अ म्यान अन स्ट्रिट

‘अब त ट्याक्सीसँगको नाता धुमिलिइसक्यो’

शनिबार, १८ फागुन २०७५, १७ : ५५ किरण दहाल

राति ११ बजे । ट्याक्सी चालक कुमार विश्वकर्मा दुई तन्नेरी लिएर बालाजु जाँदै थिए, रत्नपार्कबाट। ट्याक्सीको म्युजिक सिस्टम बन्द थियो। केटाहरू बाचाल थिए। उनीहरूसँगै गफमा गाँसिए कुमार पनि। यात्रुहरूले आफू पनि ड्राइभर भएको बताएपछि मन मिलेको ठानें उनले।

रात्रिकालीन काठमाडौंका सडक साह्रै शान्त हुन्छन्। मिनेट मिनेटमा जाममा पर्नुपर्ने टेन्सन भएन। शान्त सडकको फाइदा उठाउँदै कुमारको ट्याक्सी केहीबेरमै गन्तव्यमा पुग्यो। तर, यात्रु ओर्लिएनन्। अझै अलि माथिसम्म पुर्‍याइदिन आग्रह गरे। मन नमिलेको भए सायद कुमारले अस्वीकार गर्थे। केटाहरूसँग रस परिसकेकाले सहर्ष स्वीकारे। त्यसपछि आफ्नो ह्यान्डलमा उनीहरूको निर्देशन चल्न थाल्यो।

अहिले त्यतिबेलाको जस्तो कमाइ देख्दैनन् उनी। ट्याक्सी हाँकेर कमाएको पैसा घरखर्चमै ठिक्क हुन्छ। काठमाडौंको सडकमा ट्याक्सी हाँक्न थालेको १२ वर्ष पुगिसक्दा पनि कुनै बैंकमा उनको ‘दुई/चार पैसा जगेडा छैन। ‘बिरामी परियो भने के गर्ने होला?’ चिन्ताले बारम्बार पिरोल्छ उनलाई।

बालाजु चोकबाट छिरेको ट्याक्सी गल्ली गल्ली हुँदै निकै माथि पुग्दा पनि कहाँ पुगियो भन्ने कुमारले मेसो पाएनन्। वरिपरि कतै घर नदेखिने एकान्तमा पुगेपछि उनी झल्याँस्स भए। त्यही बेला केटाहरूले ट्याक्सी रोक्न भने। उनीसँग विकल्प थिएन। ट्याक्सी रोकियो, केटाहरू उत्रिए। उत्रिएपछि भाडा देलान् भन्ने सोचेका थिए कुमारले, केटाहरूको रंगढंग फेरिएपछि उनको मनमा चिसो पस्यो।

‘भाडा दिनुको सट्टा उनीहरू त ‘अब सुरु गरौं, अब सुरु गरौं’ पो भन्छन्,’ कुमार सम्झिन्छन्, ‘खाली ठाउँ थियो, मैले सुइँक्क ट्याक्सी मोडेर बेस्सरी हुइँक्याएँ। तिन’रू ‘पख, पख’भन्दै थिए। के को पर्खनु? बाल बाल बाँचियो।’ कुमारको स्मृतिमा यस्ता दिक्क लगाउने खैरा सम्झना अनगिन्ती छन्। सबैलाई समेटे एउटा किताब बन्छ। तर लेखिहाल्ने मुडमा छैनन् उनी। ‘पढाइगुनाइ शुन्ना छ। नभए मेरो नामको सानोतिनो पुस्तक बजारमा आइसक्थ्यो होला’, अनुमान गर्न भने छोड्दैनन् उनी। किताब लेख्ने गरी पढाइ पनि पुग्थ्यो सायद। तर, पाँच कक्षा पास गरेर स्कुल छोडिसकेका थिए उनले। त्यति नै बेला उनको मनमा परिसकेको थियो– अब पैसा कमाउनुपर्छ। पढेर भन्दा पैसा कमाएर ठूलो मान्छे बनिन्छ भनेर उनले गाउँतिरै सुनेका थिए। त्यसमाथि घरको आर्थिक अवस्था पनि गतिलो थिएन। उनले निर्णय गरे, जसरी हुन्छ पैसा कमाउने। आफ्नो दिव्य कामना पूरा गर्न उनले दोलखादेखि काठमाडौंसम्मको यात्रा गरे। १८ वर्ष पहिला पहिलोपटक काठमाडौं आउँदा कुमारलाई लागेको थियो– काठमाडौं पुगेपछि जति पनि जागिर पाइन्छ। त्यस्तो कहाँ हुन्थ्यो र? जागिर पाउनै हत्ते भयो।

