७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरीलाई छल्दा जिप दुर्घटना

महाकाली नदी किनारमा खसेको जिप। तस्बिर : प्रेम/नागरिक

पुष्पराज जोशी/ कैलाली
प्रेम चुनारा/दार्चुला

फागुन - दार्चुलाको सदरमुकाम खलंगादेखि सात किलोमिटर उत्तरतर्फ तिंकर जोड्ने सडकमा पर्ने राताकाठा भीरमा प्रहरीको अनुमतिबिना गाडी गुडाउन पाइँदैन। सदरमुकामदेखि दुहुँ गाउँपालिकातर्फ जाने यात्रुले दुईपटक गाडी फेर्नुपर्छ। सदरमुकाम खलंगादेखि सात किलोमिटरको दूरी तय गर्न एउटा जिप प्रयोग गर्नुपर्छ भने राताकाठा भीरमा हिँडेर भीर छिचोलेपछि पारिपट्टि फेरि अर्को जिप चढेर मात्रै गन्तव्य पुग्न सकिन्छ। दार्चुला–तिंकर सडकखण्डको राताकाठा भीरमा एकतर्फी मात्रै एकपटक सानो गाडी गुड्न मिल्छ। तर अर्कोतर्फबाट गाडी आए फर्किनुपर्ने हुन्छ।
भीरमा करिब आधा किलोमिटर लामो सडकको ट्र्याक खोलिएको छ। अग्लो भीरका कारण ‘डबल कटिङ’ नहुँदा गाडी एकतर्फी मात्रै चलाउन मिल्छ। वर्षौंदेखि सो भीरमा प्रहरीको अनुमति लिएर मात्र गाडी चलाइँदै आएको हुन्छ। भीरको वारिपट्टि र पारिपट्टि प्रहरी तैनाथ हुन्छन्। एम्बुलेन्स र इमर्जेन्सीमा सवारीसाधनले राताकाठा भीर पार गर्नुपर्दा प्रहरीको अुनमति लिनैपर्ने अवस्था छ। दिनभर भीरमा प्रहरी तैनाथ हुन्छ। रात प्रहरी नभएको मौका छोप्दै भीर पार गर्ने क्रममा शुक्रबार जिप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ।

शुक्रबार राति म१ज २८० नम्बरको जिप अनुमतिबिना साँघुरो सडकमा प्रहरीको आँखा छलेर गुड्दै गर्दा शुक्रबार राति ८ बजेतिर दुर्घटनामा परेको हो। प्रहरीका अनुसार दुहुँ गाउँपालिका–३ राताकाठा भीरमा गुड्दै गरेको जिप करिब तीन सय मिटर तल महाकाली नदीमा खसेको हो। राताकाठा भीरमा उकालो चढ्दै गर्दा जिप ‘ब्याक’ गर्ने क्रममा भीरबाट खसेको हुन सक्ने अनुमान प्रहरीको छ। ‘जिप खसेको ठाउँ धेरै उचाइमा रहेको र गाडी नचढी ब्याक आएर तल खसेको हुन सक्छ,’ प्रहरी निरीक्षक रवीन्द्र कठायतले भने, ‘चालकले ब्रेक लगाएर नलागेको र स्लिप भई गाडी सिधै भीरमा खसेको अनुमान गर्न सकिन्छ।’ राताकाठा भीर तिंकर सडकको सबैभन्दा जोखिमयुक्त ठाउँ भएकाले उक्त क्षेत्रमा सवारीसाधन निषेध गरिएको उनले बताए।

दिउँसोको समयमा उक्त स्थानमा प्रहरीको ड्युटी हुने र राति परेपछि प्रहरी चौकी गएको मौका छोप्दै जिप पार गर्न खोजेपछि दुर्घटना भएको प्रहरीको भनाइ छ। २०७४ वैशाखमा जिल्ला यातायात समितिको बैठकले दार्चुला–तिंकर सडकको राताकाठा भीरमा यातायात सञ्चालनका लागि अनुमति दिएको थिएन। दुहँु गाउँपालिका–५ गरमोरासम्म यातायात सञ्चालन गर्न र श्रीबगडदेखि तिमुरबाटासम्मको सडक साँघुरो र भीरक्षेत्र भएकाले कुनै पनि समयमा दुर्घटना हुन सक्ने भन्दै उक्त बैठकले तिंकर सडकको राताकाठा भीरमा यातायात सञ्चालन निषेध गरेको थियो। रातको समयमा प्रहरीको आँखा छल्दै जोखिम मोलेर सवारीसाधन भने गुड्ने गरेका थिए।

शुक्रबार राति राताकाठा भीरमा दुर्घटना मृत्यु भएका सबैको सनाखत भइसकेको छ। जिल्ला प्रहरी कार्यालयका दार्चुलाका अनुसार मृत्यु हुनेमा दुहँु गाउँपालिका–२ हिकिलाका ४१ वर्षीय कल्यानसिंह बडाल, १५ वर्षीया निर्मला बडाल र ३८ वर्षीया परुलीदेवी धामी, सोही गाउँपालिका–४ दौलाका ५५ वर्षीया अम्मरा बम र सात वर्षीया आयुषा बम, सोही गाउँपालिका–१ पीपलचौरीका २४ वर्षीय धनबहादुर बम, ४५ वर्षीया गोमतीदेवी बम, ७१ वर्षीया धनादेवी बम र ३५ वर्षकी मानमती भट्ट, बैतडी दोगडा केदार गाउँपालिका–२ सित्तडका ६० वर्षीय प्रतापबहादुर चन्द र २२ वर्षीया स्नेहा बम रहेका छन्। दुर्घटनामा गम्भीर घाइते जिप चालक दीपक धामीलाई थप उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ। शव शुक्रबार राति १२ बजे सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनालगायत स्थानीयले घाइतेको उद्धार गरी जिल्ला अस्पताल प-याएका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको दार्चुला निमित्त प्रहरी प्रमुख रवीन्द्र कठायतले जानकारी दिए।

प्रकाशित: १९ फाल्गुन २०७५ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App