८ वैशाख २०८१ शनिबार
अर्थ

दुई वर्षभित्र दोर्दी खोलाबाट थप एक सय १८ मेगावाट बिजुली

काठमाडौं - लमजुङको दोर्दी खोलामा निर्माणाधीन चारवटा जलविद्युत् आयोजनाले दुई वर्षभित्र एक सय १८ मेगावाट बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएका छन्। उक्त खोलामा पिपुल्स हाइड्रोले ५४ मेगावाटको सुपर दोर्दी, लिबर्टी इनर्जीले २५ मेगावाटको अपर दोर्दी ए, दोर्दीखोला जलविद्युत् कम्पनीले १२ मेगावाटको दोर्दी १ र हिमालयन पावर पार्टनरले २७ मेगावाटको दोर्दी खोला निर्माण गरिरहेका छन्। कुल १८ अर्ब ९७ करोडको लागतमा निर्माण भइरहेका उक्त चार आयोजनाको काम द्रुत गतिमा भइरहेको छ।

ती चारवटै आयोजनाले दुई वर्षभित्र बिजुली निकाल्ने लक्ष्यसाथ धमाधम काम गरिरहेका छन्। चारमध्ये दुई आयोजनाको काम ८० प्रतिशत सकिएको छ। अन्य दुईको पनि ३१ प्रतिशत र ४० प्रतिशत सम्पन्न भइसकेको दाबी प्रवद्र्धकको छ।
सबैभन्दा ठूलो आयोजना सुपर दोर्दी (५४ मेगावाट) को काम ३१ प्रतिशतभन्दा बढी सकिएको आयोजना प्रवद्र्धक पिपुल्स हाइड्रोका निर्देशक अर्जुन गौतमले बताए। ०७७ असारमा बिजुली उत्पादन गर्ने गरी आयोजनाले युद्धस्तरमा काम गरिरहेको उनले जानकारी गराए।

यसको लागत आठ अर्ब ८० करोड रुपैयाँ हुने अनुमान गरिएको छ। सुरुङमार्गको काम ५० प्रतिशत सकिएको, विद्युत्गृह निर्माणको काम धमाधम सुरु भएको उनले जानकारी दिए। आयोजना पूर्ण भूमिगत रहेको गौतमले जानकारी दिए।

दोर्दी खोलामै लिबर्टी इनर्जीले २५ मेगावाटको अपर दोर्दी ए निर्माण गरिरहेको छ। उक्त आयोजनाको ८० प्रतिशत काम सकिएको निर्देशक राजेन्द्र वस्तीले बताए। उनले आगामी भदौसम्म बिजुली उत्पादन गरेर प्रसारण लाइनमा जोड्ने योजना बनाएको जानकारी दिए। तीन अर्ब ९४ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त आयोजना भूकम्प, नाकाबन्दी लगायतले केही ढिला हुँदा १० प्रतिशत लागत बढ्ने अनुमान गरिएको वस्तीले जानकारी दिए। यति हुँदा पनि प्रतिमेगावाट १६ करोड रुपैयाँ हाराहारी लागतमा आयोजना निर्माण सम्पन्न हुने वस्तीले दाबी गरे। उक्त आयोजनाको विद्युत्गृह निर्माण अन्तिम चरणमा रहेको छ।

यसैगरी, दोर्दी खोलामै दोर्दीखोला जलविद्युत् कम्पनीले १२ मेगावाटको दोर्दी १ निर्माण गरिरहेको छ। उक्त आयोजना पनि आगामी मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाका इन्जिनियर सुवासचन्द्र शाहले बताए। हालसम्म ४० प्रतिशत काम सकिएको जानकारी उनले दिए। दुई हजार पाँच सय मिटर सुरुङमध्ये एक हजार ५० मिटर खनिसकिएको शाहले बताए। उक्त आयोजनाको बाँधको काम भइरहेको छ। दुई अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको शाहको भनाइ छ।

यही खोलामा हिमालयन पावर पार्टनरले २७ मेगावाटको दोर्दी खोला निर्माण गरिरहेको छ। उक्त आयोजनाको निर्माण ८० प्रतिशत सकिएको छ। आगामी भदौभित्र उत्पादन सुरु गरिसक्ने योजना रहेको आयोजनाका निर्देशक गुरुप्रसाद ढकालले बताए। उक्त आयोजनाको लागत चार अर्ब २३ करोड रुपैयाँ अनुमान गरिएको छ। गैरआवासीय नेपाली र आइएमई ग्रुपको लगानीमा निर्माण भइरहेको दोर्दी खोलाको पेनस्टक पाइप, बाँध विद्युत्गृहको काम धमाधम भइरहेको छ।

चार जलविद्युत् आयोजना निर्माण हुनुअगावै प्रसारण लाइन निर्माण नहुने हो कि भन्ने चिन्ता प्रवद्र्धकलाई छ। नेपाल विद्युत् प्राधिकरणले दोर्दी करिडोरको कीर्तिपुर बसस्टेसन र कीर्तिपुर–उदिपुर १३२ केभी प्रसारण लाइन निर्माण अघि बढाएको छ। तर, उदिपुर–मार्किचोक २२० केभी प्रसारण लाइनको अन्योल कायमै रहेको प्रवद्र्धक कम्पनीमध्येको एक पिपुल्स हाइड्रोका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले जानकारी दिए। ‘आयोजनाको विद्युत् उत्पादन हुनुअगावै प्रसारण लाइन निर्माण नभए आयोजनाको बिजुली खेर जानेछ,’ उनले भने, ‘प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण गर्ने आशमा छौं।’

जलविद्युत् आयोजना निर्माणले गति लिएसँगै आयोजनास्थलका बासिन्दामा पनि खुसियाली छाएको छ। बाटो–घाटो, स्कुल, स्वास्थ्य चौकी धमाधम निर्माण भइरहेका छन्। आयोजनाले प्रभावित क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेका छन्। जलविद्युत् आयोजना निर्माणसँगै गाउँको विकासमा आयोजनाले जोड दिएपछि स्थानीय पनि खुसी छन्। स्थानीय वासिन्दा बाइबर घलेका अनुसार आयोजना निर्माणको सुरुवातीसँगै गाउँमा विकासको लहर आएको छ। ‘विकट गाउँ भए पनि आयोजनाले गाउँसम्म मोटरबाटो ल्याइदिएको छ,’ उनले भने, ‘गाउँबाट मोटरमा चढेर सिधै सदरमुकाम लगायत अन्य सहरमा जान आउन सजिलो भएको छ।’

प्रकाशित: १९ फाल्गुन २०७५ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App