गाउँकै एक जना दाइले सहचालकको रूपमा एउटा गाडीमा जागिर लगाइदिएपछि उनको पैसा कमाउने यात्रा सुरु भयो। ‘सोचेजस्तो जागिर पाइएन। ट्रकमा खलासी गरें’, काठमाडौंको पहिलो रोजगारी अनुभव सम्झन्छन् उनी। सहचालक जिन्दगीले उनको सम्बन्ध विस्तार गरिदियो। उनले गाडीका पाटपूर्जादेखि स्टाफसम्म चिने। त्यो चिनजानले प्रमोसन गराइदियो।

२०६२ सालको नेपाल। परिवर्तनको संघारमा थियो। जनआन्दोलन सुरु भइसकेको थिएन तर सरगर्मी चल्दो थियो। देशभन्दा पहिला उनको जीवनमा परिवर्तन आयो। एकजना गाउँले दाइले ट्याक्सी चालकको अफर गरे। यो बीचमा उनको हातमा ‘लाइट भेइकलको लाइसेन्स पनि परिसकेको थियो। उनी ट्याक्सी ड्राइभर बने। ‘ट्रकको खलासी बस्दा थोप्पो पैसा कमाइ नहुने। ट्रक धुनुपर्ने, टायर खोल्नुपर्ने। खानचाहिँ मीठोमीठो पाइन्थ्यो है,’ उनले भने, ‘ट्याक्सी चलाएपछि धेरथोर पैसा कमाइने आस थियो।’
उनको आशा वास्तविकतामा फेरियो। ट्याक्सी हाँक्न थाले। दैनिक तीन हजारजति कमाइ हुन थाल्यो। ट्याक्सी चलाउँदा पैसा आउने लाग्यो उनलाई। दैनिक सात सय रुपैयाँ साहुलाई बुझाउँथे। ट्याक्सीले हजार रुपैयाँ जतिको तेल खान्थ्यो।

अहिले त्यतिबेलाको जस्तो कमाइ देख्दैनन् उनी। ट्याक्सी हाँकेर कमाएको पैसा घरखर्चमै ठिक्क हुन्छ। काठमाडौंको सडकमा ट्याक्सी हाँक्न थालेको १२ वर्ष पुगिसक्दा पनि कुनै बैंकमा उनको ‘दुई/चार पैसा जगेडा छैन। ‘बिरामी परियो भने के गर्ने होला?’ चिन्ताले बारम्बार पिरोल्छ उनलाई। अहिले पनि उनको आम्दानी ०६३ सालकै जति छ। वर्ष बढ्यो, आम्दानी बढेन। दैनिक तीन हजार वरपर कमाउँछन्। त्यसबाट एक हजार रुपैयाँ साहुलाई दिनुपर्छ। हजार/बाह्र सयको तेल खान्छ। बचेको पैसा उनको गोजीमा। ‘गोजीमा पनि कहाँ बसिरहन्छ र! बजार निस्कियो भने त्यो पैसाले भ्याउँदैन,’ उनी बजार मूल्यप्रति असन्तुष्ट छन्।असन्तुष्टि जन्माउने अनेक कारण छन्। त्यसमध्ये एक हो, ट्राफिकको ‘हाउमच’अभियान। त्यसले नपिरोलेको ट्याक्सी चालक कमै होलान् काठमाडौंमा। केही दिनअघि उनी पनि हाउमचको फन्दामा परे।

