coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सहारालाई हराउँदै झापा–११ को विजयी सुरुवात

झापा–११ (सेतो) विरुद्ध सहारा क्लब पाेखरा । तस्बिर :  नागरिक

दमक – मगमग झापा गोल्डकपको चौथो संस्करणको उद्घाटन खेलमा सहारा क्लब पोखरालाई २–० ले हराउँदै आयोजक झापा–११ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

झापाले अब क्वार्टरफाइनलमा हङकङ नेप्लिज एकेडेमी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। डोमालाल राजवंशी रंगशालामा शनिबार भएको खेलको ३५औं मिनेटमा कप्तान कर्ण लिम्बुलाई विस्थापित गर्दै मैदानमा प्रवेश गरेका सन्जोग राई झापाको जितमा नायक बने। राईले एक गोल गर्दा अर्को गोलका लागि पास उपलब्ध गराए। 

४०औं मिनेटमा विदेशी खेलाडी काजिम बुखारीले गोल गर्दै झापालाई अग्रता दिलाए। सन्जोग राईले उपलब्ध गराएको बललाई पेनाल्टी बक्समा अनमार्क रहेका बुखारीले जाली चुमाएका थिए। त्यसको पाँच मिनेटपछि नै राई आफैंले गोल गर्दै झापा–११ लाई २–० ले अगाडि बढाए। उनले योगेश गुरुङको पासलाई पोस्टको बायाँ बार च्याप्दै गोल गरेका थिए। 

त्यससँगै झापा पहिलो हाफमा २–० ले अगाडि रह्यो। दोस्रो हाफमा दुवैतर्पmबाट थप गोल हुन नसक्दा झापालाई जितका लागि पहिलो हाफको नतिजा नै पर्याप्त रह्यो। यद्यपि, दोस्रो हाफमा दुवैतर्फबाट गोलका लागि प्रयास भए। ६१औं मिनेटमा काजिम बुखारीले वान भर्सेस वानका अवसरलाई पनि सदुपयोग गर्न सकेनन्। तर, उनको प्रहार भने फ्रेमभित्र पर्न सकेन। ६३आैं मिनेटमा सञ्जोग राईको कडा प्रहार विपक्षी गोलकिपरले रोकिदिए। 

खेल अवधिभर झापालाई दबाबमा राख्न सफल भए पनि पोखराले लोभलाग्दो आक्रमण भने गर्न सकेन। तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएका दुवै टोलीका १–१ जना खेलाडीले पहेंलो कार्डको सामना गरे। खेलको म्यान अफ दी म्याच मगमग झापा–११ का सञ्जोग राई घोषित भए। उनले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

जितपछि झापाका प्रशिक्षक प्रवेश कटवालले पोखराको सेट टिमलाई हराउनु चुनौतीपूर्ण भए पनि सफलता मिलेको बताए। उनले उपाधि उचाल्नका लागि विदेशी खेलाडीसमेत ल्याएकाले दर्शकलाई निराश नपार्ने बताए। यसअघि भएका तीनवटा गोल्डकपमा झापा फाइनलमा पराजित हुँदै आएको थियो। पोखराका प्रशिक्षक कविन व्यञ्जनकारले टोलीकोे आक्रमण फितलो हुँदा पाएको अवसर सदुपयोग गर्न नसकेको बताए। 

उनले भने ,‘मोफसलको सफल टोलीलाई उसकै मैदानमा चुनौती दिनु मुस्किल पर्याे।’ दर्शकमध्येका शिबसतासीका भक्तिप्रसाद भण्डारीलाई लक्की ड्रबाट २० इन्चको हिमस्टार टिभी जित्न सफल भए। बिर्तामोडको हिम इलेक्ट्रोनिक्सले सबै खेलमा लक्की ड्रमार्पmत एक जना भाग्याशाली दर्शकलाई एलइडी टिभी प्रदान गर्ने जनाएको छ। आइतबार सशस्त्र प्रहरीको एपिएफ क्लब र मोरङ–११ बीच खेल हुने आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए। 

त्यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नम्बर–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नेपाली फुटबलको विकासमा झापाको अतुलनीय योगदान रहेको बताए। कार्कीले झापाको फुटबलमा सहयोग गर्न प्रदेशले कुनै कसर बाँकी नराख्नेसमेत विश्वास व्यक्त गरे। फागुन २७ गते सम्पन्न हुने गोल्डकपमा तीन विभागीयसहित काठमाडौंका ५, मोफसलका ४ र एक विदेशी टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। 

 

प्रकाशित: १९ फाल्गुन २०७५ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App