभागी चारदिने व्यावसायिक किवी खेती तालिम सकिएको छ। कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र झुम्काको आयोजना तथा बागवानी केन्द्र फाप्लुको प्राविधिक सहयोगमा तालिम किसानलाई तालिम दिइएको हो।

बागवानी केन्द्र फाप्लुको तालिम हलमा भएको तालिममा पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, ओखलढुंगा, खोटाङ, संखुवासभा, सोलुखुम्बुका २० अगुवा कृषकको सहभागिता थियो। तालिममा किसानलाई स्थलगत सिकाइमा जोड दिइएको थियो। जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक वीरकुमार राईले कृषकलाई अनुदानले बिगारेको बताए। उनले सहुलियत दरमा कृषि ऋण प्रदान गर्न सके कृषक अझ परिश्रमी बन्ने बताए। राईले भने, ‘पहुँचका भरमा दिइने अनुदानले न लगानीको सदुपयोग गर्छ, न त कृषक नै व्यावसायिक बन्छन्।’ अनुदानभन्दा पनि सस्तो ब्याजदर ऋण लगानी गरिनुपर्ने उनको भनाइ छ।  केहीले अनुदानका लागि मात्र पनि फर्म दर्ता गरेर बस्ने गरेको उनको भनाइ छ।

कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र झुम्काका कृषि प्रसार अधिकृत सुरुची त्रिपाठीले तालिम अन्तरक्रियात्मक बनेकाले कृषकलाई सिक्न निकै सहज भएको बताइन्। वरिष्ठ बागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले पडाडी भेगमा किवी खेती बाक्लिएकाले पनि यस्ता तालिम अझ आवश्यक रहेको बताए। किवी विज्ञसमेत रहेका श्रेष्ठले स्थलगत तालिम प्रभावकारी भएको बताए।

तालिम समापनमा कृषकले किवी खेतीसम्बन्धी तालिम फलदायी भएको बताए। २०६८ देखि किवी खेती गर्दै आएकी पाँचथरकी जुनुकुमारी लावतीले ढिलै भए पनि तालिम लिन पाएकामा खुसी व्यक्त गर्दै जिल्ला ज्ञान केन्द्र र आयोजकलाई धन्यवाद दिइन्। तेह्रथुमका कृषक बद्रीबहादुर खड्काले कृषि पेसा जहिले पनि हेलामा परेकामा दुखेसो गर्दै कृषकबारे गीत गाइनुपर्ने, कविता रच्नुपर्ने र फिल्म निर्माण हुनुपर्नेमा जोड दिए। कृषकलाई सम्मान दिएरमात्र कृषिको विकास सम्भव नभएको खड्को भनाइ छ। कृषकलाई तालिमको अवधिमा नमूना किवी खेतीको अवलोकन भ्रमणसमेत गराइएको थियो। तालिमका सहभागीलाई किवी खेतीको हावापानी र माटो व्यवस्थापन, महŒव र उपयोग, रेखांकन, खाडल खन्ने र बिरुवा रोप्ने तरिका, काँटछाँट, सपोर्ट व्यवस्थापन, रोग तथा मलखाद व्यवस्थापनका साथै बिरुवा उत्पादन प्रविधि, कम्पोस्ट मल सुधार र बजारीकरणबारे ज्ञान र सीप प्रदान गरिएको बागवानी केन्द्रले जनाएको छ।
 

प्रकाशित: १९ फाल्गुन २०७५ ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App