कहानी यस्तो छ– कोटेश्वरमा यात्रु कुरेर बसिरहेका थिए। एक महिला ब्याग बोकेर हतारिँदै आइन्। बौद्धसम्म पुर्‍याइदिनु भन्दै उनले भाडा सोधिन्। कुमारले ४ सय रुपैयाँ मागे। ‘चार सय रुपैयाँ दिनु’ भन्दै महिला ट्याक्सीमा बसिन्। ट्याक्सी हुइँकियो। एक किलोमिटर ननाघ्दै महिलाले ट्याक्सी रोक्न भनिन्। ट्याक्सी रोकियो। अगाडि तीन जना ट्राफिक थिए। त्यसपछि पो उनले बुझे, ‘हाउमचमा परियो। ट्याक्सीमा चढ्ने महिला त प्रहरी रहिछिन्।’ ट्याक्सी हाँक्न थालेको पाँच वर्षमा यस्ता अनेकन् घटना भए कुमारको जिन्दगीमा। सबैभन्दा महत्वपूर्ण त यी पाँच वर्षमा उनले रातमा मात्रै ट्याक्सी हाँकेका छन्। आम मानिसको दैनिकीभन्दा फरक जीवन बाँचिरहेका छन्। अरू दिनभरि काम गर्छन्, रातभरि सुत्छन् । उनको भने ठीक उल्टो। काठमाडौंमा राति ट्याक्सी हाँक्नु सहज भने देख्दैनन् उनी। मान्छे आउँछन्। ट्याक्सी लैजाऊँ भन्छन्। लग्यो, भाडा दिन मान्दैनन्। कसैकसैले त थर्काउँछन्। लुट्छन्।

‘जाँड खाएका मान्छे आउँछन्। ट्याक्सी लिएर गयो, गल्लीगल्ली छिराउँछन्। हामीलाई पनि त डर हुन्छ,’ उनको गुनासो छ। ट्याक्सी नलैजाऊँ, १०३ मा फोन गरिदिन्छन्। प्रहरीले चिट काटिदिन्छ। एक दिनको घटना हो, कुमारको ट्याक्सीमा एक जना महिला चढिन्। महिलाले भनेकै ठाउँमा उनले ट्याक्सी पुर्‍याए। ट्याक्सीबाट ओर्लिएर ‘पैसा ल्याइदिहाल्छु है’ भन्दै महिला छेउको घरतिर अघि बढिन्। उनले ५ मिनेट कुरे, १० मिनेट कुरे...। ती महिला आइनन्। ‘खोज्न कता जानु राति अर्काको घर बीच। पैसा आएन, भाडै नलिई फर्किनुपर्याे।’

महिलाहरूले धोका दिएको उदाहरण उनीसँग प्रशस्तै छन्। तर, महिलाभन्दा पुरुष झनै खराब हुने उनको निस्कर्ष छ। भन्छन्, ‘केटाहरूले त लुट्छन् पनि। कम्तीमा महिलाहरूले त त्यस्तो गर्दैनन्।’ केटाहरू सुरुमा एकजना चढ्छन्। अनि ठाउँठाउँमा उनीहरूका साथीहरू पनि चढ्दै जान्छन्। गल्ली गल्ली लैजानु भन्छन्। भाडा दिँदैनन्, उल्टै थर्काउँछन्। ‘तिनीहरूले भनेको ठाउँमा पुर्‍याउँ कि बाटैबाट फर्किउँ जस्तो हुन्छ,’ सम्झिँदा पनि दिक्क मान्छन् उनी।

साथीले भोगेको एउटा कहानी सम्झिन्छन्, कुमार। भन्छन्, ‘ठमेलबाट ५ जना केटाहरू ट्याक्सीमा चढेछन्। पेप्सिकोला जाने रहेछन्। पेप्सीकोला चोकमा हैन, सनसिटीबाट पनि भित्रै पुर्‍याएछन्। गल्लीगल्ली छिराएछन्। एकान्तमा पुगेपछि मोबाइल, पैसा सबै थुतेछन्। कुटेछन् पनि। भोलिपल्ट साहुलाई आफ्नै गोजीबाट पैसा दिएछ, बिचरा!’

१३ वर्षअघि ट्रकको सहचालकबाट ट्याक्सी ड्राइभर बन्दा जुन उत्साह थियो कुमारसँग अहिले छैन। आशा पनि छैन। विश्वास गर्ने आधार पनि छैन। ट्याक्सीसँग जोडिएको सपना पनि धुमिलिएको छ। अब त उनी सपना फेर्ने मुडमा छन्। भन्छन्, ‘यो देशको सरकारले हामी ट्याक्सी चालकलाई बर्बाद बनायो। म त विदेश जाने सोचिरहेछु।’

 







यसमा तपाईको मत


अन्य समाचार

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...