coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

भिआइपीको सुरक्षा सवाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि अतिविशिष्ट तथा विशिष्ट व्यक्ति (भिभिआइपी र भिआइपी) को सुरक्षा सावधानीबारे थुप्रै सवाल÷प्रश्न उठेका छन्। एक हिसाबले भन्ने हो भने अतिविशिष्ट एवं विशिष्ट व्यक्तिको आवागमनमा के–कस्ता सावधानी अपनाउनुपर्ने भन्ने पनि बहसको विषय भएको छ। जस्तो कि सिंगल इन्जिनमा भिआइपी उडाउने कि नउडाउनेदेखि के–कस्तो अवस्थामा मात्रै निजी साधन प्रयोग गर्न पाउने भन्ने विषय त उठेकै छन्, सुरक्षा विश्लेषणदेखि अंगरक्षकको भूमिका कस्तो हुने भन्ने विषय पनि बहसमा आएको देखिन्छ। यी विषय किन पनि उठेका छन् भने विदेशमा होस् या नेपालकै सन्दर्भमा होस्, विगतमा सुरक्षा निकायको विश्लेषणका आधारमा भिआइपीका कैयौं भ्रमण रद्द भएका दृष्टान्त छन्। गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गर्ने भनिएको बेलायतको राजकीय भ्रमण स्थगित भएको घटना होस् वा विगतमा नेपालमै समेत तत्कालीन राजा वीरेन्द्रदेखि ज्ञानेन्द्रसम्मका कतिपय भ्रमणहरू स्थगित गरिएका घटना नै किन नहुन्, सुरक्षा निकायको सल्लाहअनुसार ती भ्रमणहरू रद्द गरिएका तथ्यहरू बाहिर आएका छन्। अन्य यस्ता थुप्रै दृष्टान्तलाई आधार मान्ने हो भने भिआइपी व्यक्तिको म्रमणका क्रममा सुरक्षाका विभिन्न आयामहरूलाई विश्लेषण गर्दै त्यसैअनुरूप कार्यान्वयन गर्नु जरुरी छ।

अंगरक्षकले सम्भावित सुरक्षा चुनौतीलाई विश्लेषण गरेर त्यसैअनुसार सुझाव दिने र त्यसको कार्यान्वयन गर्ने अभ्यास हामीकहाँ छैन। यसले गर्दा पनि कहाँ जाने÷नजाने भन्ने विषय अधिकांश भिआइपीको एकल निर्णयमा नै निर्भर हुने गर्छ, जुन अवस्थामा अंगरक्षक वा अन्य पक्षले त्यसलाई स्वीकार गर्नेबाहेक अन्य विकल्प छैन। यस्तो अवस्थामा सुरक्षा निकायदेखि अंगरक्षकसम्मको ब्रिफिङ वा सुझावलाई आधार मान्दै त्यसैअनुसार मात्र भिआइपीहरूको यात्रा तय गर्ने मापदण्ड बनाउनु जरुरी छ।

मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा पनि सुरक्षा सावधानीमा त्रुटि देखिन्छ। विकट र हिमाली जिल्लाको यात्रा भए पनि प्रतिकूल मौसममा त्यसैअनुरूप सुरक्षा सावधानी नअपनाएको देखिन्छ। जबकि, मन्त्री अधिकारी सरकारी कामकाजका लागि गए पनि हेलिकोप्टर भने निजी प्रयोग गरिएको थियो। यसमा मन्त्रालयले सेनासँग समन्वय गरेको भए सेनाकै हेलिकोप्टर उपलब्ध हुन सक्थ्यो। कम्तीमा मौसमको प्रतिकूलतादेखि अन्य सुरक्षा चुनौतीलाई विश्लेषण गरेर मात्रै सेनाको हेलिकोप्टरको उडान हुने भएकाले पनि यो तुलनात्मक रूपमा सुरक्षित हुने गर्छ। अधिकारीको हकमा मन्त्रालयले सेनाको हेलिकोप्टर माग गरेको देखिँदैन। बरु अधिकारीका साथमा निजी जहाज तथा हेलिकोप्टर उद्यमी आङछिरिङ शेर्पासमेत अनुगमनका क्रममा गएका थिए, जसले यात्राका सवालमा प्रश्न उठाइदिएको हो। त्यति मात्र होइन, गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समितिबाट पारित निर्देशिकाअनुसार सामान्यतया विशिष्ट तथा अति विशिष्ट व्यक्तिले हवाई यात्रा गर्दा सिंगल इन्जिनको जहाज वा हेलिकोप्टर प्रयोग गर्न पाइँदैन। तर मन्त्री अधिकारीसहितको सात सदस्यीय टोलीको उडानका क्रममा यस किसिमका प्रावधानहरूलाई ख्याल गरेको देखिँदैन।

भिआइपी सुरक्षासम्बन्धी नीति निर्देशिकाको पालना नहुँदा पनि अप्रिय र अकल्पनीय घटना हुन गएको कुरालाई नकार्न सकिँदैन। त्यसो त मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा सुरक्षा सावधानीमा गरिएको गम्भीर लापरबाही र त्रुटि पनि कारण रहेको भनी सुरक्षा क्षेत्रका विज्ञहरूले टिप्पणी गर्न थालिसकेका छन्। कार्यक्रमस्थलको परिस्थितिअनुसार त्यसमा जान हुने÷नहुने भन्ने विषयमा जसरी अन्य मुलुकहरूमा अंगरक्षकको भूमिका महत्वपूर्ण रहने गर्छ, त्यसअनुसार नेपालमा त्यो पाटोलाई कमै मात्र ध्यान दिने गरिन्छ। अर्थात्, यहाँ अगंरक्षकको भूमिका तत्कालको सुरक्षा चुनौती सामना गर्नेमा मात्रै सीमित गरिएको छ। अंगरक्षकले सम्भावित सुरक्षा चुनौतीलाई विश्लेषण गरेर त्यसैअनुसार सुझाव दिने र त्यसको कार्यान्वयन गर्ने अभ्यास हामीकहाँ छैन। यसले गर्दा पनि कहाँ जाने÷नजाने भन्ने विषय अधिकांश भिआइपीको एकल निर्णयमा नै निर्भर हुने गर्छ, जुन अवस्थामा अंगरक्षक वा अन्य पक्षले त्यसलाई स्वीकार गर्नेबाहेक अन्य विकल्प छैन। यस्तो अवस्थामा सुरक्षा निकायदेखि अंगरक्षकसम्मको ब्रिफिङ वा सुझावलाई आधार मान्दै त्यसैअनुसार मात्र भिआइपीहरूको यात्रा तय गर्ने मापदण्ड बनाउन जरुरी छ। र, यस किसिमको मापदण्डलाई कार्यान्वयन गर्न सके यस किसिमका अकल्पनीय दुर्घटनाहरूलाई केही हदसम्म टार्न सकिन्थ्यो। भिआइपीका अंगरक्षकहरूलाई सम्भावित थ्रेटको विश्लेषण गर्न लगाउने र त्यसैअनुसार मात्रै परिचालित हुने वातावरण बनाउनु आवश्यक छ।

प्रकाशित: १९ फाल्गुन २०७५ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App