coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘मन ताप्लेजुङमै छ भन्थे, अब तन नै रहेन’

ताप्लेजुङ -२०७३ सालको मंसिर ८ गते नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघामा मानवले पाइला टेकेको ६० वर्ष पुगेको अवसरमा संसद्को विकास समितिले ताप्लेजुङको फुङ्लिङमा हीरक महोत्सवको आयोजना गरेको थियो।

कार्यक्रमको दोस्रो दिनका मुख्य वक्ता थिए, तत्कालीन विकास समिति सभापति रवीन्द्र अधिकारी। अहिले प्रतिनिधिसभाका सदस्य रहेका योगेशकुमार भट्टराईले ताप्लेजुङमा विकासका सम्भावना र चाल्नुपर्ने पाइलाबारे कार्यपत्र प्रस्तुत गरे। मुख्य वक्ताका रूपमा अधिकारी भनेका थिए, ‘मेरो मन ताप्लेजुङमै छ। ताप्लेजुङको विकासका लागि मेरो तर्फबाट महत्वपूर्ण योगदान रहनेछ।’

आफ्ना सांगठनिक नेता भट्टराईद्वारा प्रस्तुत विकासका सम्भावनालाई ध्यानपूर्वक सुनेपछि त्यसलाई पूरा गर्न अधिकारीले आफ्नो महत्वपूर्ण योगदान रहने प्रतिबद्धता जाहेर गरेर ताप्लेजुङका बासिन्दाको मनमा पस्ने प्रयास गरेका थिए। ताप्लेजुङको सुकेटारबाट ओलाङ्चुङगोला हुँदै टिपताला भन्ज्याङसम्मको निर्माणाधीन लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने अधिकारीको इच्छा थियो। विकास समितिको सभापतिका नाताले सो लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा प्राथमिकता दिन उनले उतिबेला सरकारलाई निर्देशन पनि दिएका थिए। ‘तर अब न रवीन्द्रको मन रह्यो, न तन नै,’ मन्त्री अधिकारीका समकालीन सहपाठी रवीन्द्रमणि काफ्लेले भावुक हुँदै भने।

काफ्लेका भाइ मनमणि पत्रकार महासंघ ताप्लेजुङका संस्थापक सभापति हुन्। दाजुका सहपाठीका हिसाबले अधिकारीले मनमणिलाई भाइका नाताले सम्बोधन गर्दा रहेछन्। मन्त्री अधिकारीको गृहनगर पोखरामा भर्खरै पत्रकार महासंघको केन्द्रीय साधारणसभा मनमणि पनि सहभागी थिए। सोही कार्यक्रममा पोखरा पुगेका मनमणिले कार्यक्रमका अथिति बनेर आएका मन्त्री अधिकारीले त्यहाँ पनि आफ्नो मन ताप्लेजुङमा भएको अभिव्यक्ति दिएका थिए। ‘ताप्लेजुङप्रति उहाँको अगाध स्नेह थियो तर त्यहीँ ताप्लेजुङको भूगोलमा उहाँको इहलीला समाप्त भयो। दुःखद दिन, दुःखद क्षण,’ हेलिकोप्टर दुर्घटनामा परी गएको बुधबार अधिकारीसहित सातजनाको ज्यान गएपछि मनमणिले ट्विट गरेका थिए।

हीरक महोत्सव मूल समितिको साझेदार आयोजक बनेर आएका ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका अध्यक्ष चित्रगुप्त साँवाका भनाइमा पोखराका अधिकारीको मन आफ्नो गृहक्षेत्रपछि सायद ताप्लेजुङमै थियो। ‘सांगठनिक रूपमा आफूभन्दा अग्रज नेताको जिल्ला भएकाले पनि हुन सक्छ, रवीन्द्रले ताप्लेजुङलाई औधि माया गर्थे,’ ताप्लेजुङका सांसद भट्टराईप्रति इंगित गर्दै साँवाले भने। अनेरास्ववियुको सांगठनिक नेतृत्वकर्ताका रूपमा योगेश अध्यक्ष भएका बेला रवीन्द्र महासचिव थिए। साँवा भने तत्कालिन खोक्लिङ गाविसका अध्यक्ष थिए।

अधिकारीको दिवंगत मनलाई शान्त बनाउन पनि उनले सोचेको सपनास्वरूप सुकेटार, ओलाङ्चुङगोला हुँदै टिपताला भन्ज्याङसम्मको निर्माणाधीन लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना बनाउनुपर्नेमा साँवाले जोड दिए। उनको भनाइमा उतिबेला अधिकारीले नेपालसँग सिमाना जोडिएका दार्चुला, हुुम्ला, बझाङबाहेकका सबै जिल्लाले चीनको सिगात्छे राज्यको सिमाना छोएको बताउँदै त्यसको मुख्य केन्द्र भागबाट नेपालको टिपताला–ओलाङचुङगोला सबैभन्दा कम दूरीको नाका हुने बताएका थिए। ‘ताप्लेजुङलाई गुन लाउने अधिकारीको धोको यहाँको भूगोलले बिफल पारिदियो,’ पर्यटनमन्त्री अधिकारीसहित सातजनाको निधनले पु¥याएको क्षति स्मरण गर्दै साँवाले भने।

प्रकाशित: १९ फाल्गुन २०७५ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App